दिलबहादुर केसी
बिहिवार, चैत्र २७, २०७६
1552

दोलखा-माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको काम निरन्तर अघि बढाउन मजदुर थेग्नै हम्मेहम्मे परेको छ । विश्वव्यापी रूपमा कोरोनाभाइरस फैलिएर लकडाउन भएका बेला आयोजनाको काम नरोक्ने व्यवस्थापन पहलमा मजदुरहरू थेग्न मुस्किल परेको हो ।
सरकारले लकडाउन गर्दा पनि आयोजनाले आन्तरिक सुरक्षात्मक व्यवस्था मिलाएर काम सुचारु गराउन खोजेको थियो । अन्तिम चरणमा पुगेको आयोजना सकभर कुनै समस्याका कारण रोक्ने पक्षमा व्यवस्थापन पक्ष नभए पनि पछिल्लो समय मजदुरहरूले नै काम छाड्दै गरेका कारण कामलाई पुरानै गतिमा गराउन प्रवद्र्धकलाई चुनौती भएको छ ।

सरकारी लकडाउन र स्थानीयहरूको समेत दबाबका कारण काम रोक्नुपर्ने दबाब आयोजनालाई परेका थियो । लकडाउनको एक हप्तापछि माथिल्लो तामाकोसी र मेलम्ची जस्ता राष्ट्रिय गौरबका आयोजनाको काम नरोक्ने सरकारी निर्णय पछि आयोजना व्यवस्थापनलाई राहत भए तापनि मजदुरकै कारण भने समस्या भएको छ ।
आयोजनाका कर्मचारी र मजदुरलाई कोरोना नलागोस् भनेर आयोजनाले गोगर र लामाबगरमा स्थानीय सहायता कक्ष समेत राखेको छ । मजदुरको पनि एक अर्को समूह नभेट्ने गरी सुरक्षात्मक उपाय अपनाएर काम गराइ रहेको अपर तामाकोसी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले जानकारी दिए । स्थास्थ्य सामग्री र आयोजनालाई आवश्यक पर्ने सम्पूर्ण सामग्रीको व्यवस्थापन निरन्तर गरिरहेको उनले बताए ।
जत डिसेम्बरमा चिनमा कोरोना देखिनेवित्तिकै आयोजनाले सतर्कता अपनाउन थालेको हो । आयोजनामा कार्यरत विदेशी विशेष गरी चिनीया कामदारलाई बाह्य भेटघाट बन्द गराउने र चीनबाट फर्केपछि पनि १४ दिन आफ्नै कोठामा क्वारेनटाइन गराएर मात्र बाह्य काममा फर्काएको थियो ।
सरकारले लकडाउन गर्नु अघि नै आयोजना क्षेत्रमा वाह्य मान्छेको आवतजावतमा रोक लगाएको थियो । स्वदेशी लगानीमा निर्माण भएको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा हेडवक्र्सको परीक्षण भइरहे तापनि बालुवा थिग्रयाउने पोखरीको परीक्षण भने स्थगित भएको छ । बाँधमा भने पानी भरेर परीक्षण गरिसकेको छ । बाँधमा कुनै पनि समस्या नआएकोले परीक्षण सफल भएको छ ।
आयोजनामा मजदुरहरूको आत्मबल बढाएर काम गराइरहेको छ । चिनियाँ कम्पनी सिनोहाइड्रोले काम नरोक्ने गरी काम गरिरहे तापनि त्यहाँ कार्यरत डेढ नेपाली कामदारले भने आफूहरूलाई घर फर्काउन भन्दै ३ दिन यता काम गर्न मानेका छैनन् ।
आयोजनाको सबैभन्दा जटिल मानिएको २ वटा ठाडो सुरुङमा पेनस्टक पाइप जडानमा भने भारत र नेपाल दुवै देशमा लकडाउन भएपछि ४ दिन भारतीय मजदुरले घर जान भन्दै काम रोके । तर अहिले काम जारी छ । तर लकडाउन खोलेर गाडी चलेपछि मजदुरहरू पारिवारिक भेटघाटका लागि घर गए भने काम प्रभावित हुन्छ कि भन्ने आयोजनाको चिन्ता छ ।
सबै मजदुरहरूलाई फकाउँदै आत्मबल बढाएर काममा लगाइ रहेको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले बताए । आयोजनामा मुख्य कामदार र प्राविधिकहरू चिनीया, इटलियन र भारतीय नागरिकहरू रहेका छन् । तर उनीहरू कोरोनाको समस्या हुनु अघिदेखि नै निरन्तर आयोजनाको काममा नै रहेकोले समस्या नभएको न्यौपाले जानकारी दिए । आयोजनामा ठेकेदार कम्पनीको काममा अहिलेसम्म समस्या नभए पनि परामर्शदाताको काममा भने केहि समस्या देखिएको छ ।
कोरोना संक्रमणपछि परामर्शदाताहरू स्वदेश फर्केर युरोपबाटै आयोजनाको कामको सुपरीवेक्षण गरिरहेका छन् । आयोजनाको परामर्शदाता नर्वेको नरकन्सल्ट र जर्मनीको ल्याह्मेर जेभी रहेको छ । युरोपमा कोरोनाको प्रकोप फैलिएपछि पाइप जडान बाहेकका सबै परामर्शदाता स्वदेश फर्केका हुन् । भाइरसको प्रकोपपछि आयोजनाको परामर्श कम्पनीमा काम गर्ने विज्ञ, प्राविधिकहरूले अहिले आफ्नै घरबाट निर्देशन गरिरहेको आयोजनाले जनाएको छ ।
आयोजनामा उच्च प्रविधिको सिसि क्यामेरा जडान गरेकाले संसारको जुनसुकै ठाउँबाट समेत हेर्न मिल्छ । आयोजनाको बाँध, डिस्याण्डर र फुलासीमा निर्माणाधिन सव स्टेशनको काम सिसि क्यामेराको सहायताले इन्टरनेटका पहुँच भएको जुनसुकै ठाउँबाट समेत हेर्न मिल्छ ।
आयोजनाको कामको मुख्य समस्याको रूपमा रहेको पेन स्टक पाइप जडानमा ८० जना भारतीय वेल्डरहरू रहेका छन् । भारतमा समेत कोरोनाको संक्रमण बढ्दै गएकाले उनीहरू पनि फर्कन घर फर्केमा काममा बाधा उत्पन्न हुनेमा आयोजना व्यवस्थापनको आंशका छ । आयोजनामा काम गर्ने सबै कामदार र कर्मचारीलाई उच्च मनोवलका साथ काम गर्ने वातावरण बनाउन आयोजना उच्च नेतृत्वमा रहेका सबै कर्मचारीहरू लागि परेका छन् ।
आयोजनाको काम अहिलेसम्म ९९.४ प्रतिशत सकिएको र आगामी असारसम्ममा आयोजनाको काम पूरा गरी विद्युत् उत्पादन थाल्ने आयोजनाको लक्ष्य छ । आयोजनाको माथिल्लो ठाडो सुरुङको ३१० मिटर पेनस्टक पाइप मध्ये १७५ मिटर जडन पूरा भएको छ भने ३७३ मिटरको तल्लो पेनस्टक पाइप मध्ये २९० मिटर जडान पूरा भएको छ । अहिले हरेक १० मिटर पाइप ५।७ दिनमा जोडिन थालेको छ ।