कारोबार संवाददाता
सोमवार, फाल्गुन ५, २०७६
277

तीन ठूला सडक बहुवर्षीय योजनामा लगिँदै


धनगढी-भौतिक पूर्वाधार विकास कार्यालयले कैलाली जिल्लामा ४६ करोडमा सडक र पुलका ९० वटा योजना अगाडि बढाएको छ ।
सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको कार्यालयले ६६ वटा सडक, दुई वटा मोटरेवल पुल, आठ वटा झोलुङ्गे पुल र बाँकी गत वर्षका क्रमागत योजनाहरु कार्यान्वयन गरिरहेको हो । कुल बजेटमध्ये हालसम्म नौ करोड रुपैयाँ खर्च भएको भौतिक पूर्वाधार विकास कार्यालय कैलालीका प्रमुख सिनियर डिभिजनल ईन्जिनियर श्यामबहादुर खड्काले बताए । उनले करिव २० प्रतिशत बजेट खर्च भएको बताउँदै आर्थिक प्रगति कम भएपनि भौतिक प्रगति लक्ष्य भन्दा बढि भएको बताए ।
उनले अब १३ वटा योजनाहरुको मात्रै ठेक्का आह्वान गर्न बाँकी रहेको जनाए । उनले जग्गा विवाद र नाम संशोधन गर्नुपर्ने भएकाले ती योजनाहरुको ठेक्का आह्वान गर्न ढिलाइ भएको बताए ।
तर, कतिपय योजनाका समस्या समाधान भएर ठेक्का आह्वान गर्ने तयारी भइरहेको उनले बताए । उनले २० वटा योजनाहरुको ठेक्का स्वीकृत गरी ठेकदारसँग सम्झौताको क्रममा रहेको बताए । उनले १५ वटा योजनाको ठेक्का आह्वान भएको र कतिपय योजनाको ठेक्का स्वीकृतिको क्रममा रहेको बताए ।
कार्यालय प्रखुम खड्काका अनुसार कार्यालयले चालु आर्थिक वर्षमा बजेट विनियोजन भएकामध्ये अधिकांश योजनाहरु निर्माण भइरहेका छन् । उनले कतिपय योजनाहरुको ठेक्का सम्झौता भइ हालसालै काम सुरु भएको बताए । उनले ६६ वटा सडकका योजनाहरु मध्ये ६ वटा योजनाहरु निर्माण कार्य सम्पन्न भई भुक्तानी गर्ने चरणमा रहेको जनाए ।
यसैगरी, कार्यालयले कैलालीको तीन ठूला सडकलाई बहुवर्षीय योजना बनाएर निर्माण गर्ने भएको छ । १० किलोमिटरको भजनी–सुख्खड, पाँच किलोमिटरको चौमाला–बेहडाबाबा र साढे तीन किलोमिटरको गुलरा–प्रतापपुर सडकलाई योजना बहुवर्षीय योजनाको रुपमा अगाडि बढाउने तयारी भएको कार्यालय प्रमुख खड्काले बताए ।
उनले गुलरा–प्रतापपुर सडक लामो भएपनि कालोपत्रे गर्न बाँकी रहेको भागमा मात्र पिच गरिने जनाए । त्यसैगरी चौमाला–बेहडाबाबा सडकलाई हुलाकी सडकसम्म विस्तार गर्ने योजना रहेको बताए ।

प्राविधिक कर्मचारीको अभाव
प्रदेश सरकारका सबै मन्त्रालय र मातहतका कार्यालयहरुमा करिब १० हजार कर्मचारी अभाव भइरहेको बेला भौतिक पूर्वाधार विकास कार्यालय कैलाली पनि यसबाट अछुतो छैन । योजनाहरु धेरै भएपनि दरबन्दी अनुसार प्राविधिक कर्मचारी नभएकाले योजना अगाडि बढाउन समस्या भएको छ । कार्यालय प्रमुख खड्काका अनुसार कार्यालयमा चार जना ईन्जिनियर र ६ जना सवईन्जिनियरको दरबन्दी रहेपनि एक जना मात्रै ईन्जिनियर र चार जना सवईन्जिनियर कार्यरत छन् । तीन जना ईन्जिनियर र दुई जना सवईन्जिनियरको दरबन्दी रिक्त छ ।

कामको बढ्दो चाप
भौतिक पूर्वाधार विकास कार्यालय कैलालीले आफ्नो सम्पूर्ण वार्षिक कार्यक्रमहरु कार्यान्वयनमा ल्याउन नपाउँदै प्रदेश पूर्वाधार विकास कार्यक्रम (संसद् कोष) का योजनाहरु पनि थपिएका छन् । कार्यक्राय प्रमुख खड्काले ६८ वटा प्रदेश पूर्वाधार विकास कार्यक्रमका योजना थपिएको बताए ।
यद्दपी, संघीय पूर्वाधार विकास कार्यक्रमहरु भने स्थानीय तहले कार्यान्वयन गरिरहेका छन् भने प्रदेशको पूर्वाधार विकास कार्यक्रम प्रदेशका सम्बन्धित कार्यालय अगाडि बढाउने गरी कार्यविधि तय भएको छ ।
कार्यालय प्रमुख खड्काले ती कार्यक्रमहरु २० लाख रुपैयाँ भन्दा कमको रहेको हुनाले स्थानीय तहमार्फत् कार्यान्वयन गर्दा प्रभावकारी कार्यान्वयन र अनुगमन हुन सक्ने बताए ।