कारोबार संवाददाता
बिहिवार, फाल्गुन ८, २०७६
310

कालिकोट-असारे विकासको अन्त्य गर्न जिल्लाको नरहरिनाथ गाउँपालिकाले स्थानीय तहमा सञ्चालन भएका योजनाहरु समयमै सम्पन्न गर्न अनुगमनलाई कडाई गरेको छ । विकास आयोजना समयमै सक्न गाउँपालिकाले ठेकेदार तथा उपभोक्ता समितिलाई सचेत गराउने अभियान थालेको छ । विगतमा आर्थिक वर्षभित्र विकास आयोजना सक्न मुस्किल भएपछि विकास बजेट फिर्ता गएको भन्दै गाउँपालिकाले यस वर्ष सतर्कता र अनुगमन थालेको हो ।
गाउँपालिकाले चालू आर्थिक वर्षमा गाउँसभाबाट विनियोजन गरेका विकास योजनाको कार्यान्वयनलाई तीव्रता दिने र समयमै निर्माण सम्पन्न गर्न सम्बन्धित उपभोक्ता समिति, निर्माण व्यवसायी लगायतलाई सचेत गराउन थालेको हो । पालिकाभित्र सञ्चालित सडक, सिँचाइ, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानीलगायत पूर्वाधारतर्फका योजना तोकिएको समयभित्रै सक्नेगरी विभिन्न समिति र व्यवसायीलाई सचेत गराउन जनप्रतिनिधि र कर्मचारी खटिएका छन् ।
समितिमार्फत काम भइरहेको योजनाको उपभोक्ता समितिलाई सम्बन्धित स्थानमै पुगेर समयमै सक्न सचेत गराइएको गाउँपालिका अध्यक्ष धिरबहादुर विस्टले बताए । “समितिले काम गर्न समस्या भए त्यसको कारण खोज्नसमेत लागेका छौं,” विस्टले भने, “समयमै काम नसक्दा एकातिर विकासमा पछि पर्ने, अर्कोतिर बजेट फिर्ता हुने र अर्को वर्ष त्यही योजनालाई बजेट नपर्ने हुन्छ ।” विकासका काम जति छिटो सक्यो उति बजेट बढ्ने भएकोले यो वर्ष सतर्कता अपनाइएको उनले बताए ।
प्रमुख प्रशासकीय अधिकृत लालबहादुर मल्लका अनुसार गाउँसभाबाट विनियोजन भएका एक सय पचास योजना मध्ये हालसम्म करिब एक सय योजनाको उपभोक्ता समिति गठन गरेर सम्झौता भइसकेको छ । सम्झौता भएकामध्ये २५ वटा योजनाको काम सम्पन्न भइसकेको छ  भने ११० भन्दा बढी योजना कार्यान्वनयको चरणमा छन् । विनियोजन भएकामा एक सय बढि सम्झौता भएर ८० वटा कार्यान्वयनको चरणमा छन् । ठूला योजनामध्ये एउटा सम्पन्न भइसकेको छ  भने पाँचदेखि १० लाख बजेटसम्मका ३० योजना छन् । तीमध्ये २३ वटा योजनाको सम्झौता भएर काम अघि बढेको छ । अरु १९ योजना कार्यान्वयनका लागि सम्झौता भएका छन् ।
प्रदेश र संघमार्फत आएका ठूला योजनाहरु ढिलो आएकाले ती योजनाहरु पनि समयमै सम्पन्न गर्ने अध्यक्ष मल्लले बताए । “हामीले गाउँपालिकाले ७५ लाख भन्दा तलका योजनाहरु उपभोक्ता मार्फत निर्माण गर्ने जिम्मा दिएका छौँ” उनले भने ।
सम्झौता भएका मझौला योजनामध्ये चारवटा सम्पन्न भइसकेको गाउँपालिकाका प्रवक्ता एवं वडा ५ का अध्यक्ष गगनबहादुर फडेराले बताए । “विगतमा समयमा काम नसकेर केही योजनाको पैसा फिर्ता भयो,” उनले भने, “त्यही भएर यो वर्ष कडाइ गरिएको छ ।”
वडाबाट सिफारिस भएका योजनाको अनुगमन तथा सुपरिवेक्षणको जिम्मा सम्बन्धित वडाध्यक्षलाई दिइएको छ । त्यस्तै गाउँसभाबाट विनियोजन भएका योजनाहरूको अनुगमन गर्न अध्यक्ष, उपाध्यक्ष तथा आवश्यकताअनुसार कार्यपालिका सदस्य समेत खट्ने गरेका छन् । असारे विकासलाई नियन्त्रण गर्नेगरी योजना कार्यान्वयनलाई अहिलेदेखि प्राथमिकतामा राखेको वडा अध्यक्ष फडेराले बताए ।

 

किरण अधिकारी