कारोबार संवाददाता
मंगलबार, फाल्गुन ६, २०७६
310

सिन्धुपाल्चोक-तामाङ समुदायको बाहुल्य रहेको भोटेकोसी गाउँपालिका–५ मार्मिङमा एकै साथ ११ एकीकृत नमुना बस्ती बन्ने भएको छ । भूकम्पपछिको पुनर्निर्माणसँगै स्थानीय कला, संस्कृतिलाई समेट्दै एकै वडामा ११ बस्ती बन्ने भएको हो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन)का अनुसार स्थानीय संघ संस्थाको साझेदारीमा बन्न लागेको सबै बस्तीको निर्माण प्रक्रिया तयारी सकिएको छ । जिल्लैभर बन्न लागेको र सम्पन्नपछि समुदायलाई हस्तान्तरण गरिएको २६ मध्ये ११ वटा बस्ती एउटै वडामा बन्न लागेको हो ।

तथ्यांकअनुसार एक सय तीन वडा र १२ स्थानीय तह रहेको सिन्धुपाल्चोकमा पाँच वटा स्थानीय तहमा बस्ती निर्मार्णाधीन छ । तीमध्ये केही बस्ती हस्तान्तरण भइसकेको जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन)ले जनाएको छ । इकाईका नायब सुब्बा कृष्ण ज्ञवालीका अनुसार भोटेकोसी गाउँपालिका–५ मा बन्नेबाहेक यो स्थानीय तहमा कतै पनि बस्ती बन्ने छैन । “भोटेकोसीमा ११, मेलम्ची नगरपालिकामा ८, इन्द्रावती गाउँपालिकामा ३, हेलम्बुमा २ र चौतारा साँगाचोकगढी नगरपालिकामा २ वटा एकीकृत बस्ती बन्ने छन्,” ज्ञवालीले भने । लहरै उस्तै रंगमा, एकै मोडलका आकर्षक घरहरू बन्ने भएपछि स्थानीयले एकीकृत बस्ती बसाल्न थालेका हुन् । पूर्वाधार निर्माणमा सहज र आकर्षकसमेत देखिने भएपछि पर्यटन प्रवद्र्धनमा जोड दिने गरी बस्ती निर्माणको थालनी गरिएको हो ।
जिल्लाभर एक हजार एक सय ७७ परिवार एकीकृत बस्तीमा समेटिएको तथ्यांक छ । ११ बस्ती बन्ने मार्मिङमा मात्रै तीन सय ६० परिवार एकीकृत बस्तीमा समेटिएका छन् । यहाँ १० परिवारदेखि एक सय ७४ परिवार एकै बस्तीमा बस्दैछन् । मार्मिङको ट्याङ्थली गाउँमा बन्ने बस्तीमा सबैभन्दा बढी एक सय ७४ परिवार बस्नेछन् । मार्मिङमा बन्ने एकीकृत बस्तीलाई स्थानीय समृद्ध नेपाल नामक संस्थाले अगुवाइ गरिरहेको छ । धुर्मस–सुन्तली फाउण्डेसनको अगुवाइमा मेलम्ची नगरपालिकास्थित गिरानचौरबाट सुरु भएको एकीकृत बस्ती अहिले जिल्लैभर विस्तार भएको छ । विभिन्न अन्तर्राष्ट्रिय संस्थाको सहयोगमा स्थानीय सामाजिक संस्था जनहित ग्रामीण सेवा समिति, महिला आत्मनिर्भरता केन्द्र (मांक) लगायतका संस्थाले अगुवाइ गरिरहेका छन् ।
एकीकृत बस्ती निर्माणमा अन्यको तुलनामा सहज हुने भएपछि स्थानीय पनि एउटै बस्तीमा मिलेर बस्न चाहेकाले एउटै गाउँमा ११ नमुना बस्ती बन्न लागेको समृद्ध नेपालका अध्यक्ष कुमार राउत बताउँछन् । “बस्ती निर्माणसँगै जीविकोपार्जनसहित पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने गरी बस्ती निर्माण गर्ने योजना छ,” उनले भने, “बस्तीमा सातै प्रदेशमा झल्कने कला, संस्कृतिको पहिचान गरी प्रदर्शन गरिनेछ ।” उनले अरनिको तिब्बत जाने बेला बास बसेको यो गाउँमा अरनिको प्रवेशद्वार र अरनिको पाहुना घर निर्माणको प्रक्रिया सुरु भइसकेको जानकारी दिए ।
“भोटेकोसी गाउँपालिकाको अन्य स्थानमा एकीकृत बस्ती बसाल्न योग्य जमिन छैन,” जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन)का नायब सुब्बा कृष्ण ज्ञवालीले भने, “अहिले बस्ती बसाल्न लागिएको स्थान समथर भएकै कारण स्थानीयले पनि एकीकृत बस्ती नै चाहेका हुन् ।” जिल्लाको विकट स्थानीय तहमध्ये भोटेकोसी पनि एक हो । भीर, पाखाले यहाँको भूगोललाई एकीकृत बस्ती बसाल्नबाट रोकेको हो ।
एकीकृत बस्ती निर्माणपछि प्राधिकरणले पूर्वाधार निर्माणमा प्रतिघर तीन लाखका दरले अनुदान दिने गरेको छ । स्थानीयको अगुवाइ र सहयोगमा साझेदार संस्थाले बस्ती निर्माण गर्ने गरेका हुन् । चौतारा साँगाचोकगढी नगरपालिकास्थित झ्ँयाडीमा श्वेता श्री फाउण्डेसनको अगुवाइमा बनेको एकीकृत बस्तीमा पनि स्थानीयले श्रमदान गरेका थिए । जिल्लामै पहिलोचोटी बनेको गिरानचौर, हेलम्बुको तेम्बाथान, सेलाङको बाँसखर्क, इन्द्रावती गाउँपालिकास्थित बाँडेगाउँमा पनि स्थानीयको श्रम सहयोगबाट बस्ती निर्माण भएको हो ।
स्थानीयको सक्रियतामा साझेदारी गर्ने सामाजिक संस्थाले सहजीकरण गर्दा बस्ती निर्माणमा सहज हुने जनहित ग्रामीण सेवा समितिका कार्यकारी निर्देशक राजेन्द्र शर्मा बताउँछन् । जनहितले हेलम्बुको तेम्बाथान, जुगलको सेलाङलगायत ठाउँमा एकीकृत बस्ती निर्माणमा सहजीकरण गरेको थियो । हेलम्बुमा बनेको बस्तीमा ह्योल्मो जातिको कला, संस्कृति झल्कने आवास निर्माण गरिएको छ । हरेक ठाउँमा भएका एकीकृत बस्तीको विशेषता पनि फरक भएकाले बस्ती निर्माणले पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउने बस्ती निर्माणका अभियन्ताको विश्वास छ ।

किशोर बुढाथोकी