केशव समर्पण
मंगलबार, बैशाख ३०, २०७७
612

हेटौंडा-धरान–चतरा–सिन्धुली–हेटौंडा सडकअण्डअन्तर्गत मकवानपुर र सिन्धुली जोड्ने बागमती पुल निर्माणमा ठेकेदार कम्पनीले सक्रियताका साथ काम गरिरहेको छ । गत वर्ष वर्षाका कारण निर्माणाधीन पुलको केही भाग बगाउँदा झण्डै ४ करोड रुपैयाँको क्षति बेहोरेको स्वच्छन्द निर्माण सेवा प्रालिले लकडाउनको समयमा पनि आवश्यक स्वास्थ्य सुरक्षा अपनाई धमाधम निर्माणको काम गरहेको छ ।
सडकखण्डअन्तर्गत मकवानपुरको बागमती गाउँपालिका–४ बागमतीटारबाट सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ जोड्ने पुल निर्माणको काम लकडाउनको समयमा करिब ३ साता बन्द भएको थियो । गत वैशाख ३ गतेयता पुनः पुल निर्माणको काम भइरहेको निर्माण कम्पनीले जनाएको छ । “लकडाउनपछि चैत १२ गतेबाट पुल निर्माणको काम रोकिएको थियो । प्रशासनसँग अनुमति लिएर हामीले वैशाख ३ गतेबाट पुनः काम सुरु गरेका हौं । अहिले पुलको दुई वटा स्पान ढलानको काम भइरहेको छ,” निर्माण कम्पनीका साइट इन्चार्ज सन्तोष सापकोटाले भने ।

अहिले दैनिक ५५ जना कामदार र १० जना अन्य कर्मचारी दैनिक १२ घण्टासम्म पुल निर्माणमा खटिएका छन् । स्टक रहेको सामानबाट लकडाउनको समयमा पनि पुलको काम गरिएता पनि अब बाँकी काम गर्न भने निर्माण सामग्री अभाव हुने देखिएको निर्माण कम्पनीले जनाएको छ । “पुलको बाँकी स्पानमा ढलान गर्नका लागि आवश्यक बेरिङ भारतबाट ल्याउनुपर्नेहुन्छ । लकडाउनका कारण त्यो सम्भव छैन । रड पनि हामीले विराटनगरबाट ल्याउनुपर्छ । त्यहाँबाट रड ल्याउन पनि अहिले समस्या छ । अबको ३ दिनमा दुईवटा स्पानको ढलान सकिन्छ । अनि पुनः काम रोकिन्छ,” साइट इन्चार्ज सापकोटाले भने ।
२०६८ सालमा २१ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको ४ सय १३ मिटर लम्बाइ र ७.७ मिटर चौडाइ रहेको मोटरेबल पुल निर्माणमा भूकम्प र नाकाबन्दी पनि बाधक बनेको थियो । ५ वर्षको समय लिएर काम सुरु गरिएकोमा तोकिएको समयमा काम सक्याउन नसकिएपछि पुनः समय थपिएकोमा थपिएको समय पनि आउँदो जेठ महिनामा सकिँदैछ । “पुल निर्माणको काम अहिलेसम्म करिब ७० प्रतिशत सम्पन्न भइसकेको छ । पछिल्लो पटक थपिएको समयसीमाभित्रै हामीले पुल निर्माण सक्याउने लक्ष्य राखेर काम गरिरहेका थियौं । तर लकडाउन कारण तोकिएको समयभित्र काम सम्पन्न हुन कठिन देखिएको छ,” स्वच्छन्दका इन्जिनियर अन्जन विडारीले भने ।
गत वर्ष बागमती नदीमा आएको बाढीका कारण असार २७ गते राती निर्माणाधीन पुलको केही भाग बगाएको थियो । पुलमा रहने ११ वटा पुलका पिल्लरमध्ये एउटा पिल्लर निर्माण हुन बाँकी छ भने ५ वटा स्पानमा स्लाब ढलान भएको र अन्य ६ वटा स्पानमा ढलान हुन बाँकी रहेको आयोजनाका सबइन्जिनियर चेतनकुमार मण्डलले बताए । आयोजनाका इन्जिनियर वीरेन्द्रप्रसाद महतोको नेतृत्वमा सातजनाको प्राविधिक टोली पनि पुल निर्माणमा खटिएको छ ।