कारोबार संवाददाता
मंगलबार, चैत्र ११, २०७६
538

काठमाडौं महानगरपालिका र खानेपानी मन्त्रालयअन्तर्गतको काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड) बीच महानगर क्षेत्र भित्र पाँच ठाउँमा वाटर एटीएम जडान गर्ने विषयमा सम्झौता भएको छ । आम मानिसलाई काठमाडौं महानगर क्षेत्रभित्रका केही सार्वजनिक स्थानहरुमा स्वच्छ र गुणस्तरीय पानी पिउने सुविधा प्रदान गर्नका लागि वाटर एटीएम जडान गर्ने विषयमा सम्झौता भएको हो ।
महानगरका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा महानगरकातर्फबाट प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र बोर्डकातर्फबाट कार्यकारी निर्देशक डा. सञ्जीव विक्रम राणाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार पहिलो चरणमा काठमाडौं महानगर क्षेत्र भित्रका धुम्बाराहीको शंखपार्क, स्वयम्भूको भुइँखेल, बालाजु पार्क, वडा नं. २८ को शंखधर पार्क र मीनभवनको ट्रलीबस सेवा भएको कम्पाउण्डमा वाटर एटिएम राखिनेछ । तीन वर्षका लागि भएको सम्झौता अनुसार महानगरपालिकाले वाटर एटीएम राख्ने स्थान उपलब्ध गराउने छ भने त्यसको सुरक्षा र बत्तीको पनि व्यवस्था महानगरपालिकाले नै गर्ने छ ।

यो सम्झौतासँगै अब महानगरवासीले प्रति २ सय मिलिलिटर पानीका लागि जम्मा एक रुपैयाँ तिरे पुग्नेछ । वाटर एटिएममै व्यवस्था गरेको कागजबाट निर्मित २ सय मिली लिटरको कप प्रयोग गर्न चाहेमा कपको छुट्टै एक लाग्ने बोर्डका कार्यकारी निर्देशक राणाले जानकारी दिनुभयो । उहाँका अनुसार कप प्रयोग नगरी आफ्नै बोटलमा पानी थाप्न चाहे प्रतिलिटर पानीको पाँच रुपैयाँ तिरे पुग्छ । यो सेवाले एक बोटल पानीको २०–२५ रुपैयाँ तिर्नु पर्ने बाध्यतामा पनि कमी आउनेछ ।
महानगरपालिकाले तोकेका स्थानमा बोर्डले ३ महिनाको सञ्चालन र मर्मत खर्चसहित प्रति एटीएम १५ लाख ८६ हजारको लागतमा पाँच वटा राख्ने छ । महानगर प्रमुख शाक्यले काठमाडौँमा पानीको हाहाकार भइरहेका बेला महानगरवासीलाई स्वच्छ र गुणस्तरीय पानी पिउने व्यवस्था गर्नका लागि यो प्रयासको थालनी गरेको बताए । “यो सेवालाई भोलिका दिनमा थप विस्तार गरेर ३२ वटै वडामा पु–याउने हाम्रो लक्ष्य छ । तपाईहरुले विश्वास दिलाएर काम गर्नुभयो भने हामी आगामी दिनमा थप सहकार्य गर्न तयार छौँ,” उनले भने ।

प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले यो सम्झौताले सर्वसाधारणदेखि विद्यार्थी र अन्यले स्वच्छ र गुणस्तरीय पानी पिउन पाउने अपेक्षा गरेको बताए । बोर्डका कार्यकारी निर्देशक राणाले उपत्यकाका १५ स्थानमा यस्ता मिसिन राख्ने योजना अनुसार नै पहिलो चरणमा काठमाडौं महानगर क्षेत्रभित्र पाँच स्थानमा राख्न लागेको बताए । “अहिले हरेक वाटर एटीएममा पाँच हजार लिटरको ट्यांकी राख्ने र मेलम्चीको पाइप जडानपछि सोझै त्यहाँको पानी राख्ने व्यवस्था गरिन छ,” उनले भने ।
“प्रविधिसँग सामिप्यता बढाउनका लागि पनि यस्तो कार्यक्रम ल्याएका हौँ,” उनले भने, “पर्यावरणीय हिसाबले पनि यो उपयुक्त छ । त्यति मात्र होइन कति पानी खर्च भयो, कति पैसा उठ्यो भन्नेसम्म हामीले थाहा पाउन सकिन्छ । त्यसैले यसलाई हामीले व्यापारको भन्दा पनि सेवाको हिसाबले सञ्चालनमा ल्याएका छौँ,” उनले भने ।