कारोबार संवाददाता
आइतवार, जेठ ११, २०७७
467

कालिगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दाना र पर्वतको कुश्मा खण्ड आगामी असारदेखि सञ्चालन गर्ने लक्ष्यका साथ निर्माणकार्य अघि बढेको छ ।
लकडाउनका बीच पनि स्वास्थ्य सुरक्षासम्बन्धी प्रावधानको पालना गरी स्थानीय सरकार र प्रशासनसँगको समन्वय र सहयोगमा आयोजनाको निर्माण धमाधम भइरहेकाले अन्तिम चरणमा पुगेको हो । दाना र कुश्मास्थित खुर्कोटमा २२०÷१३२ केभी सबस्टेसन निर्माणका बाँकी काम पनि जारी छ । दुवै सबस्टेसनका अधिकांश उपकरण जडान भइसकेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । दाना—कुश्मा खण्ड यही असारभित्रमा सञ्चालन (चार्ज) गर्ने लक्ष्यका साथ काम भइरहेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

प्राधिकरणका अनुसार, प्रसारण लाइनमा निजी क्षेत्रका लगानीकर्ताहरूले म्याग्दीमा निर्माण गरिरहेको ४२ मेगावाटको मिस्त्री खोला जलविद्युत् आयोजनाको विद्युत् जोडिने छ । निर्माणको अन्तिम चरणमा रहेको मिस्त्री खोला र मुस्ताङमा सञ्चालनमा रहेको ११.२ मेगावाटको थापा खोला जलविद्युत् आयोजनाको विद्युत् दाना सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुनेछ । अहिले थापा खोलाको विद्युत् ३३ केभी लाइनमार्फत प्रवाह भइरहेको छ ।
घिसिङले प्रसारणलाइन अभावमा मिस्त्री खोलाको विद्युत् खेर जाने अवस्था आउन नदिन लकडाउनमा पनि काम भइरहेको बताए । उनले भने, “वैशाखभित्रमा चार्ज गर्ने लक्ष्यका साथ काम भइरहेको थियो तर लकडाउनले निर्माण प्रभावित हुनपुग्यो, केही ठाउँमा देखिएको अवरोध खुलाएर काम सुरु गर्न म्याग्दी तथा पर्वतका प्रमुख जिल्ला अधिकारी र स्थानीय तहका प्रमुखहरूको दह्रो साथ र सहयोग पाएका छौं, असारभित्र जसरी पनि चार्ज गर्ने गरी टिम खटिएको छ ।”
३९ किलोमिटर दाना–कुश्मा प्रसारण लाइनअन्तर्गत १ सय १० टावरमध्ये म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरीबगरमा स्थानीयको अवरोधले गर्दा १ वटा टावरमात्रै खडा गर्न बाँकी छ । केही स्थानीयले प्रसारणलाइन मुनि आफ्नो घर परेको भन्दै रुट सार्न माग गर्दै निर्माणमा अवरोध गर्दै आएका थिए । म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, गाउँपालिका अध्यक्ष, वडाध्यक्षलगायतको पहलमा स्थानीयसँग छलफल गरी टावर निर्माण अगाडि बढाइएको छ ।
अहिले टावर खडा गर्ने काम भइरहेको र तार टांग्ने तथा सबस्ेटसनको बाँकी काम सम्पन्न गरी असारभित्रमा लाइन चार्ज गरिने प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले बताए ।
म्याग्दी र पर्वतमा गरी करिब ३ किलोमिटर मात्रै तार टांग्न बाँकी रहेको आयोजना प्रमुख चन्दनकुमार घोषले जानकारी दिए । उनले लकडाउनका कारण श्रमिक अभाव हुँदा निर्माणलाई तीव्रता दिन गाह्रो भएता पनि असारभित्र जसरी पनि चार्ज गरिने बताए ।
कालिगण्डकी नदी बेसिनमा निर्माण हुने जलविद्युत् आयोजनाहरूको विद्युत् प्रवाहका लागि नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा कालिगण्डकी करिडोर प्रसारण लाइनको निर्माण सुरु गरिएको हो । करिडोरको दोस्रो खण्डअन्तर्गत कुश्माबाट नवलपरासीको भूमही (न्यू बुटवल सबस्टेसन) सम्मको प्रसारण लाइनको निर्माण पनि भइरहेको छ ।