कारोबार संवाददाता
बुधवार, फाल्गुन ७, २०७६
1037

भारतको रुड्कीस्थित केन्द्रीय भवन अनुसन्धान संस्थानले नेपालमा भूकम्प पश्चात विद्यालय एवम् अन्य शैक्षिक संरचनाको पुनर्निर्माण सम्बन्धमा एक कार्यशालाको आयोजना गरेको छ । नेपाल सरकार केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) सँगको सहकार्यमा कार्यशाला आयोजना गरिएको काठमाडौंस्थित भारतीय राजदूतावासले जनाएको छ ।
कार्यशालामा नेपाल सरकार केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) र जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) का अधिकारीहरु, ठेकेदारहरु, साइट इन्जिनियरहरु लगायत सरोकारवाला सहभागी थिए ।

निर्माणमा उत्कृष्ट गुणस्तर प्राप्त गर्नका लागि परियोजना कार्यान्वयन निर्देशन, उत्तम निर्माण अभ्यास, अनुगमन तथा रिर्पोटिङ्ग जस्ता पक्षहरु समेट्दै परियोजनाको प्रभावकारी कार्यान्वयन गर्न कार्यशाला आयोजना गरिएको हो ।
परियोजनाका पूर्व निर्माण, निर्माण र निर्माण पश्चातका सबै चरणहरुमा सुरुदेखि अन्तिमसम्म निर्माण व्यवस्थापनमा उत्कृष्ट अभ्यास प्रदान गर्ने कार्यशालाको उद्देश्य रहेको थियो । केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) का आयोजना निर्देशक चूडामणि पौडेल, उप–आयोजना निर्देशक दिलिप शेखर श्रेष्ठ, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण एवम् भारतीय राजदूतावासका वरिष्ठ अधिकारीकोे कार्यक्रममा उपस्थित थिए ।
शिक्षा क्षेत्रमा भूकम्प पश्चातको सहायताअनुरुप भारत सरकारले ७० वटा विद्यालय तथा एक पुस्तकालयको पुनर्निर्माणमा सहयोग पु¥याइरहेको छ । केन्द्रीय भवन अनुसन्धान संस्थान, रुड्कीले गोरखा, नुवाकोट, धादिङ्ग, दोलखा, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोकमा ७० वटा उच्च माध्यमिक विद्यालयको पुनर्निर्माण गरेको छ ।