मीनकुमार नवोदित
शुक्रवार, फाल्गुन ९, २०७६
1428

 
• बैंकबाट ऋण लिएर गरेको लगानी जोखिममा परेको सञ्चालकको भनाइ
• सप्तकोसीमा सञ्चालित जेटबोट बन्द भएपछि यात्रुलाई सास्ती
• सुरक्षाको प्रबन्ध मिलाएर सञ्चालन गर्न माग 

सुनसरी-सुरक्षाको कारण देखाउँदै सप्तकोसी नदीमा सञ्चालित मिनी पानीजहाज (जेटबोट) बन्द भएपछि यात्रुहरू मारमा परेका छन् । दिनभरी हिंड्नुपर्ने पैदल तथा बसमा घण्टौं यात्रा गर्नुपर्ने अवस्थालाई जेटबोटले १५–२० मिनेटमा झारेको थियो । जेटबोट बन्द भएपछि विशेष गरी भोजपुर, धनकुटा र खोटाङका यात्रु सास्ती भोग्न बाध्य छन् । जेटबोट बन्द हुँदा पूर्वी पहाडी जिल्लाबासीलाई समस्या भएको भोजपुर जरायोटारका सन्दीप राईले गुनासो पोखे । छोटो समयको यात्रामै ओहोरदोहोर गर्न सकिने भएकाले स्थानीयलाई निकै सहज हुने गरेको थियो । तर असुरक्षा भएको भन्दै सञ्चालकले जेटबोट बन्द गरेपछि यात्रुहरू समस्यामा परेको उनको भनाइ छ । 
चतराघाटबाट चल्ने जेटबोट धनकुटाको त्रिवेणी, अरुण नदीको किनार सिम्ले, सुनकोसी नदीतर्फ चुवार, मचुवालगायत स्थानसम्मका स्थानीयको यातायातको साधन बनेको थियो । नेपालका विभिन्न ठाउँसँगै भारतका दार्जिलिङ, सिक्किमदेखि विभिन्न देशबाट जलयात्रा गर्न आउने पर्यटकको समेत आकर्षणको केन्द्र बनेको थियो । “जेटबोट बन्द हुँदा यात्रुलाई त समस्या भएकै छ । तर यसबाट नकारात्मक सन्देश पनि गएको छ,” शिक्षकसमेत रहेका राईले भने, “यस्तै हो भने अरु लगानी कसरी आउँछ ।”  सुन्तला, आलु, अम्लिसोलगायतका उत्पादन समेत जेटबोटबाटै तराईका बजार ल्याउने गरिएको थियो । जेटबोट सञ्चालनको वातावरण मिलाउन प्रशासनसँग धनकुटाका गणेश श्रेष्ठले माग गरे । अवरोध सिर्जना गर्नेलाई तत्काल कारबाही गर्नसमेत उनले माग गरे । सुरक्षाको प्रबन्ध मिलाएर पूर्ववत् अवस्थामा जेटबोट सञ्चालन गर्नुपर्नेमा श्रेष्ठले जोड दिए ।
 सञ्चालकहरूले भने असुरक्षा भएकाले अनिश्चितकालका लागि जेटबोट बन्द गराउनु परेको उल्लेख गरेका छन् । नदी किनारामा केही स्थानीयबासी भन्नेहरूले हुलहुज्जत गर्दै कमिशनको माग गर्ने गरेको, बिना टिकट यात्रा गर्ने गरेको, रोजगारी माग्ने गरेको र अनाधिकृत बुकिङलगायतका माग राखी जेटबोट सञ्चालनमा अवरोध सिर्जना गरेपछि बन्द गर्नुपरेको उनीहरूको भनाइ छ । केही ठाउँमा पर्यटकहरू बोकेको समयमा समेत स्थानीय केहीले रोकेर अवरोध पु-याएकाले जेटबोटको सेवा बन्द गर्नु परेको जेटबोटका सञ्चालक विमलमान श्रेष्ठले बताए । अहिले सप्तकोसी टुरिजम एण्ड वाटर ट्रान्सपोर्टेसन, वरुण वाटरवेज, बराहक्षेत्र मरिन एण्ड रिसोर्ट र बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा गरी चार कम्पनीका सप्तकोसीमा ६ वटा जेटबोट थिए ।
तर जेटबोट बन्द हुँदा दैनिक ५ सय यात्रु प्रभावित भएको उनको भनाइ छ । जेटबोटले तराई र पहाडको दूरी जलमार्गबाट घटाएर पर्यटनमा समेत टेवा दिँदै आएका थिए । खासगरी पूर्वी पहाडमा यात्रा गर्नुपर्ने यात्रुहरू तथा जलयात्राको मजा लिन चाहने पर्यटकहरू जेटबोट बन्द हुँदा निराश भएर फर्कने गरेका छन् । जेटबोटमा करोडौंको लगानी रहेको, यसले मुलुकको पर्यटन प्रवद्र्धनमा सेवा दिएको र स्थानीयलाई आवागमनमा सहज भए पनि असुरक्षाका कारण बन्द गर्नुपरेको सञ्चालकको भनाइ छ । सरकारबाट सुरक्षाको प्रत्याभूति नभएसम्म जेटबोट सञ्चालन गर्न नसकिने सञ्चलक राजेन्द्र कार्की बताउँछन् । सञ्चालक कार्कीले सप्तकोसीमा नदीमा तीन सिटका तीन, आठ सिटका दुई, ७० सिटको एक र १८ सिटको एक गरी सात पानीजहाज सञ्चालनमा दिए ।
एक यात्रु बराबर पाँच लाख रूपैयाँ बराबरको दुर्घटना बिमा रहेको छ ।बराहक्षेत्र जल यातायत तथा पर्यटन सेवा प्रालि, नेपाल रिभर ट्रान्सपोर्ट प्रालि, बराहक्षेत्र मरिन एण्ड रिर्सोट्स प्रालि र सप्तकोशी टुरिजम एण्ड वाटर ट्रान्सपोर्टेशन प्रालि गरी सात पानीजहाज सञ्चालन हुँदै आएको छ । जेटबोटबाट सुनसरीको चतराबाट भोजपुरको सीमाना सिम्मेसम्म सञ्चालन हुँदै आएको थियो । प्रशासनले सुरक्षा नदिएसम्म अब जेटबोट सञ्चालन गर्न नसकिने कार्कीको भनाइ छ । बैंकबाट महँगो ब्याजमा ऋण लिएर गरेको लगानी जोखिममा परेको उनले बताए ।