कारोबार संवाददाता
शुक्रवार, जेठ २, २०७७
553

लमजुङमा निर्माणाधीन २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको हेडवक्र्स सिभिल संरचनाको काम सम्पन्न भएको छ । कोरोना भाइरस संक्रमण जोखिमसँगै जारी लकडाउनको प्रभाव रहँदै गर्दा पनि बाँध क्षेत्रअन्तर्गतको संरचना निर्माणको काम सम्पन्न भएको आयोजनाले जनाएको हो ।
लिबर्टी इनर्जी हाइड्रोपावरद्धारा प्रवद्र्धित लमजुङको दोर्दी गाउँपालिका–६, ढोडेनीमा निर्माणाधीन सो आयोजनामा हेडवक्र्ससँगै अन्य संरचना निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ । बाँधक्षेत्रसँगै पावरहाउस, इलेक्ट्रोमेकानिकल लगायतको काम पनि अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ ।

२०७१ असोजबाट निर्माण थालिएको सो आयोजना गत चैत मसान्तसम्म व्यावसायिक विद्युत् उत्पादन गर्ने लक्ष्य राखिए पनि पटक–पटक निर्माणकार्य प्रभावित हुँदै आएको छ । आयोजना अन्तिम चरणमा पुगेसँगै कोभिड–१९ को जोखिम र जारी लकडाउनले प्रभावित भएको हो । सो आयोजनामा पर्याप्त निर्माण सामग्री ढुवानी र आवश्यक कामदार नहुँदा निर्माणकार्य प्रभावित भएको आयोजनाले जनाएको छ ।
सरकारले ठूला आयोजना निर्माणका काम नरोक्ने भने पनि स्थानीय कार्यक्षेत्रमा सो निर्णय कार्यान्वयन गर्न समस्या देखिएको छ । हाल आयोजनाको काम सुस्त र सुचारु भए पनि निर्माण सामग्री र जनशक्ति पर्याप्त नभएको आयोजना प्रवद्र्धक राजेन्द्र वस्तीले बताए ।
आयोजनाको निर्माण कार्य सुचारु गर्न स्थानीय तहसँग समन्वय गरी १२ बुँदे आचारसंहिता बनाएको छ । आयोजना र स्थानीय समुदायबीच आवश्यक सहजीकरण गर्दै आयोजनाको कामलाई निरन्तरता दिने प्रयास गरिएको दोर्दी गाउँपालिकाले जनाएको छ ।
आयोजनाको बाँधस्थल लोदो खोलाबाट २७ सय मिटर लामो भूमिगत सुरुङ र २७ सय मिटर लामो पेनस्टक पाइपमार्फत दोर्दी खोलाको पानीलाई विद्युत् गृहमा पु¥याई विद्युत् उत्पादनको तयारी गरिएको छ ।
३०७४ सालमै निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको सो आयोजना विनासकारी भूकम्पपछिको अघोषित नाकाबन्दी र गत भदौमा आएको बाढीका कारण पनि निर्माण अवधि लम्बिएको आयोजनाले जनाएको छ । रन अफ रिभर प्रविधिमा बनेको सो आयोजनाको चार अर्ब ६३ करोडभन्दा बढी रकम लागत रहेको छ ।

सन्देश पौडेल