दीननाथ बराल
आइतवार, बैशाख २८, २०७७
2970

पोखराको नयाँ पर्यटकीय गन्तव्यको रूपमा निर्माण हँुदै गरेको अन्नपूर्ण केबलकारको निर्माणकार्य ९५ प्रतिशत सकिएको छ ।
पोखरा–१८ को सेतीबगरदेखि सराङकोटसम्म निर्माण हँुदै गरेको अन्नपूर्ण केबलकार निर्माणकार्य करिब ९५ प्रतिशत सकिएको अन्नपूर्ण केबलकार प्रालिका अध्यक्ष कालु गुरुङले बताए । अध्यक्ष गुरुङका अनुसार २ हजार २ सय ७५ मिटर लम्बाइको केबलकारमा १८ वटा डिब्बा (गोन्डोला) सहित तार जडान र फिनिसिङको काम बाँकी छ भने अन्य भौतिक संरचना निर्माणकार्य सकिएको छ । उक्त केबलकारमा केही समय पछि पुनः ४ वटा डिब्बा थप गरिने अध्यक्ष गुरुङले जनाए । उनले भने, “हाम्रो देशमा केबलकारमा काम गर्ने दक्ष जनशक्ति अभावले हामीलाई दुईजना विदेशी कामदार केही दिनका लागि आवश्यक छ, जापानबाट दुईजना दक्ष प्राविधिक आएको ४ हप्तामा केबलकार सञ्चालन गर्न सक्छौं ।” लकडाउन खोलेको ४ हप्तामा केबलकार सञ्चालन हुने अध्यक्ष गुरुङले दाबी गरे । उनका अनुसार पहिलो एक महिना भने केबलकारको परीक्षण हुनेछ । अबको एक महिनामा लकडाउन खुल्ला भएको अवस्थामा पनि आफूहरूले तीन महिनामा व्यावसायिक रुपमा केबलकार सञ्चालन गर्नसक्ने अध्यक्ष गुरुङले दाबी गरे ।

डेढ वर्षमा निर्माणकार्य सकिने भनी केबलकारको शिलान्यास गरिए पनि प्राविधिक कारणवश ३ वर्षभन्दा बढी समय बित्दै जाँदा उक्त परियोजनाको लागत मूल्य बढ्ने भएको अध्यक्ष गुरुङले बताए । उनका अनुसार उक्त प्रोजेक्टमा एक अर्ब ५० करोडको लगानी हुने भएको छ । उक्त प्रोजेक्ट सुरुको क्रममा एक अर्बमा पूरा गर्ने बताइएको थियो । तल्लो तथा माथिल्लो स्टेसनसहित रेस्टुराँ, पार्किङ, कफी सप, गार्डेनसहितको संरचना निर्माण भएसँगै सजावट तथा फिनिसिङको काम भइरहेको अध्यक्ष गुरुङले जनाए । कोरोना भाइरसका कारण देशमा लकडाउन हुनाले पनि आफूहरूलाई थप आर्थिक भार पर्न गएको उनको भनाइ छ । उक्त परियोजना नेपाल राष्ट्रिय बाणिज्य बैंकको नेतृत्वमा अघि बढेको बताएका अध्यक्ष गुरुङले अन्य केही बैंकले ऋण सहयोग गरेको बताए ।
उक्त परियोजना केही वर्षमै पब्लिक लिमिटेडमा लगेर नाफाको केही प्रतिशत सामाजिक क्षेत्रमा लगानी गर्ने आफूहरूको दीर्घकालीन योजना रहेको अध्यक्ष गुरुङले बताए । उक्त परियोजनामा ३० रोपनी क्षेत्रफलमा स्टेसनसहितको संरचना निर्माण भएको छ भने २५ रोपनी क्षेत्रफल तारमुनि परेको छ । आफूहरूको योजनाअनुसार केबलकार नाफामा जानका लागि प्रतिघण्टा ५ सय जना यात्रु बोक्नु पर्ने अवस्था रहेको अध्यक्ष गुरुङले जनाए । परियोजनामा हाल ५० जना मजदुरले काम गरिरहेका छन् । लकडाउन सुरु भएको सुरुको दुई हप्ता काम रोकिए पनि निर्माणकार्य जारी छ ।
एउटा डिब्बा सामान बोक्नका लागि र बाँकी १७ वटा यात्रुका लागि प्रयोग हुनेछ । उक्त केबलकारमा करिब ३६ वटाभन्दा बढी डिब्बा क्षमताको रहेको प्रालिले जनाएको छ । केबलकारमा युवा व्यवसायी कालु गुरुङसहितका नेपाली व्यवसायीको ७५ प्रतिशत, पूर्वजापानी नागरिक टाकासी मियाहाराको १५ प्रतिशत र स्थानीयको १० प्रतिशत लगानी रहेको प्रालिले जनाएको छ । नेपालमा सञ्चालनमा रहेका मनकामना र चन्द्रागिरि केबलकार जस्तै भए पनि यो केबलबारमा नयाँ प्रविधि प्रयोग गरिने अध्यक्ष गुरुङले बताउँदै आएका छन् ।
कहिले जग्गा विवाद त कहिले प्राविधिक दक्ष कर्मचारी र कहिले बोल्ट हराउनेलगायका समस्याले गर्दा निर्माणकार्य ढिला हुन गएको अन्नपूर्ण केबलकारका सञ्चालक निर्देशकमध्येका तीर्थराज त्रिपाठीले बताए । स्टेसनको भवनकै माथिल्लो तलामा आरसीसी बिल्डिङ्मा उच्चस्तरको रेष्टुराँ, भ्यू टावरसहितको निर्माण गरेकाले उक्त परियोजनामा थप समय र लगानी बढेकोे त्रिपाठीले बताए । उक्त केबलकारमा प्रयोग हुने डोरी, गण्डलासहितका मेसिनरी सामान पोखरा आइसकेको उनले जनाए । केबलकार निर्माणको जिम्मा चितवन कोई समूहले पाएको हो । केबलकारमा यात्रा गर्दा हिमाल, ताल, हरियो वन जंगल तथा पोखराको मनोरम दृश्यावलोकन गर्न सकिने त्रिपाठीले बताए । प्रतिघण्टा १ हजार ५ सय जनालाई सेवा दिनसक्ने क्षमताको केबलकार निर्माण भएको उनले जनाए । केबलकार निर्माण भएपछि फेवातालको किनार सेदीबगरबाट ८ देखि ९ मिनेटमै सराङकोट पुग्न सकिने छ । अहिले फेवाताल क्षेत्रबाट सराङकोट जान गाडीबाट करिब ४५ मिनेट लाग्छ ।