कारोबार संवाददाता
बिहिवार, फाल्गुन ८, २०७६
686

लमजुङमा निर्माणाधिन २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाले सर्वसाधरणका लागि सेयर निष्काशनको तयारीमा गरेको छ । आगामी चैत्र महिनामा विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको उक्त आयोजनाले प्रभावित क्षेत्र र जिल्लाबासीका लागि सेयर निष्काशनको तयारी गरेको हो ।
आयोजना प्रवद्र्धक कम्पनी लिवर्टी इनर्जी लिमिटेडले फागुन महिनाभित्रै सेयर निष्काशनको तयारी गरेको आयोजना सञ्चालक राजेन्द्र वस्तीले बताए । जिल्ला भित्रै १५ करोड रकम बरावरको सेयर जारी गर्न लागेको सञ्चालक वस्तीले बताए । जिल्ला भित्र पनि अति प्रभावित क्षेत्रका लागि पाँच करोड, सामान्य प्रभावितका लागी अर्को पाँच करोड र त्यो बाहेक जिल्लाबासीका लागि थप पाँच करोड गरी १५ करोड रुपैयाको सेयर आह्वानको तयारी रहेको छ ।

कम्पनीको प्रवन्ध पत्रमा उल्लेख गरिए बमोजिम संस्थापक सेयर धनीहरुलाई ‘क’ वर्ग र सर्वसाधारण सेयर धनीहरुलाई ‘ख’ वर्गमा विभाजन गरेको छ । ‘ख’ वर्गको सेयरमा आयोजना प्रभावित जिल्लाबासी, स्थानीय सर्वसाधारण, कर्मचारी र अन्य सर्वसाधारणहरु रहेको कम्पनीले जनाएको छ । जसमध्ये ७५ प्रतिशत सेयर ‘क’ वर्गका संस्थापक सेयरधनी तथा २५ प्रतिशत ‘ख’ वर्गका सर्वसाधरण भनि विभाजन गरेको छ ।
जारी पुँजीमध्ये १० प्रतिशत आयोजना प्रभावित क्षेत्रका लागि छुट्याएको छ । उद्योग प्रभावित क्षेत्रमा निष्काशन गर्दा उक्त कम्पनीको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन बमोजिम अति प्रभावित क्षेत्र दोर्दी गाउँपालिकाको वडा नम्बर ६ र ७ (साविक ढोडेनी र फलेनी गाविस) रहेको छ ।
कम्पनीले स्थानीयलाई छुट्याएको ३३.३३ प्रतिशत मध्ये पाँचलाख कित्ता अति प्रभावित, दोर्दी गाउँपालिकाको बाँकी वडाहरु र बेसीशहर नगरपालिका वडा नम्वर ११ (साविक चिती गाविस) का स्थानीयका लागि पाँच लाख कित्ता र सो बाहेक जिल्लाबासीका लागि अर्को पाँचलाख कित्ता सेयर निष्काशन गरी बाडफाँडको तयारी गरेको कम्पनीले जनाएको छ ।
कम्पनीले छुट्याएको क्षेत्रमध्ये अति प्रभावित क्षेत्रबाट माग बमोजिम दरखास्त प्राप्त नभएमा बेसीशहर–११ र दोर्दी गाउँपालकिाको बाँकी वडाबासी र सो क्षेत्रबाट पनि माग बमोजिम दरखास्त प्राप्त नभएमा सम्पूर्ण जिल्लाबासीहरुमा सेयर बाँडफाँड गर्ने तयारी गरेको छ ।
धितोपत्र दर्ता तथा निष्काशन नियमावलीमा भएको व्यवस्था बमोजिम आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई छुट्याएको जारी पुँजी मध्येको १० प्रतिशत साधरण सेयर निष्काशन तथा बिक्री गरी बाँडफाट गरे पश्चात मात्र सर्वसाधरणका लागि छुट्याएको जारी पुँजी मध्येको १५ प्रतिशत साधारण सेयरहरु सार्वजनिक गरीने कम्पनीले जनाएको छ ।
कम्पनीले आईपीओ निष्काशनका लागि गत बैशाख १६ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो । कम्पनीले ३७ लाख ५० हजार कित्ता आईपीओ निष्काशनको माग गर्दै बोर्डमा आवेदन दिएको हो । कम्पनीले जारी गर्न लागेको आईपीओको बिक्री प्रबन्धक तथा सेयर निष्काशनको जिम्मा एनआईबिएल एस क्यापिटललाई दिएको जनाएको छ ।
२०७१ असोजबाट निर्माण थालिएको सो आयोजना आगामी चैत्र मसान्तसम्म व्यावसायिक विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम अघि बढाइएको आयोजनाले जनाएको हो ।
लिवर्टी इनर्जी हाइड्रोपावरद्धारा प्रर्वद्धित लमजुङको दोर्दी गाउँपालिका–६, ढोडेनीमा निर्माणाधिन आयोजना निर्माणको अन्तिम चरणमा पुगेको प्रर्वद्धित कम्पनीले जनाएको हो । बाँध क्षेत्र निर्माण, पावर हाउस, इलेक्ट्रोमेकनिकल लगायतको काम अन्तिम चरणमा पुगेको आयोजनामा हालसम्म ९६ प्रतिशत काम सम्पन्न भइसकेको छ ।
रन अफ रिभर प्रविधिमा बनेको सो आयोजनाको चार अर्ब ६३ करोड भन्दा बढी रकम लागत रहेको छ । १२.५ मेगावाट क्षमताका दुईवटा पेल्टन टर्बाइन रहको यस आयोजनामा हिउँदको समयमा आठ रुपैयाँ ४० पैसा र वर्षाको समयमा चार रुपैयाँ ८० पैसा रहनेगरी प्रबद्र्धक कम्पनी लिवर्टी र विद्युत् प्राधिकरणबीच विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) भएको छ । आयोजनासँगै विद्युत् प्राधिकरणले राष्ट्रिय विद्युत् प्रसारण लाइनको काम पनि तीव्र गतिमा गर्दै रहेकोले उत्पादित विद्युत् खेर नजाने आयोजनाको दावी छ ।
आयोजनाको लागतप्रति मेगावाट १८ करोड ५४ लाख रुपैयाँ लाग्ने कम्पनीको अनुमान छ । आयोजनाबाट वार्षिक १३ करोड ६७ लाख ८४ हजार युनिट बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ ।

सन्देश पौडेल