कारोबार संवाददाता
शुक्रवार, जेठ २, २०७७
540

प्यूठान-कोरोना संक्रमणबीच जिल्लामा सुरु भएका विकास निर्माणका योजना पुनः अन्योलमा परेको छ । सरकारले लकडाउनलाई थप कडाइ गर्दै अन्तर जिल्ला आवागमनलाई कडा गरेपछि मजदुर अभावलगायत समस्याले सुरु भएका निर्माणका काम अन्योलमा परेका हुन् ।
“हामीलाई त फेरि समस्या भयो,” निर्माण व्यवसायी संघ प्यूठानका अध्यक्ष पशुपति नारायण नकर्मीले भने, “कामदार, निर्माण सामग्री र आर्थिकजस्ता समस्याले योजना निर्माण अगाडि बढाउन समस्या छ ।” कोरोना संक्रमणको दर बढ्दै गर्दा सरकारले गरेको अन्तरजिल्ला आवतजावत कडाइका कारण छड, सिमेन्ट, इँटालगायत अत्यावश्यक सामग्री ढुवानीमा समेत समस्या रहेको उनले बताए । निर्माणकार्य सञ्चालन गर्ने सरकारको निर्णयअनुसार जिल्लामा कतिपय योजनाको निर्माणकार्य थालनी गरिएको छ । कतिपय योजना निर्माण कार्यान्वयनको चरणमा छन् । तर दक्ष कामदार तथा निर्माण सामग्री अभावले योजना सम्पन्न गर्न समस्या रहेको निर्माण व्यवसायी बताउँछन् । अहिलेको अवस्थामा निर्माण कार्यलाई अगाडि बढाउन नसकिने निर्माण व्यवसायी बालाजु श्रेष्ठ बताउँछन् । केही सडक निर्माणका काम सुचारु गर्न सके पनि अन्य निर्माणकार्य सञ्चालनमा समस्या रहेको उनको भनाइ छ ।

“दक्ष कामदारदेखि निर्माण सामग्री सबै बाहिरवाट ल्याउनु पर्ने हुन्छ,” निर्माण व्यवसायी श्रेष्ठले भने, “आवागमन नै बन्द भएपछि कसरी निर्माणकार्य अगाडि बढाउने ?” लकडाउनबीचमै सञ्चालन भएको झिमरुक नदी नियन्त्रणको काममा समेत कामदारको अभाव रहेको उनले बताए । “एकातर्फ आवागमनमा कडाइ अर्कोतर्फ कोरोना संक्रमणको त्रास सबै कुराले निर्माणकार्यमा समस्या भएको छ,” उनले भने । ढाड–तुषारा जोड्ने पक्की पुल, झिमरुक गाउँपालिकाको प्रशासनिक भवनसँंगै निर्माण कम्पनीको जिम्मामा रहेका कतिपय सडकको काम सञ्चालन गर्न नसकेको उनले बताए । लकडाउनसँगै विकास निर्माणका योजना सञ्चालन भए पनि योजना निर्माणका लागि ठोस योजना नहुँदा निर्माणकार्यमा अवरोध आएको नेपाल पत्रकार महासंघ प्यूठानका सचिव विजयसिंह भारती बताउँछन् । “जिल्लामा ठोस योजना छैन । कामदार, निर्माण सामग्रीजस्ता अत्यावश्यक सामग्रीको आपूर्तिलाई मध्यनजर गर्दै विकास निर्माणको ठोस खाका अगाडि ल्याउन आवश्यक छ,” उनले भने ।
संघ प्रदेश तथा स्थानीय तहअन्तर्गत दर्जनौ महत्वका योजना छन् । भवन, पक्की पुल, सडक, सिँचाइ, खानेपानी, तटबन्ध लगायतका योजनाको निर्माण प्रभावित बनेको छ । अधिकांश निर्माण सामग्री छिमेकी जिल्ला दाङ, कपिलवस्तु तथा रुपन्देहीबाट आयात गर्ने गरिन्छ । तर कपिलवस्तु र रुपन्देहीमा समेत कोरोना संक्रमण पोजेटिभ पाइएपछि जिल्ला छिर्ने नाकाहरूमा थप सतर्कतासँगै कडाइ गरिएको छ ।

प्रज्वल पहाडी