मायाखोला हाइड्रो निर्माण सुरु
कारोबार संवाददाता
बुधवार, फाल्गुन ३०, २०७४
659

सङ्खुवासभामा १४.९ मेगावाट क्षमताको माया खोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । प्रदेश–१ का मुख्यमन्त्री शेरधनराईले शिलान्यास गरेको धर्मदेवी नगरपालिका वडा नम्बर ३, ४ र ५ मा पर्ने माया खोलाबाट विद्युत् निकाल्न २ हजार २०० मिटरको सुरुङ खन्ने कार्य धमाधम भइरहेको आयोजनाले जनाएको छ । आयोजनाको शिलान्यास गर्दै मुख्यमन्त्री शेरधन राईले यो आयोजनाबाट सङ्खुवासभा मात्र नभएर सिंगो प्रदेश नम्बर १ नै लाभान्वित हुने धारणा राखेका छन् । प्रदेश एक जलविद्युत् क्षेत्रमा अत्यन्तै सम्भावना बोकेको जिल्ला भएकोले जलविद्युत्बाट आर्थिक समृद्धि हासिल गर्न सकिने मुख्यमन्त्री राईको भनाइ छ । ।
माया खोलाबाट निकालिने विद्युत् सार्वजनिक निजी साझेदारीको मोडेलमा निर्माण गरिन लागेको कार्यकारी अध्यक्ष विजयमान शेरचनले जानकारी दिए । सन् २०१९ डिसेम्बर महिनामा सम्पन्न हुने यो आयोजना पशुपति इनर्जी डेभलपमेन्ट प्रालिले निर्माण गर्न लागेको हो । आयोजनाको २ अर्ब ५० करोड लागत मध्ये विद्युत् विकास कम्पनी पशुपति इनर्जी डेभलपमेन्ट प्रालिको ५१ प्रतिशत र बाँकी ४९ प्रतिशत मायाखोला कम्पनी लिमिटेड र स्थानीयको सेयरमार्फत सम्पन्न गरिने बताइएको छ ।
रन अफ रिभर बेसमा निर्माण हुन लागेको उक्त आयोजनाको टनेल निर्माणका लागि धर्मदेवी ३ मा रहेको नागेश्वरीदेखि धर्मदेवी ४ स्थित हुर्पाको सल्लेसम्म २ हजार २०० सय मिटर लम्बाइको सुरुङ निर्माण धमाधम भइरहेको प्रमुख इन्जिनियर जितेन्द्र गुरुङ्गले जनाए ।
सङ्खुवासभाका विभिन्न खेलाबाट अहिलेसम्म ११.८५ मेगावाट विद्युत् उत्पादन भइसकेको छ । सङ्खुवासभामा सभाखोलाबाट ४.४ मेगावाट, हेवा खोलाबाट ३.२ मेगावाट, पिलुव–१ बाट ३ मेगावाट र लोअर पिलुवाबाट १ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ । त्यस्तै, निगुरे पावर हाउसबाट दुई सय ५० किलोवाट क्षमताको विद्युत उत्पादन भइरहेको छ । तर, हिउँदको समयमा भने आधाभन्दा धेर उत्पादन घट्ने गरेको विद्युत प्राधिकरण सङ्खुवासभा वितरण केन्द्रका प्रमुख ध्रुव अधिकारीले जानकारी दिए । जिल्लामा दशभन्दा बढी साना खोलाबाट लघुजलविद्युत् सञ्चालन गरी स्थानीयले विद्युत् सेवा लिइरहेका छन् ।
सङ्खुवासभामा विद्युत् उत्पादन बढ्दै गए पनि खपतको अवस्था भने न्युन छ । विद्युत् प्राधिकरण खाँदबारी वितरण प्रमुखका अनुसार हाल साँझको समयमा ४ मेगावाट खपत भइरहेको छ भने दिउँसो २ मेगावाट मात्र खपत भइरहेको छ । जिल्लामा उद्योग कलकारखाना नभएकाले दिउँसो विद्युत् खपत कम भएको खाँदबारी वितरण केन्द्रका प्रमुख अधिकारी बताउँछन् । जिल्लामा उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ ।

-कृष्णराज शाक्य