कारोबार संवाददाता
आइतवार, फाल्गुन ४, २०७६
319

पोखरा- गण्डकी प्रदेश सरकारले चालू आवको ७ महिनामा १९ प्रतिशतमात्र बजेट खर्च गर्न सफल भएको छ । प्रदेश सरकारले चालू आवको माघ मसान्तसम्ममा १९ प्रतिशतले ६ अर्ब ११ करोड ६१ लाख २९ हजार १ सय ३० रुपैयाँ खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय पोखराले जनाएको छ ।
सबैभन्दा धेरै प्रदेश नीतिले खर्च गरेको छ । प्रदेश नीतिले ७ महिनामा ५७ प्रतिशतले २ करोड ३२ लाख ५६ हजार ३ सय ५५ रुपैयाँ खर्च गर्न सफल भएको छ । त्यस्तै प्रदेश सभाले ७ महिनामा ५४ प्रतिशत अर्थात् ७ करोड ७४ लाख ४ हजार ६ सय १ रुपैयाँ खर्च गरेको छ । त्यस्तै भौतिक पूर्वाधार मन्त्रालयले २५ प्रतिशत अर्थात् ४ अर्ब ६ करोड ५३ लाख ९५ हजार ५ सय ६२ रुपैयाँ खर्च भएको छ ।

मुख्यमन्त्री कार्यालयबाट ५ प्रतिशत अर्थात् ७ करोड १६ लाख २८ हजार ८ सय ५३ रुपैयाँ खर्च भएको छ । आर्थिक मामिला मन्त्रालयबाट १२ प्रतिशत अर्थात् २ करोड ८५ लाख ८० हजार ४ सय ६० रुपैयाँ खर्च भएको छ । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको १४ प्रतिशत अर्थात् २७ करोड ५७ लाख ४४ हजार ९ सय ४६ रुपैयाँ खर्च भएको छ । कृषि तथा भूमि व्यवस्थापन तथा सहकारी मन्त्रालयले १४ प्रतिशत अर्थात् ३३ करोड ५५ लाख ६६ हजार १ सय ९ रुपैयाँ खर्च भएको छ । सामाजिक विकास मन्त्रालयको १५ प्रतिशतले ५२ करोड ४३ लाख १८ हजार २ रुपैयाँ बजेट खर्च भएको छ । स्थानीय तहमा २७ प्रतिशतले ६५ करोड ८९ लाख १ हजार ४ सय ५४ रुपैयाँ खर्च भएको छ ।
प्रदेश सरकारको यस चालू आवको बजेट ३२ अर्ब १३ करोड ४७ लाख ९२ हजार रुपैयाँ रहेको छ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले जग्गा प्राप्तिका केही योजनाबाहेक चालू आवमा ९० प्रतिशत बजेट खर्च हुने बताए । गत वर्ष ६८ प्रतिशत बजेट खर्च भएको बताएका उनले यस वर्ष धेरै बजेट खर्च हुने गरी धेरै योजना हाल सञ्चालनमा रहेको उल्लेख गरे ।