गोपाल पोखरेल
आइतवार, बैशाख २१, २०७७
738

उदयपुरमा बन्दाबन्दीको पालनासँगै सुरक्षित ढंगले विकास निर्माण कार्य अगाडि बढाइने भएको छ । नजिकिँदो बर्षायामलाई मध्यनजर गर्दै निर्माणाधिन राष्ट्रिय महत्वका योजनाका साथै स्थानीय, प्रदेश र संघीय सकारबाट प्राप्त रकममा सम्झौता भइसकेका योजनाका काम सुरु गर्न लागिएको हो ।
स्थानीय प्रशासन र स्थानीय निकायको समन्वयमा कामदारको बिहान र बेलुकी दैनिक स्वास्थ्य परीक्षण गरी सामाजिक दुरी कायम गरेर निर्माण कार्य गर्ने तयारी गरिएको छ । निर्माण कार्यममा बढी भन्दा बढी स्थानीय जनशक्ति परिचालन गरिनेछ । अन्यत्रबाट जनशक्ति ल्याउनै पर्ने भए उनीहरुको स्वास्थ्य जाँच गरेर मात्र काममा ल्याउने ब्यवस्था मिलाइएको छ ।

“ जिल्लामा निर्माण भइरहेका र निर्माणका लागि सम्झौता भइसकेका योजनाहरु अगाडि बढाउन यस्तो व्यवस्था गरेका हौं” त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीले भने,“ निर्माण कम्पनी वा उपभोक्ता समितिले आवश्यक कागजातसहित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएपछि उनीहरुलाई जिल्ला प्रशासनले निर्माण सामग्री ढुवानी गर्ने र अन्य साधनको पास उपलब्ध गराउने छ ।” यही पासको आधारमा निर्माण कम्पनी र उपभोक्ता समितिले स्थानीय जनशक्ति प्रयोग गरी उनीहरुको दैनिकरुपमा बिहान र बेलुकी स्वास्थ्य परीक्षण गर्दै सामाजिक दुरी कायम गरेर निर्माण कार्य गर्न सक्ने उनले बताए ।
“अन्य आवश्यक समन्वय गर्ने काम स्थानीय तहले गर्छन्” नगरप्रमुख चौधरीले भने,“ बन्दाबन्दीको पालना र निर्माणको काम दुबैलाई उत्तिकै महत्व दिनु पर्ने अबस्था छ ।”
सामाजिक दुरी कायम गरेर कामदारको दैनिक स्वास्थ्य परीक्षण गर्दै निर्माण कार्य अगाडि बढाउने तयारी गरिएको चौदण्डीगढी नगरपालिकाका प्रमुख खगेन्द्र राईले बताए । “ यसले लामो बन्दाबन्दीले आर्थिक मार खेपेका स्थानीय कामदारलाई ठूलो राहत पुग्छ भन्ने हामीले सोचेका छौं”उनले भने,“ बर्षायाम सुरु हुन लागेको अबस्थामा सुरक्षित ढंगले योजना अगाडि बढाउनु पर्ने बाध्यता पनि छ ।” यसरी काम गर्दा बन्दाबन्दी कार्यन्वयन पनि हुने र विकास निर्माणका योजना पनि अगाडि बढ्ने उनको भनाई छ ।
“हामीले जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त गरी काम सुरु गरिसकेका छौं” निर्माणाधिन मदन भण्डारी राजमार्गको निर्माण कम्पनी जेडआइइसी लामा एण्ड शर्मा जोइन्ट भेन्चरका प्रोजेक्ट म्यानेजर सीताराम दाहालले भने,“ भोलिबाटै उदयपुरगढी गाउँपालिका ६ नेपालटारदेखि सडक कालोपत्रे गर्ने काम सुरु गर्नेछौं ।” स्थानीय प्रशासन र स्थानीय तहले दिएको निर्देशन अनुसार सामाजिक दुरी कायम गरेर कामदारको दैनिक स्वास्थ्य परीक्षण गर्दै काम अगाडि बढाउने उनले बताए ।