कारोबार संवाददाता
बुधवार, फाल्गुन ७, २०७६
448

दमौली-तनहुँको व्यास नगरपालिकाले प्लास्टिकजन्य वस्तु न्यूनीकरणका लागि प्लास्टिक झोलामुक्त सहर अभियान थालेको छ ।
नगर क्षेत्रमा जनघनत्व बढेसँगै सरसफाइको चुनौती थपिएको भन्दै नगरपालिकाले यही फागुन १ गतेदेखि लागू हुने गरी प्लास्टिक झोलामुक्त नगर अभियान थालेको हो । प्लास्टिक झोलाको बढ्दो प्रयोगले वातावरणमा वायु प्रदूषण बढदै गएको र माटोको उर्वर शक्तिमा समेत हानि पु-याएकाले प्लास्टिकमुक्त अभियान सुरु गरिएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए

धार्मिक पर्यटकीय क्षेत्रको रूपमा पहिचान स्थापित गराउँदै गरेको दमौली बजार र आसपासका क्षेत्रमा प्लास्टिकजन्य फोहर मैलाले सरहको सुन्दरता बिग्रँदै गएकाले प्लास्टिक झोलामुक्त सहर अभियान थालनी गरेको सरसफाइ शाखा प्रमुख भाग्यशाली ढुंगानाले जानकारी दिए । विशेषतः नगरपालिकाले रोट-याक्ट क्लब अफ दमौलीसँग सहकार्य गरेको छ भने व्यवसायी, उद्योग वाणिज्य संघ र नगरभित्रका विभिन्न संघसंस्थाको पनि सहयोग रहेको छ । अभियानको सुरुवाती दिनमा नगरबासीमा प्लास्टिकजन्य सामग्रीको प्रयोग मानवीय स्वास्थ्य, वातावरण र नगरको सौन्दर्यका लागि हानिकारक छ भन्ने जनचेतना जगाउन उनीहरूसँग निरन्तर अन्तरक्रिया र छलफल गरिएको र विभिन्न माध्यमबाट सूचित पार्ने काम भइरहेको ढुंगानाले बताए । पहिलो चरणमा नगरभित्रका १ देखि ५ सम्मका वडामा काम गरिने र क्रमिक रूपमा १४ वटै वडामा अभियान सञ्चालन गरिनेछ । अभियान सुरु भएसँगै बजार क्षेत्रमा प्लास्टिक झोला बिक्री वितरणमा र प्रयोगलाई बन्द गरी विकल्पमा फाइबर र कपडाका झोलाको बिक्री र प्रयोगलाई प्रवद्र्धन गरिएको छ ।
पहिलो चरणमा प्लास्टिक झोलाको प्रयोग बन्द गराउने र दोस्रो चरणमा प्लास्टिकका प्लेट र कपको बिक्री वितरण नगर्न नगराउन रोक्ने रोट-याक्ट क्लबका अध्यक्ष मनोज राउतले बताए । नगरभित्रका टोलविकास संस्था, सहकारी, युवा क्लब, आमा समूहले पनि यो अभियानलाई सकारात्मक मानेर साथ दिएका छन् । मासु व्यवसायीलाई भने एउटा मात्र प्लास्टिक प्रयोग गर्न आउने गरी व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।
साथै नगर क्षेत्रलाई पैदलयात्रीमैत्री बनाउन नगरपालिकाले फुटपाथ व्यवस्थापन अभियानसमेत थालेको छ । फुटपाथ व्यवस्थापनका लागि नेपाल स्वरोजगार व्यवसायी संघसँग समन्वय गरी वैकल्पिक व्यवस्था गरिएको छ । फुटपाथ व्यवसायीका लागि व्यास–३ मा १२ वटा निःशुल्क स्टल र व्यास–३ उत्तरशिला लाइनमा शुल्कसहित १ सयभन्दा बढी वटा व्यावसायिक स्टलको व्यवस्था गरेको छ ।
नगरपालिकाले अब छिट्टै अनुगमन सुरु गरी अटेर गर्ने व्यापारीलाई निर्देशिका अनुसार कारबाही गर्ने र आगामी वर्षसम्म नगरलाई पूर्ण प्लास्टिक झोलामुक्त बनाउने नगरपालिकाले जानकारी दिएको छ । नगरपालिकाको यो अभियानसँगै कपडा र फाइबर झोला बनाउनेहरुको संख्यामा वृद्धि भएको छ । नगरपालिकाले २९ जनालाई तालिम दिई कपडाको झोला बनाउने काम सुरु गरेको छ । व्यास नगरपालिकाले ०७५ माघदेखि कुहिने र नकुहिने फोहर वर्गीकरण गरी फोहर मैला व्यवस्थापन गर्दै आएको छ ।