गोपाल पोखरेल
बुधवार, जेठ २१, २०७७
1335

मदन भण्डारी राजमार्ग

उदयपुर-मदन भण्डारी राजमार्ग अन्र्तगत उदयपुरको सदरमुकाम गाईघाटदेखि नेपालटारसम्मको २७ किलोमिटर सडक निर्माण कार्य पूरा भएको छ । गाईघाट — नेपालटार खण्डमा ( पहिलो चरणको कालोपत्रे) डेन्स बिटुमिनस् कंक्रिटको काम सकिएकै बेला कोरोना महामारी नियन्त्रणका लागि सरकारले बन्दाबन्दी घोषणा गरेपछि डेढ महिना सडक निर्माण कार्य अबरुद्ध भएको थियो । बन्दाबन्दी कायमै रहेका बेला गत बैशाख २२ गतेबाट पुनः निर्माण कार्य सुचारु गरिएको यस खण्डमा (दोस्रो चरणको कालोपत्रे) अस्फाल कंक्रिटको काम भएपछि २७ किलोमिटर सडक निर्माण सम्पन्न भएको हो ।
“बन्दाबन्दीको पालना गर्दै सुरक्षाका साथ विकास निर्माणका योजना संचालन गर्ने सरकारको नीति अनुसार बन्द भएको ४५ औं दिनपछि राजमार्गमा (दोस्रो चरणको कालोपत्रे) अस्फाल कंक्रिटको काम सुरु गरेका थियौं” निर्माण कम्पनी जेडआइइसी लामा एण्ड शर्मा जोइन्ट भेन्चरका प्रोजेक्ट म्यानेजर सीताराम दाहालले भने,“ सुरु भएको करिव २८ दिनमा नेपालटार— गाईघाट सडक खण्डमा (दोस्रो चरणको कालोपत्रे) अस्फाल कंक्रिट निर्माणको काम पूरा भएपछि २७ किलोमिटर सडक निर्माण कार्य सम्पन्न भएको छ ।” यो खण्ड सकिएसँगै अब गाईघाट—बेल्टार खण्डमा अस्फाल कंक्रिट निर्माणको काम सुरु गरिने उनले बताए ।

निर्माण कार्यमा बढी भन्दा बढी स्थानीय जनशक्ति परिचालन गरिएको छ । अन्यत्रबाट ल्याइएका र स्थानीय जनशक्तिलाई स्वास्थ्य जाँच गरेर काममा ल्याउने ब्यवस्था मिलाइएको निर्माण कम्पनीले जनाएको छ । निर्माण कम्पनीले जिम्मा लिएको राजमार्गको १ सय २६ किलोमिटर मध्ये ८६ किलोमिटरमा पहिलो चरणको कालोपत्रे गर्ने काम पूरा भइसकेको छ । पहिलो चरणको कालोपत्रे भएको सडकमा दोस्रो चरणको कालोपत्रे गर्ने र बाँकी स्थानमा पनि सवबेस र बेस निर्माण गर्ने कार्य अगाडि बढिरहेको छ ।
“अहिलेसम्म करिव ७८ प्रतिशत काम सकिसकेका छौं” म्यानेजर दाहालले भने,“ चालु आ ब को असार मसान्त भित्र ९० प्रतिशत काम सक्ने हाम्रो लक्ष्य थियो ।” तर, कोरोनाको विश्वव्यापी महामारी पछिको बन्दाबन्दीका कारण ४४ दिन काम बन्द हुँदा लक्ष्यमा पुग्न कठिन भएको उनले बताए ।
रााष्ट्रिय महत्वको योजना मानिएको मदन भण्डारी राजमार्गको धरान चतरा गाईघाट कटारी हुँदै सिन्धुलीको भिमान खण्डमा १ सय २६ किलोमिटर सडक पर्दछ । यस खण्डमा ११ मिटर चौडाइमा डेन्स बिटुमिनस् कंक्रिट ( पहिलो चरण ) र ७ मिटरमा अस्फाल्ट कंक्रिट ( दोस्रो चरण ) को कालोपत्रे गर्ने गरी जेडआईईसी शर्मा लामा जोइन्ट भेन्चरले ७ अर्व ३६ करोड ९९ लाख ८४ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको छ ।