गोविन्द खत्री
आइतवार, जेठ ४, २०७७
436

सुर्खेत-कर्णाली प्रदेश सरकारले खाद्य सुरक्षाकालागि उत्पादन विशेष कार्यक्रम सुरु गरेको छ । खाद्य उत्पादन बढाउने लक्ष्य राखिएको उक्त कार्यक्रम बिहीबारदेखि सुरु भएको प्रदेश सरकारकाले घोषणा गरेको हो । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले कोरोना संक्रमणका कारण प्रकोपका कारण उत्पादन बढाउन नसके स्थिति भयावह हुनसक्ने भन्दै स्थानीय तहसँग मिलेर निजी तथा सरकारी जमिनमा सरकारले नै खेती लगाउनेगरी अभियान सुरु गरिएको बताइन् । मन्त्री खड्का का अनुसार प्रदेशमा दुई लाख ९९ हजार ३३९ हेक्टर खेतियोग्य जमिन रहेकोमा २८ प्रतिशत जमिन बाँझो रहेको छ ।
“जग्गा बाँझो रहन नदिन जमिन बाँझो नराखौं, सक्नेलाई खेती गर्न दिउँ भन्ने नाराका साथ यो अभियान सुरु गरेका छौं ।” मन्त्री केसीले भनिन् । उनले आगामी वर्षमा सात सय हेक्टरमा खेती गर्ने कार्यक्रम रहेको बताइन् । मन्त्री केसीले व्यक्ति वा सरकारी र संस्थानको स्वामित्वका बाँझो जमिन खोज्ने काम पनि सुरु गर्न स्थानीय तहसँग समन्वय भएको बताइन् ।

मन्त्रालयले भेटेरिनरी र कृषि विकास कार्यालयमार्फत ७९ वटै स्थानीय तहमा एकै पटक अभियान सुरु गरेको हो । मन्त्रालयले बाँझो जमिनमा खेती गर्न स्थानीय तहलाई आवश्यक रकमका साथै मल, बीउ र बेर्ना निःशुल्क उपलब्ध गराउने तयारी गरेको छ ।
हरेक महिनाको एक र १५ गतेलाई श्रम दिनका रुपमा मनाउँदै आएको प्रदेश सरकारले सोही अवसरमा यस्तो कार्यक्रम ल्याइएको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए । बिहीबार श्रम दिवसको अवसरमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आयोजना गरेको खाद्य सुरक्षाका लागि उत्पादन विषेश अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा सडक संरचना पुगेपछि कर्णाली खाद्यान्नमा परनिर्भर भएको बताए । उनले कर्णालीलाई पुरानै अवस्थामा फर्काउन सबै युवाहरुको साथ प्रदेश सरकारले खोजिरहेको बताए । “विगतमा कर्णालीमा संघसंस्था थिएनन्, चामल खाने बानी पारिएको थिएन । मकै कोदो खान्थे बाहिरबाट नुनमात्रै खरिद गर्ने प्रचलन थियो ।” मुख्यमन्त्री शाहीले भने, “तर अहिले अवस्था फेरिएको छ । नेपालकै सबैभन्दा बढि खाद्य असुरक्षा हुने प्रदेशको रुपमा कर्णाली पुगेको छ । यो अवस्थाबाट माथि उठाउन कर्णालीको जमिन बाँझो नराखौं । कर्णालीमा उत्पादन गर्नका लागि समूह बनाएर युवाहरु आउनुस हामी जमिनको पनि व्यवस्थापन गर्छौं । मल, बीउ उपलब्ध गराउँछौं, बजारीकरणमा हामी समन्वय गरिदिन्छौं ।”
कर्णाली उत्पादनका लागि उर्वर भूमि भएकाले डाँडा पाखामा स्याउ सुन्तला रोप्न र अन्नबाली उत्पादन हुने स्थानमा अन्न रोप्न उनले आग्रह गरेका छन् । कोरोनाका कारण भोकमारी हुने खतरा भएकाले कृषि र रोजगारीलाई बढी प्राथमिकता दिएर यो वर्षको बजेट ल्याइने उनले बताए ।