देवराज गुरुङ
बुधवार, बैशाख १७, २०७७
560

ताप्लेजुङ-
लकडाउनको अवधिमा सामान ढुवानी समस्याले काबेली नदीमा निर्माणाधीन पक्की मोटरेबल पुल भत्काउन सुरु गरिएको छ ।
सिदिङ्मा र सिरीजंघा गाउँपालिका जोड्ने पुल वैशाख दोस्रो सातादेखि भत्काउन सुरु गरिएको हो । चैत १५ गतेभित्र ढलानको काम सक्ने योजना थियो । तर लकडाउनका कारण सिमेन्ट, गिट्टी र ढलानमा प्रयोग गर्ने रसायन काठमाडांैबाट ल्याउन सम्भव नभएकाले भत्काउन बाध्य भएको हो ।
पुल निर्माणको जिम्मेवारी पाएको मैनाचुली निर्माण सेवाका कृष्ण बस्नेतले भने, “ढलान गर्न तयार पुल भत्काएका हौं । यतिकै छाडे झरिका बेला बगाउने गरी खोला उर्लन्छ ।” बर्खायाम सुरु हुनु र ठाडो खोला भएकाले पत्याउनै नसकिने गरी खोलामा पानीको सतह बढ्ने हुँदा भत्काउनु परेको निर्माण कम्पनीले जनाएको छ । परिस्थिति अनुसार पुल भत्काउनका लागि नियामक निकाय उत्तर–दक्षिण लोकमार्ग आयोजनाले पनि सहमति दिएको छ । पुलमा जडान गरिएको रड र फर्मा निकाल्ने काम जारी रहेको कम्पनीका बस्नेतले बताए । उनले भने, “ढलान गर्न पाएको भए ८० प्रतिशत काम सकिन्थ्यो । यो बर्खामा मोटर गुडाउन सम्भव बन्थ्यो ।” लकडाउन नभएको हुँदो हो त चैत १५ गते ढलान भएर वैशाख १५ सम्म सेट हुने थियो । निर्माण अवधि आगामी साउनसम्म छ । तर बर्खाको समय भएकाले तोकिएको अवधिमा निर्माणसम्म हुन्छ÷हुँदैन टुंगो छैन । पुलको लम्बाइ ४० मिटर छ । सामान ढुवानीका लागि समन्वय गरे पनि सम्भव नभएको उत्तर–दक्षिण लोकमार्ग आयोजना प्रमुख रामबहादुर गुरुङले बताए । प्रमुख गुरुङका अनुसार पुलको लागत ४ करोड ७० लाख छ ।

पुल नबन्दा १ दिन पैदल हिँड्नु पर्ने बाध्यता
भौगोलिक बनावटअनुसार सिदिङ्मा र सिरीजंघा गाउँपालिकाबासी गाडी चढ्नका लागि १ दिन पैदल हिँडेर हप्पुखोलासम्म आउनुपर्छ । यो वर्षदेखि हिउँदका बेला सदरमुकाम–याम्फुदिनसम्म गाडी गड्न थालेको थियो । गाडी गुड्दा हर्षित स्थानियले एकतर्फी भाडा १ हजार ३ सय तिरेर यात्रा गर्थे । दूरीका हिसाबले सदरमुकाम–याम्फुदिनको भाडा महँगो भए पनि गाडी गुडेको खुसीयालीमा तोकिएको भाडा तिर्न मन्जुर बने । पुल बनेसँगै बर्खायाममा पैदल हिँड्नुपर्ने बाध्यता अन्त्य हुने र भाडा पनि घट्ने अपेक्षा गरेका गाउँपालिकाबासी असन्तुष्ट बनेका छन् । सिरीजंघा गाउँपालिकाका अध्यक्ष टीकाराम गुरुङले सम्भव भएसम्म यो बर्खामै सम्पन्न गर्नका लागि अनुरोध गरेको बताए । वैशाख र जेठमा त्यति धेरै पानी नपर्ने हुँदा यो समयमा ढुवानी र कामको गति बढाउन सकिने झिनो सम्भावना छ । यद्यपि लकडाउन अवधिमा भर पर्नुपर्ने भएकाले यो वर्ष पनि मोटर पुलमाथि गाडी गुड्ने सम्भावना कमैमात्र भएको अध्यक्ष गुरुङले बताए । दुईतिर चट्टान भएकाले निर्माण गर्न निकै समय खर्चिएको थियो ।
सबैभन्दा बढी सुरुमखिम, मेहेले, खेवाङ, याम्फुदिन, पेदाङ, मामांखेलगायत आधा दर्जन बढी वडाबासी असन्तुष्ट छन् । सिरीजंघा गाउँपालिका–८ याम्फुदिनका वडाअध्यक्ष टाँसी शेर्पाका अनुसार मोटरेबल पुलले यहाँको दैनिकी र दैनिक उपभोग्य सामग्री उपभोगमा सहजता मिल्थ्यो । उक्त वडा कञ्चनजंघा हिमाल प्रवेश गर्ने मुख्य बाटो भएकाले पर्यटनमा समेत टेवा पुग्ने वडाअध्यक्ष शेर्पाले बताए । विभिन्न गाउँपालिकामा सडक र मोटरेबल पुल बनेसँगै कञ्चनजंघा बेसक्याम्प घुमफिरको क्याम्प घटेको थियो । २४ दिनको क्याम्प १६ दिनमा सम्भव बनेको थियो । अध्यक्ष शेर्पाले भने, “यो पुल बनेसँगै २ वटा क्याम्प घट्छ । कम्तीमा २ हप्तामै कञ्चनजंघा घुमफिर सम्भव हुन्छ ।” सरकारले निर्माणको काम पनि सामाजिक दूरी कायम गरेर सुरु गर्ने तयारी गरेको छ । तर निर्माण सम्पन्न हुन लागेको पुल भत्काउन सुरु गरिएकाले ढुवानीको व्यवस्थापन गर्न सके राज्यलाई आर्थिक भार त घट्थ्यो नै, दुर्गमका नागरिकको दैनिक जनजीवनमा ठूलो राहत मिल्थ्यो । लकडाउनका कारण विकास निर्माणका काम अवरुद्ध भएका थुप्रै योजना सुरु गर्न सम्भव बन्थ्यो ।

लकडाउनका कारण गिट्टी, सिमेन्ट, रड तथा ढलान गर्न रसायन सामग्री ढुवानी असम्भव भएकाले भत्काउन सुरु गरिएको सिदिङ्मा र सिरीजंघा