मनिषा चम्लागाईँ
आइतवार, फाल्गुन ४, २०७६
605

झापाको बाह्रदशी गाउँपालिकाका ७ हजार ३ सय ९८ घरधुरीमध्ये ६० प्रतिशत विद्युत्विहीन थिए । गाउँपालिका कार्यालयको दुई सय मिटर नजिक रहेको चिया बगान गाउँमा समेत बिजुली पुगेको थिएन । बाह्रदशी –४ को उक्त गाउँका मुस्लिम परिवार टुकीकै उज्यालोमा बस्न बाध्य थिए ।
बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्ग राजवंशीको घरमा पनि बिजुली थिएन । उनी पनि टुकी नै बाल्ने गर्थे । बिजुली विस्तार बाह्रदशी को बिकराल समस्या थियो । त्यहाँका आधाभन्दा बढी घरमा बिजुली थिएन । गाउँपालिकाको ३३ हजार जनसंख्यामध्ये ६० प्रतिशत विद्युत्विहीन थिए । त्यही भएर गाउँपालिकाले दुई वर्षअघि उज्यालो बाह्रदशी को कार्यक्रम घोषणा ग-यो । प्रत्येक टोलटोल र घरघरमा अति आवश्यकीय विद्युत् सेवा पु-याउने उद्देश्य राखेर सञ्चालन गरिएको उज्यालो बाह्रदशी को अभियानले सिंगो गाउँपालिका यतिबेला झलमल्ल भएको छ । गत आर्थिक वर्षदेखि सो कार्यक्रम सञ्चालन गरिएको हो ।

उज्यालो बाह्रदशी का लागि गाउँपालिकाले दुई करोड खर्च गरिसकेको छ भने संघीय बजेटबाट ४ करोड रुपैयाँ खर्च हुँदैछ । गाउँपालिकाले गत आर्थिक वर्षमा एक करोड र चालु आर्थिक वर्षमा थप एक करोड रुपैयाँ खर्च गरेको हो । दुई करोड बजेटबाट ७ सय ७५ वटा पोल गाडेर ती सबै पोलमा तार तानिएको गाउँपालिका अध्यक्ष राजवंशीले बताए । बाह्रदशी को सातवटै वडामा विद्युत्को समस्या थियो । स्थानीयको समस्या र उनीहरुको बढ्दो मागलाई दृष्टिगत गरी बिजुलीलाई प्रमुख प्राथमिकतामा राखेर विद्युतीकरण गरिएको अध्यक्ष राजवंशी बताउँछन् । स्थानीय तहमा निर्वाचित भएपछि राजवंशीले बिजुलीको प्रमुख समस्या समाधान गर्ने घोषणा गरेका थिए ।
“चुनाव जितेपछि मैले बिजुलीको समस्या हटाउने प्रतिवद्धता गरेका थिएँ”, आफ्ना प्रतिवद्धताहरु स्मरण गर्दै उनले भने, “त्यसलाई पूर्णरुपमा कार्यान्वयन गरेरै देखाएँ ।” उज्यालो बाह्रदशी को अभियानले गाउँपालिकाबासीसँगै आफ्नो घरमा पनि बिजुली बाल्न पाएकोमा उनी खुशी छन् । गाउँपालिकाले उपभोक्ता समिति र ठेक्का गरी दुवै प्रक्रियाबाट विद्युतीकरण गरेको हो । बढी स्थानमा दुई फेजको र केही ठाउँमा चार फेजको लाइन जोडिएको छ ।
वर्षौदेखि अध्याँरोमा बस्न बाध्य बाह्रदशी का बासिन्दा बिजुली बाल्न पाएपछि खुशी देखिएका छन् । साबिर आलमले चिया बगानमा घर बनाएको तीन वर्ष भयो । यतिका वर्षसम्म उनले अध्याँरोमै बस्नु परेको थियो । “अब बिजुली आएपछि अध्याँरोमा बस्नु परेन”, उनले भने, “टिभी हेर्न, मोबाइल चार्ज गर्न, मोटरबाट सिँचाइ गर्न सजिलो हुने भयो ।” यसअघि बिजुली नहुँदा धेरै समस्या रहेको बाह्रदशी –६ का वडाध्यक्ष रत्नप्रकाश योङहाङ पनि बताउँछन् । उनले गाउँपालिकाको बजेटले मात्र बिजुलीको मागलाई पूर्णता दिन नसक्ने बताए । “ बाह्रदशी –६ का लागि थप ८१ वटा पोल र तारको माग गरिएको छ” योङहाङले भने ।
गाउँपालिकाले प्रत्येक घरमा बिजुली पु-याउने लक्ष्य लिएको छ । गाउँपालिकामा अझ १३ सय वटा पोल खाँचो रहेको छ । ‘एउटै घर पनि नछुट्ने गरी बिद्युतीकरण गर्दैछौँ’ अध्यक्ष राजवंशीले भने, ‘त्यसपछि खेत उज्यालो कार्यक्रम सञ्चालन गर्नेछौँ ।’ गाउँपालिकाका अधिकांश बासिन्दा कृषक भएकाले उनीहरुको खेत–खेतमा विद्युतीकरण गरिदिएर व्यावसायिक कृषिलाई टेवा दिने योजनासमेत रहेको राजवंशीले सुनाए ।
बाह्रदशी को राजगढ बजार दक्षिणी झापाको मुख्य व्यापारिक केन्द्रको रुपमा विकसित हुँदै गएको छ । विद्युत् नहुँदा उद्योग व्यवसायलाई समस्या रहेको थियो । ‘विद्युतीकरण पछि राजगढ बजारमा धेरै उद्योग व्यवसाय खुलेको बाह्रदशी –३ का वडाध्यक्ष वीरेन्द्र राजवंशीले बताए । गाउँपालिकाले आफ्नो बजेटबाट विद्युतीकरण गरिसकेपछि अब नेपाल विद्युत् प्राधिकरणले काम थाल्ने भएको छ । प्राधिकरणको अनारमनी वितरण केन्द्रले पहिलो चरणमा १ करोड १६ लाख १५ हजार ९० रुपैयाँको टेन्डर स्वीकृत गरी काम सुरु गर्न लागेको हो । सो बजेट १२० वटा पोल, तार र १० वटा ट्रान्सफर्मर जडान गरिने भएको भएको बितरण केन्द्रले जनाएको छ ।
उज्यालो बाह्रदशी कार्यक्रमलाई सहयोग गर्दै बाह्रदशी मा आवश्यक विद्युतीकरण प्राधिकरणले गर्ने कार्यालय प्रमुख वीरेन्द्र झाले बताए । “ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत बाह्रदशी का अपुग सबै ठाउँमा बिजुली पु-याइने छ” कार्यालय प्रमुख झाले भने, “त्यसका लागि गाउँपालिकासँग समन्वय गर्दैछौँ ।”