कारोबार संवाददाता
आइतवार, फाल्गुन २७, २०७४
819

नेपालका लागि जापानका राजदूत मासासी ओगावाले जापानले नेपाललाई लामो समयदेखि निरन्तर सामाजिक तथा आर्थिक विकासमा सहयोग गर्दै आएको र यस किसिमको सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने बताएका छन् । उनले नेपालमा शान्ति स्थापना, संविधान निर्माण र कार्यान्वयनमा जापानले उल्लेखनीय सहयोग गरेको र विभिन्न पूर्वाधार निर्माण एवं दिगो आर्थिक विकासमा नेपाललाई जापानको साथ रहने पनि बताए ।
नेपाल र जापानको सम्बन्ध अत्यन्त सुमधुर रहेको र यस किसिमको सम्बन्ध बनाउन नेपाल जाइका अलुम्नाई एसोसिएसन (जान) र यसका सदस्यहरूले आ–आफ्नो क्षेत्रबाट महत्वपूर्ण भूमिका निर्वाह गरेकाले धन्यवाद दिंदै राजदूत ओगावाले जानको ४४औं वार्षिक समारोहको उद्घाटनका क्रममा जानबाट प्रकाशित हुने वार्षिक प्रकाशन ‘मिलन’ को ४४औं अंकको समेत विमोचन गरे ।

सोही अवसरमा जाइका नेपालका प्रमुख जुन साकुुमाले जाइकाले नेपालको जनशक्ति विकासमा लामो समयदेखि सहयोग गर्दै आएको र यसलाई भविष्यमा पनि निरन्तरता दिने बताए । साथै उनले आफू विगत ३० वर्षदेखि जाइकामा आबद्घ रहँदै आएको, संसारभर रहेका एकसयभन्दा बढी जाइका अलुम्नाइहरूमा जान सबैभन्दा बढी सक्रिय रहेको र यसले नेपाल र जापानको सम्बन्धलाई बलियो बनाउन सराहनीय भूमिका निभाउँदै आएको पनि बताए ।
आफू दुई वर्ष अगाडि नेपाल आउँदा जाइकाको बारेमा अधिकांश सरकारी, गैरसरकारी संघसंस्थामा आबद्घ व्यक्तिहरू र सर्वसाधारणलाई समेत जानकारी भएको पाउँदा अचम्म लागेको र हाल आएर जानका विभिन्न क्षेत्रमा संलग्न सदस्यहरूका कारणबाट यो भएको रहेछ भन्ने कुरा बुझेको भन्दै उनले जानले नेपाल र जापानको बीचमा मैत्री पुल बनेर उल्लेखनीय काम गर्दै आएकोमा जानलाई धन्यवाद पनि दिए ।
जानका अध्यक्ष डा. रामचन्द्र भुसालले नेपाल जापान बीचको सम्बन्धलाई बलियो बनाउँदै नेपालको सामाजिक एवं आर्थिक विकासका लागि जापानी प्रविधिलाई नेपालमा भिœयाउन जानका सदस्यहरूले आ–आफ्नो क्षेत्रबाट महŒवपूर्ण योगदान पुराउँंदै आएको बताए । साथै, उनले नेपालको कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधर निर्माण आदि क्षेत्रमा जापानको सहयोगमा सञ्चालित आयोजनाहरू कार्यान्वयन गर्न विभिन्न संघसंस्थामा कार्यरत जानका सदस्यहरू नै संलग्न रहेको बताउँदै जापान सरकार र जापानी जनताले नेपालको विकासमा पुराउँंदै आएको सहयोगको लागि जानको तर्फबाट उनले जापानी राजदूतमार्फत धन्यवाद प्रकट गरे ।
जान जाइका मार्फत जापानमा अध्ययन तथा तालिमप्राप्त गरेका नेपालीहरूको साझा मञ्च हो । यसमा हाल एकहजार भन्दा बढी सदस्य छन् । सार्क जाइका अलुम्नाइहरूको छाता संगठन जाइका अलुम्नाइ एसोसियसन फोरम अफ सार्क कन्ट्रिज (जाफ्स) समेत गठन भएको छ । जाफ्सको अध्यक्षमा बंगलादेश र महासचिवमा जानका अध्यक्ष डा. रामचन्द्र भुसाल छन् । जाफ्सको सचिवालय बल्खुमा रहेको जानको भवनमा छ । हालै जाफ्स सचिवालयको उद्घाटन जाइका नेपालका प्रमुख जुन साकुमाले एक समारोहका बीच गरेका थिए ।