कारोबार संवाददाता
बिहिवार, चैत्र १३, २०७६
312

लमजुङमा निर्माणाधिन २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाले सर्वसाधरणका लागि निष्काशन गरेको शेयर रोकिएको छ । कोरोना भाइरसको संक्रमण जोखिमसँगै सरकारले लकडाउन गरेपछि सेयर निष्कासन पनि रोकिएको हो ।
आगामी चैत्र महिना भित्रै विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको उक्त आयोजनाले प्रभावित क्षेत्र र जिल्लाबासीका लागि सेयर निष्काशन गरेको थियो । आगामी १५ गतेसम्मका लागि समयसिमा निर्धारण गरी निष्काशन भएको सेयर गत सोमबारदेखि रोकिएको आयोजना प्रवद्र्धक कम्पनी लिवर्टी इनर्जी लिमिटेडका सञ्चालक राजेन्द्र वस्तीले जानकारी दिए ।

आयोजनाले जिल्ला भित्रै १५ करोड रकम बरावरको सेयर जारी गरेको थियो । जिल्लाभित्र पनि अति प्रभावित क्षेत्रका लागि पाँच करोड, सामान्य प्रभावितका लागि अर्को पाँच करोड र त्योबाहेक जिल्लाबासीका लागि थप पाँच करोड गरी १५ करोड रुपैयाँको सेयर आह्वान गरेको थियो । हाललाई अर्को सूचना जारी नभएसम्मका लागि सेयर निष्काशन रोकिएको र मुलुकको संक्रमणकालिन अवस्थामा सुधार भएसँगै पुनः सेयर आह्वान गरीने सञ्चालक वस्तीले बताए ।
आयोजनाले स्थानीयलाई छुट्याएको ३३.३३ प्रतिशत मध्ये पाँच लाख कित्ता अति प्रभावित, दोर्दी गाउँपालिकाको बाँकी वडाहरु र बेसीशहर नगरपालिका वडा नम्वर ११ का स्थाानीयका लागि पाँच लाख कित्ता र सो बाहेक जिल्लाबासीका लागि अर्को पाँचलाख कित्ता सेयर निष्काशन गरी बाडफाँडको तयारी गरेको थियो ।
२०७१ असोजबाट निर्माण थालिएको सो आयोजना आगामी चैत्र मसान्तसम्म व्यावसायिक विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम अघि बढाईएपनि कोभिड–१९ को प्रभावले आयोजना निर्माण अवधी लम्बिने भएको छ । हाल देशव्यापी लकडाउन भएसँगै आयोजनाको काम पनि ठप्प भएकोले निर्धारित समयावधीमा काम सम्पन्न गर्न नसकिने भएको हो ।
कोरोनाको प्रभाव र देशको संक्रमणकालिन अवस्था कति समय रहन्छ भन्ने विषयमै अन्यौल भएकोले अब आयोजना निर्माण सम्पन्न हुने समय पनि टुंगो नभएको सञ्चालक वस्तीको भनाई छ । लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा प्रर्वद्धित लमजुङको दोर्दी गाउँपालिका–६, ढोडेनीमा निर्माणाधिन सो आयोजना निर्माणको अन्तिम चरणमा पुगेको प्रर्वद्धित कम्पनीले जनाएको हो ।

सन्देश पौडेल