महेन्द्र सापकोटा
बुधवार, बैशाख ३१, २०७७
420

दैलेख-कोरोना भाइरसका कारण लकडाउनले गर्दा रोकिएका केही विकासे काम सुचारु गर्न थालिएको छ । गत चैत १० गतेदेखि सरकारले गरेको लकडाउनको पूर्णपालना गर्दै रोकिएका विकासे काम लकडाउन केही हदसम्म खुकुलो भएसँगै दैलेखका स्थानीय तहले विकासे काम धमाधम सुचारु गर्न थालेका हुन् ।
दैलेखका ११ वटै स्थानीय तहले सम्बन्धित निकायसँग समन्वय गरेर सामाजिक दूरी कायम गरी विकास निर्माणका कामलाई निरन्तरता दिन थालेका छन् । सरकारले सर्तसहित अत्यावश्यक क्षेत्रका लागि लकडाउन केही खुकुलो बनाएसँगै दैलेखका स्थानीय तहले पनि विकासका कामलाई प्राथमिकतामा राखी निरन्तरता दिन थालेका छन् । स–साना योजना लकडाउनको नियम पालना गर्दै भीडभाड नगरी सञ्चालन भए पनि ठूला योजना लकडाउनले निर्माण सामग्री नपाउँदा रोकिएका थिए ।

नेपाल सरकार उच्चस्तरीय समन्वय समितिको बैठकको निर्णयअनुसार सम्बन्धित पालिकाले योजना सुचारुका लागि लिखित अनुरोधका आधारमा काम गर्न अनुमति दिइएको जिल्ला प्रशाशन कार्यालय दैलेखले जनाएको छ । लकडाउनको पालना गर्दै योजना सञ्चालनका ६ वटा बुँदाका आधारमा मापदण्ड पूरा भई आएका पालिकालाई काम गर्न अनुमति दिइएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी इन्द्रबहादुर क्षेत्रीले वताए । “यहाँका पालिकाहरूले नियमपूर्वक विकासका काम गर्ने भनी प्रशासनमा पत्र पठाए अनुसारको आधारमा मापदण्ड पूरा गरेर काम गर्न हामीले अनुमति दिएका छौं,” सहायक प्रमुख जिल्ला अधिकारी क्षेत्रीले भने, “पालिकाहरूको अनुरोधको आधारमा योजना भद्रगोल तरिकाले नहोस् र भीडभाडमा नगरियोस् भन्दै नियमपूर्वक काम सुचारु गर्न अनुमति दिँदै आएका हौं ।”
दुल्लु नगरपालिकाका नगरप्रमुख घनश्याम भण्डारीले लकडाउनको अवधिमा सामाजिक दूरी कायम गरी नियम पालना गर्दै केही योजना जिल्ला प्रशासनको अनुमतिमा सञ्चालन गरिएको बताए । “भीडभाड नहुने गरी काम गर्नका लागि ३ वटा योजनाको काम सञ्चालन गर्न जिल्ला प्रशासनमार्फत अनुमति लिई काम भइरहेको छ,” नगर प्रमुख भण्डारीले भने, “पुनः अन्य ३६ योजनाको पनि काम गर्नका लागि प्रशासनसँग अनुमतिका लागि पत्र पठाएको छ ।” दूल्लु नगरपालिकामा ठूला योजना प्राकृतिक स्रोत व्यवस्थापन भवन निर्माण, पञ्चकोशी बहु प्राविधिक शिक्षालय भवन निर्माण र सरस्वती मावि पशुविज्ञान योजनाको काम मापदण्डअनुसार भइरहेको नगर प्रमुख भण्डारीले बताए । साथै नगर प्रमुख भण्डारीका अनुसार जेठ १ गतेदेखि सामाजिक सुरक्षा भक्ता र शिक्षक तथा अन्य कर्मचारीको तलब पठाउने काम सुरु हुनेछ ।
नारायण नगरपालिका दैलेखका नगर प्रमुख रत्नबहादुर खड्काले नारायण नगरपालिकाका वडाभित्र योजनाको आवश्यकताका आधारमा जिल्ला प्रशासनसँग समन्वय गरेर काम भएको वताए । “साना तिना पुल पुलेसा, सिँचाइ नहरजस्ता योजनामा समुदायको धेरै भीडभाड नहुने गरी सामाजिक दूरी कायम गरेर काम सञ्चालन हुँदै आएको छ,” नगर प्रमुख खड्काले भने, “अन्य ठूला विकासे काम पनि समन्वय गरेर अगाडि बढाइने छ ।”
नौमूले गाउँपालिकाले पनि लकडाउनको पालना गर्दै साना तिना विकासे काम भइरहेको बताएको छ । निर्माण सामग्री अभावका कारण केही योजनाको काम रोकिएको र निर्माण सामग्री सप्लायर्स गर्नका प्रशासनसँग अनुमति माग्ने गाउँपालिकाका अध्यक्ष भदे बुढाले बताए । गाउँपालिकाका अन्य योजनाको स्टिमेट तथा काम भइरहेको बताउँदै प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद कोइरालाले सामाजिक दूरी कायम गर्दै कर्मचारी सेवाग्राहीको काममा लागेको जानकारी दिए ।