कारोबार संवाददाता
मंगलबार, बैशाख २३, २०७७
1591

कोरोना महामारीपछि सरकारले घोषणा गरेको लकडाउनसँगै रोकिएको मिटर रिडिङका लागि नेपाल विद्युत्् प्राधिकरणले आचारसंहिता बनाएको छ ।
पछि समायोजन गर्ने गरी अघिल्लो महिनाको बराबर महसुल ग्राहकलाई दिएको प्राधिकरणले मिटर रिडिङका लागि जाने कर्मचारीका लागि आचारसंहिता बनाएको हो । प्राधिकरणले आगामी जेठ १ गतेदेखि मिटर रिडिङका लागि पुनः सञ्चालन गर्ने तयारी अघि बढाएको छ । मासिक रुपमा ६ अर्ब रुपैयाँ राजस्व उठ्ने प्राधिकरणको लकडाउनसँगै एक अर्बभन्दा कम रकम संकलन हुँदै आएको छ । प्राधिकरण ग्राहक तथा वितरण निर्देशानालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेका अनुसार, महामारीको बेला सुरक्षित र व्यवस्थित रुपमा मिटर रिडिङका लागि आचारसंहिता निर्माण गरिएको हो ।

प्राधिरकणले तयार पारेको आचारसंहितामा मिटर रिडरले मास्क र पञ्जा अनिवार्य रुपले लगाउने र आधा घण्टाको अन्तरालमा स्यानीटाइजर प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ । मिटर रिडिङ गर्दा अन्य व्यक्तिको सम्पर्कमा नआउने र आउनै परेको अवस्थामा न्यूनतम एक मिटरको दूरी कायम गर्नुपर्ने र आफ्नो शरीरको नियमित तपक्रम मापन गर्नुपर्ने व्यवस्था गरेको छ ।
ज्वरो, खोकी लागेका मिटर रिडरले मिटर रिडिङ नगर्ने र तत्काल नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने, राज्यले कोरोना संक्रमति टोल वा क्षेत्र भनी ताकेको ठाँउमा मिटर रिडिङ नगर्ने, त्यस्तो क्षेत्रको ग्राहकको औसत खपतको आधारमा रिडिङ अंक समावेश गरी बिल पठाउने व्यवस्था गर्न पनि आचारसंहितामा उल्लेख छ ।
यस्तै महसुल संकलन काउण्टरमा बस्ने कर्मचारीले मास्क, पञ्जा र चस्मा वा प्लास्टिकको हेल्मेट अनिवार्यरुपमा प्रयोग गर्ने र स्यानिटाइजर हरेक आधा घण्टामा प्रयोग गर्ने व्यवस्था गरिएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । काउण्टरमा बस्ने सबैको हरेक दिनको तापक्रम मापन गर्ने, काउण्टर क्षेत्रमा हरेक दिन स्यानिटाइज गर्ने, ग्राहकलाई एकआपसमा कम्तीमा एक मिटरको दूरी कायम गरी लाइन बस्न लगाउने, हरेक ग्राहकलाई काउन्टरभित्र छिर्दा प्रवेशद्वारमा हात धोइ स्यानिटाइजर लगाउने व्यवस्था गर्ने, थर्मल गन प्रयोग गरी शरीरको तापक्रम मापन गर्ने र साबुन पानीले हात धुने तथा व्यक्तिगत सुरक्षा उपकरण अनिवार्यरुपमा लगाएर कर्मचारी बस्ने व्यवस्था मिलाइने भएको छ ।
ग्राहकले महसुल बुझाइसकेपछि जाने बेलामा पनि स्यानिटाइजर लगाएर पठाउने व्यवस्था गरिएको छ । संकलन भएको नोट वा सिक्कालाई स्यानिटाइज गरी विशेष सावधानीपूर्वक राख्ने, संकलन भएको महसुल सोही दिन बैंकमा जम्मा गर्ने, मास्क लगाएको ग्राहकलाई मात्र कम्पाउण्डमा छिर्न दिने व्यवस्था गर्नसमेत प्राधिकरणको आचारसंहितामा उल्लेख छ ।
यस्तै आयोजनाको काम र अन्य पुँजीगत कार्य सञ्चालनका लागि पनि नयाँ व्यवस्था गरिएको छ । जटिल प्राविधिक कार्य र सुपरिवेक्षणका कार्यबाहेक अन्य सबै काममा सकभर स्थानीय कामदार प्रयोग गर्ने, काममा खटिने व्यक्तिले मास्क र पञ्जाको अनिवार्य प्रयोग गर्ने र स्यानिटाइजरको आवश्यकताअनुसार व्यवस्था गर्न भनिएको छ ।