प्रगति ढकाल
बिहिवार, चैत्र १३, २०७६
693

काठमाडौं उपत्यका खानेपानी लिमिटेडले उपत्यकाबासीलाई पानीको अभाव हुन नदिने गरी तयारी अगाडि बढाएको छ । कोरोना भाइरसको संक्रमण विश्वभर फैलिरहेको बेला सरसफाई गर्न पनि पानीको माग बढिरको भन्दै केयुकेयलले पानीको अभाव हुन नदिने तयारी गरेको बताएको छ ।
उपत्यकामा माग अनुसार पानी आपूर्ति हुन सकेको छैन । केयुकेयलका अनुसार करिव ४५ करोड लिटर दैनिक पानीको माग उपत्यकामा छ । तर केयुकेयलले दैनिक ९ करोड लिटर मात्रै पानी आपूर्ति गरिरहेको छ । माग अनुसार आपर्ति व्यवस्था सहज हुन नसक्दा उपभोक्ताले खानेपानीको समस्या भोगिरहनुपरेको छ ।

स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वसाधरणहरुलाई बारम्बार साबुन पानीले हात धोएमा कोरोना भाइरसको संक्रमणबाट जोगिन सकिने भन्दै सन्देश जारी गर्दै आइरहेको छ । उपत्यकाबासीलाई पानीको समस्याका कारण कतिपयले यो निर्देशन पालना गर्न असमर्थ छन् ।
लैनचौरमा बस्ने शोभा सापकोटा पानीको अभावले समस्या भइरहेको बेलामा कोरोना भाइरसबाट जोगिन सरसफाइका लागि पानी अभाव रहेको बताउँछिन् । “बारम्बार हात धुनुपर्छ भन्ने त सुनेको छु तर के गर्ने ? धारामा पानी आउँनै ५ दिन कुनुपर्छ,” उनले भनिन्, “सरकारले पानी पनि उपलब्ध गराइदिनुपर्छ ।”
कीर्तिपुरकी जानुका दुवाडीको समस्या पनि उस्तै छ । “रात मारेर बल्ल बल्ल खानका लागि पानी भर्नुपर्छ, कसरी सरसफाइमा ध्यान दिन,” उनी भन्छिन्, “पानी भए पो बारम्बार हात धुन ।”
केयुकेयलले पानीको स्रोत सुकेकाले धारामा पहिल्यैको समय तालिकामा फरक नहुने बताएको छ । केयुकेयलले नै १ सय ठाउँमा हात धुनका लागि साबुन पानीको व्यवस्था गरेको थियो । तर लकडाउनसँगै सार्वजनिक स्थलमा राखिएका पानी प्रयोग नहुन भएपछि ड्रममा पानी पनि राख्न छोडिएको केयुककेयलको भनाई छ ।
खानेपानी मन्त्री बिना मगरले सरकारले अहिलेको उपभोक्ताको आवश्यकता अनुसार पानी वितरण गर्ने बताएकी छिन् । “माग अनुसार पानी वितरण गर्न ट्याङ्करहरुलाई पासको व्यवस्था गरिसकेका छौं, खानेपानी लाइनबाट पनि वितरण भइरहेने छ, पहिल्यैको समय तालिका अनुसार ट्याङ्करको पानी पनि अभाव हुँदैन,” कारोवारसँग उनले भनिन्, “चुनौती के थियो भने, पानी संकलनदेखि वितरण गर्नेसम्मका हाम्रा कर्मचारी तथा अन्य श्रमिकहरुलाई कसरी फिल्डमा पठाउने भन्ने थियो, तर कोरोना भाइरसको संक्रमबाट बचाउन माक्स लगाएर, सेनिटाइजरको व्यवस्था सहित पानी वितरणको व्यवस्था मिलाएका छौं ।”
केयुकेयलका कार्यकारी प्रमुख मिलन शाक्यले खानेपानीको ट्याङ्कर चालकलाई पनि पास चाहिने झन्झिटिलो व्यवस्थाले असहज भएपछि केयुकेयलकै परिचयपत्रको आधारमा पानीका ट्याङ्कर सञ्चालन गर्न दिने व्यवस्था मिलाइएको बताए ।
उनले कुनै पनि स्थानमा पानीको अति नै समस्या भएमा केयुकेयलमा सम्पर्क गरेमा समस्या हेरेर उपलब्ध गराउने बताए । “खानेपानीको गुणस्तर कसरी बढाउने भनेर पनि हामीले ख्याल राख्नु पर्ने हुन्छ, हुन त केयुकेयलले वितरण गर्ने पानीमा कुनै पनि समस्या छैन,” उनले थपे ।
मेलम्चीको पहिलो चरणको आयोजना सम्पन्न भएपछि १७ करोड लिटर पानी थप हुने छ । दोस्रो चरणको आयोजना सम्पन्न भएपछि भने पुन थप ३४ करोड लिटर पानी वितरण हुने सरकारको योजना छ । मेलम्चीको दुबै चरणको आयोजना सम्पन्न भएपछि काठमाडौंबासीले दैनिक ५१ करोड लिटर पानी पाउनेछन् । बढी भएको पानी बागमतीमा बगाउने सरकारी योजाना छ । यसपछि भने उपभोक्ताले पानीको समस्या झल्नुपर्दैन ।