दिलबहादुर केसी
बुधवार, चैत्र १२, २०७६
1063

दोलखा-माथिल्लो तामाकोसी जलविद्युत् आयोजना क्षेत्रमा सर्वसाधारणलाई प्रवेशमा भ्रमणमा रोक लगाएको छ । विश्वव्यापी रूपमा फैलँदै गएको कोरोना भाइरसबाट सतर्कता अपनाउन आयोजनासँग सम्बन्धित कर्मचारी र सुरक्षाकर्मी बाहेक अरुलाई भ्रमण र प्रवेशमा रोकेको हो ।
आयोजनाको बाँधमा पानी जम्मा गरेर ठूलो ताल बनेपछि सर्वसाधारणको भ्रमण बाक्लो हुँदै गएपछि भ्रमणमा रोक लगाएको हो । “मानिसको भीड बाक्लो हुँदा भाइरस सर्ने सम्भावना उच्च हुन्छ,” आयोजनाका प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठले बताए । सरकारले पनि कोरोनाबाट बच्न उच्च सतर्कता अपनाउन आह्वान गरेकाले आयोजनाले पनि सतर्कता अपनाउन लागेको हो ।

स्वदेशी लगानीमा निर्माण भएको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा अहिले बाँध, इन्टेक, बालुवा थिग्राउने पोखरी, गेट, स्टपलग लगायत अन्य हेडवर्कसका संरचनाको प्राविधिक परीक्षण भइरहेको छ । भीडभाडका कारण आयोजनाको काममा कुनै बाधा उत्पन्न हुन नदिन पनि उच्च सतर्कता अपनाएको हो ।
तीव्र गतिमा काम भइरहको अवस्थामा २०७२ वैशाखको भूकम्प, त्यसपछिको नाकाबन्दीले आयोजनाको काममा ब्रेक लागेको थियो । त्यसले २ वर्षपछि धकेलियो । खाडीचौरदेखि चरिकोटसम्मको सडक स्तरोन्नतिका क्रममासमेत सडक बिग्रँदा सामान ढुवानीका कारण आयोजना अहिलेसम्म पूरा हुन सकेको छैन । आयोजनामा मुख्य कामदार र प्राविधिकहरू चिनियाँ, इटालियन र भारतीय नागरिक रहेका छन् । तर उनीहरू कोरोनाको समस्या हुनु अघिदेखि नै निरन्तर आयोजनाको काममा नै रहेकोले समस्या नभएको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपाले जानकारी दिए । आयोजनामा ठेकेदार कम्पनीको काममा अहिलेसम्म समस्या नभए पनि परामर्शदाताको काममा भने केही समस्या देखिएको छ ।
कोरोना संक्रमणपछि परामर्शदाताहरू स्वदेश फर्केर युरोपबाटै आयोजनाको काम गरिरहेको बताए । आयोजनाको परामर्शदाता नर्वेको नरकन्सल्ट र जर्मनीको ल्याह्मेर जेभी रहेको छ । युरोपमा कोरोनाको प्रकोप फैलिएपछि पाइप जडानबाहेकका सबै परामर्शदाता स्वदेश फर्केका हुन् । भाइरसको प्रकोपपछि आयोजनाको परामर्श कम्पनीमा काम गर्ने विज्ञ, प्राविधिकहरूले अहिले आफ्नै घरबाट निर्देशन गरिरहेको आयोजनाले जनाएको छ ।
आयोजनामा उच्च प्रविधिको सिसी क्यामेरा जडान गरेकाले संसारको जुनसुकै ठाउँबाट समेत हेर्न मिल्छ । आयोजनाको बाँध, डिस्याण्डर र फुलासीमा निर्माणाधीन सबस्टेसनको काम सिसी क्यामेराको सहायताले इन्टरनेटका पहुँच भएको जुनसुकै ठाउँबाट समेत हेर्न मिल्छ ।
आयोजनाको कामको मुख्य समस्याको रूपमा रहेको पेन स्टक पाइप जडानमा ८० जना भारतीय वेल्डर रहेका छन् । भारतमा समेत कोरोनाको संक्रमण बढ्दै गएकाले उनीहरू पनि फर्कन घर फर्केमा काममा बाधा उत्पन्न हुनेमा आयोजना व्यवस्थापनको आशंका छ । आयोजनामा काम गर्ने सबै कामदार र कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्ने वातावरण बनाउन आयोजना उच्च नेतृत्व सबै आयोजनास्थलमै छन् ।
बाँधको परीक्षण भइरहेका बेला ऊर्जामन्त्री वर्षमान पुन, महिला तथा बालबालिका मन्त्री पार्वत गुरुङ, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, आयोजनामा अध्ययनदेखि आयोजना प्रमुख भएर काम गरी अहिले बाहिर रहेका मृगेन्द्रबहादुर श्रेष्ठलगायतले आयोजनाको भ्रमण गरेका छन् ।
आयोजनाको काम अहिलेसम्म ९९ दशमलव ४ प्रतिशत सकिएको र आगामी असारसम्ममा आयोजनाको काम पूरा गरी विद्युत् उत्पादन थाल्ने आयोजनाको लक्ष्य छ । आयोजनामा ६ वटा टर्बाइन रहेको र प्रत्येक टर्बाइनबाट ७६ मेगावाट विद्युत् उत्पादन हुने पनि प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए ।