कारोबार संवाददाता
बुधवार, फाल्गुन ७, २०७६
781

लमजुङमा निर्माणाधिन २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । २०७१ असोजबाट निर्माण थालिएको सो आयोजना आगामी चैत्र मसान्तसम्म व्यवसायिक विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको हो ।
लिवर्टी इनर्जी हाइड्रोपावरद्धारा प्रर्वद्धित लमजुङको दोर्दी गाउँपालिका–६, ढोडेनीमा निर्माणाधिन सो आयोजना निर्माणको अन्तिम चरणमा पुगेको प्रर्वद्धित कम्पनीले जनाएको हो । बाँधक्षेत्र निर्माण, पावर हाउस, इलेक्ट्रोमेकनिकल लगायतको काम अन्तिम चरणमा पुगेको सो आयोजनामा हालसम्म ९६ प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाका इन्जिनियर सुरेश जोशीले बताए ।

“आयोजनाको निर्माण कार्य लगभग सकिएको छ” जोशीले भने, “विद्युत् गृहमा उपकरण जडान गर्ने लगायत सिभिल निमार्णका केही कामहरु मात्रै बाँकी छन् ।”
आयोजनाको बाँधस्थल लोदो खोलाबाट २७ सय मिटर लामो भूमिगत सुरुङ र २७ सय मिटर लामो पेनस्टक पाइपमार्फत दोर्दी खोलाको पानीलाई विद्युत् गृहमा पु-याइ विद्युत् उत्पादनको तयारी गरीएको छ ।
२०७४ सालमै निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको सो आयोजना विनासकारी भूकम्पपछिको अघोषित नाकाबन्दी र गत भदौमा आएको बाढीका कारण निर्माण अवधि लम्बिएको आयोजनाले जनाएको छ । यद्यपी संरचना निर्माणका काम सम्पन्न भइसकेकोले आगामी चैत्र मसान्तसम्म व्यावसायिक विद्युत् उत्पादन गरिसक्ने प्रवद्र्धक राजेन्द्र वस्तीले बताए ।
“आयोजना निर्माणको क्रममा हामी केहि ढिला भएका छौँ” प्रवद्र्धक वस्तीले भने, “विनासकारी भूकम्प र गत भदौको बाढीका कारण आयोजना निर्माणमा ढिलाई भएको हो ।”
रन अफ् रिभर प्रविधिमा बनेको सो आयोजनाको चार अर्ब ६३ करोड भन्दा बढी रकम लागत रहेको छ । १२ दशमलव पाँच मेगावाट क्षमताका दुईवटा पेल्टन टर्बाइन रहको यस आयोजनामा हिउँदको समयमा आठ रुपैयाँ ४० पैसा र वर्षायाममा चार रुपैयाँ ८० पैसा रहनेगरी प्रवद्र्धक कम्पनी लिवर्टी र विद्युत् प्राधिकरणबीच विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) भएको छ । आयोजनासँगै विद्युत् प्राधिकरणले राष्ट्रिय विद्युत् प्रशारण लाइनको काम पनि तीव्र गतिमा गर्दै रहेकोले उत्पादित विद्युत् खेर नजाने आयोजनाको दावी छ ।
आयोजनाको लागत प्रतिमेगावाट १८ करोड ५४ लाख रुपैयाँ लाग्ने कम्पनीको अनुमान छ । आयोजनाबाट वार्षिक १३ करोड ६७ लाख ८४ हजार युनिट बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ । कम्पनीले आईपीओ निष्काशनको लागि गत बैशाख १६ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो । कम्पनीले ३७ लाख ५० हजार कित्ता आईपीओ निष्काशनको माग गर्दै बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले जारी पुँजीको २५ प्रतिशत सर्वसाधारणहरुलाई प्राथमिक शेयर निष्काशन गर्ने पनि तयारी गरेको छ । त्यसमध्ये आयोजना प्रभावित स्थानीयबासीलाई १० र सर्वसाधारणलाई १५ प्रतिशत आईपीओ निष्काशन गर्ने तयारी गरेको प्रवद्र्धक वस्तीले बताए । कम्पनीले जारी गर्न लागेको आईपिओको बिक्री प्रबन्धक तथा शेयर निष्काशनको जिम्मा एनआईबिएल एस क्यापिटललाई दिएको जनाएको छ ।
लिवर्टी कम्पनीले बागलुङस्थित बडीगाड खोलामा २४ दशमलव ६ मेगावाट क्षमताको बडिगाड खोला जलविद्युत् आयोजना र लमजुङस्थित लोदोखोलाबाट १.०६ मेगावाट क्षमताको लोदो खोला साना जलविद्युत् आयोजना पनि निमार्ण गर्ने तयारी गरेको छ ।

सन्देश पौडेल