कारोबार संवाददाता
शुक्रवार, फाल्गुन ९, २०७६
784

विद्युत् राष्ट्रिय प्रसारण लाइन विस्तार
बैतडी- जिल्लाको दुर्गम तल्लोस्वराड क्षेत्रमा विद्युत् राष्ट्रिय प्रसारण लाइन पु-याउने काम शुरुआत गरिएको छ । मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकमो राष्ट्रिय प्रसारण पु-याउन काम सुरु भइसकेको नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाले जनाएको छ । पाटन र मेलौलीमा सवस्टेशन राख्ने र पाटनदेखि मेलौलीसम्म लाइन विस्तारको काम सुरु भइसकेको कार्यालयका प्रमुख सतिशकुमार कर्णले बताए ।

ती स्थानमा सवस्टेशन निर्माण गर्न आरके इन्टरनेशनल प्रालिसँग गत जेठ ७ गते एकवर्षभित्रमा निर्माण सम्पन्न गरिसक्ने लक्ष्य सहित ठेक्का सम्झौता भइ काम सुरु भएको छ । पाटनमा सवस्टेशनका लागि साढे ११ करोड र मेलौलीका लागि साढे १२ करोडमा ठेक्का सम्झौता भएको जनाइएको छ ।
यस्तै पाटनदेखि मेलौलीसम्म लाइन विस्तारका लागि एक वर्षभित्र सक्ने गरेर अमृत इन्द्रधनु जेभीसँग दुई करोड १४ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको प्रमुुख कर्णले जानकारी दिए । सम्झौताअनुसार पाटनदेखि मेलौलीसम्म लाइन विस्तारको काम पनि सुरु भइसकेको छ । जिल्लाको तल्लोस्वराड क्षेत्रलाई विद्युत्को राष्ट्रिय प्रसारणमा पहुँच पु-याउन सवस्टेशन निर्माण र लाइन विस्तारको काम सुरु भएको हो ।
यस्तै नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले पनि मेलौलीको सलेनासम्म यो वर्ष विद्युत् बाल्ने हिसाबले काम गरिरहेको विद्युत् प्राधिकरणका सुपरभाइजर माधवप्रसाद लेखकले जानकारी दिए ।