कारोबार संवाददाता
बिहिवार, फाल्गुन ८, २०७६
324

तुलसीपुर-दाङको तुलसीपुरस्थित हेमन्तपुर–टरिगाउँ सडकखण्डमा कालोपत्र गरेको ६ महिना नपुग्दै उप्किएको छ ।
कालोपत्र उप्किएपछि पूर्वाधार विकास कार्यालय दाङले सम्बन्धित निर्माण कम्पनीलाई सडक मर्मतका लागि पत्रसमेत पठाइसकेको जनाएको छ । “केही ठाउँमा कालोपत्र उप्किएको छ, उप्किएको ठाउँमा हामीले मर्मतका लागि पत्र पठाएका छौँ”, कार्यालय प्रमुख वासुदेव भण्डारीले भने, “जाडो मौसममा कालोपत्र गर्दा त्यो दिगो हुँदैन, पुनः उप्किहाल्छ, त्यसैले जाडो मौसम सकिएसँगै उनीहरूले काम सुरु गर्छन् ।”
उक्त सडकखण्डको साइपुर–जहदागाउँ खण्डमा यस्तो समस्या देखिएको छ । गएको आवको अन्तिमतिर सडकको कालोपत्र निर्माणको काम पूरा भएको हो । तर छ महिना नपुग्दै विभिन्न स्थानमा उप्किएको तथा चर्किएको छ । प्रदेश नं ५ सरकारको करिब दुई करोड २० लाख लागतमा उक्त सडकखण्डमा कालोपत्र गरिएको हो । हेमन्तपुर–मानपुर–टरिगाउँ सडकखण्डलाई तीन भागमा विभाजन गरेर कालोपत्र गरिएको थियो । फरक–फरक तीन निर्माण कम्पनीले उक्त सडकखण्डमा कालोपत्र गरेका थिए ।

तीमध्ये झरना निर्माण सेवाले कालोपत्र गरेको स्थानमा त्यस्तो समस्या देखिएको प्रमुख भण्डारीले बताए । उनका अनुसार सोही निर्माण कम्पनीलाई उप्केको तथा चर्किएको स्थानमा पुनः कालोपत्र गर्न पत्र गरिएको छ । कुनै पनि निर्माण कम्पनीले निर्माण पूरा गरेको एक वर्षसम्म बिग्रिएको, भत्किएको अवस्थामा पुनः मर्मत गर्नुपर्ने भन्दै सोहीअनुसार कम्पनीलाई मर्मतका लागि पत्र पठाइसकेको उनले बताए । “कुनै पनि निर्माण कम्पनीले निर्माण पूरा गरेको एक वर्षभित्र बिग्रियो, भत्कियो भने पुनःनिर्माण गरिदिनुपर्छ”, उनले भने, “अन्यथा उनीहरूको धरौटी जफत हुन्छ ।”