कारोबार संवाददाता
शुक्रवार, फाल्गुन २, २०७६
551

मेलमचीको श्वेतपत्र जारी

मेलम्ची खानेपानी विकास समितिले ‘मेलम्चीको श्वेतपत्र’ जारी गरिएको छ । समितिले बिहीबार गरेको पत्रकार सम्मेलनमा खानेपानी मन्त्री बिना मगरले आयोजनाबारे श्वेतपत्र जारी गर्दै आर्थिक वर्ष २०७६-०७७ भित्र मेलम्चीदेखि सुन्दरीजलसम्मको सुरुङ परीक्षण र सञ्चालन गर्ने घोषणा गरेकी हुन् ।
श्वतपत्र जारी गर्दै समितिले आगामी असार मसान्तसम्म वैकल्पिक व्यवस्था गरेर भएपनि मेलम्ची खानेपानी सुन्दरीजलसम्म ल्याउने प्रतिवद्धता जनाएको छ । पछिल्लो समय मेलम्ची खानेपानी आयोजना निर्माणको क्रममा भएको अवरोधहरु हटिसकेको भन्दै समितिले कुनै अवरोध नआउने दावी गर्दै तोकिएको समयमा नै मेलम्ची आउने दाबी गरेको छ ।
खानेपानी मन्त्री बिना मगरले आगामी असार मसान्तभित्र मेलम्ची खानेपानी ल्याइने प्रतिबद्धाता जनाएका छिन् । “मेलम्ची खानेपानी आयोजना आम मानिसको चासो र चिन्ताको विषय पनि हो, अब स्पिडमा काम भइरहेको छ, आसार मसान्तसम्ममा मेलम्चीको पानी आउँछ,” उनले भनिन्, “मेलम्ची खानेपानी आयोजना निर्माणको क्रममा देखिएका चुनौतीहरु हटिसकेका छन्, अब समयमा नै सम्पन्न हुने छ ।”
मन्त्रालयका सचिव माधव वेल्वासे मेलम्ची खानेपानी आयोजानाले देनभर गरेको प्रगति इमेलमा आउने गरेको भन्दै कामको गति बढेको बताए । “विगतमा भएका कमी कमजोरीबाट पाठ सिक्दै हामी अगाडि बढिरहेका छौ, चाँडोभन्दा चाँडो काम सम्पन्नि गर्ने प्रयासमा छौ ।”
समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले र मन्त्रिपरिषदको २०७६ असोजमा भएको निर्णय अनुसारको स्वीकृत कार्य योजना बमोजिम आयोजना सम्पन्न गर्न आवश्यक कार्यहरु कार्यतालिका बमोजिम नै काम भइरहेको जानकारी गराए । “सुरुङ्ग सम्पन्न तथा अस्थाई रुपमा पानी डाइभर्सनका लागि नयाँ नियुक्त निर्माण व्यवसायी सिनो हाइड्रोबाट भएको साइट व्यवस्थापन तथा निर्माण कार्य हालसम्म सन्तोषजनक देखिएको छ,” उनले भने, “आयोजनाको तर्फबाट आवश्यक परामर्शदाता तथा कर्मचारीहरु साइटमा परिचालन भइसकेका छन्, असार मसान्तसम्ममा पानी ल्याउने गरी काम भएका छन् ।”
आयोजनाका तर्फबाट (सिएमसी) सँग आबद्ध श्रमिकहरुको भुक्तानी हुन नसकी बाँकी रहेको ज्याला भुक्तानी नेपाल सरकारको निर्णय बमोजिम २ करोड ९६ लाख भुक्तानी भइसकेको उनले बताए ।
ड्यामको काम सम्पन्न गर्न अलि समय त लाग्न सक्छ, तर अल्टरनेट ड्यामबाट असार मसान्तसम्म पानी झर्छ,” उनले थपे, “निर्माण कम्पनीले २-३ महिना पहिले काम सक्नेमा म विस्वस्त छु ।”
मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्ग लगायतको बाँकी काम पूरा गर्नका लागि चिनियाँ कम्पनी सिनो हाइड्रोसँग सम्झौता भएर काम अगाडि बढेको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा मेलम्ची खानेपानी परियोजनाको काम बीचैमा अलपत्र छाडेर इटालियन कम्पनी सिएमसी भागेपछि सरकारले चिनियाँ कम्पनी सिनो हाइड्रोसँग सम्झौता गरेको हो ।

विगतमा सिएमसीले काम पाउँदा दोस्रो नम्बरमा रहेको सिनो हाइड्रो पुनःमेलम्चीमा फर्किएको छ । सिएमसीले अलपत्र पारेको कामको जिम्मेवारी १२ महीनामा पूरा गर्ने गरी कूल ८५ करोड एक लाख ९४ हजार ४५८ रुपैयाँमा जिम्मा लिएको हो । सिनो हाइड्रोले सिएमसीले काम गर्दागर्दै छाडेको अम्बाथान, ग्याल्थुम र सिन्धुको कूल १ दशमलव ४ किलोमिटर सुरुङको बाँकी सबै काम सम्पन्न गर्नुपर्नेछ ।
सम्झौताअनुसार सिनो हाइड्रोले सुरुङमार्गतर्फ सुरुङको अन्तिम संरचना निर्माण, डाइभर्सन सुरुङ र अडिट सुरुङको लाइनिङ र फिनिसिङ, अडिट सुरुङसम्मको पहुँचमार्ग सुधार गर्ने जिम्मा लिएको थियो । यस्तै स्थानीय ग्याल्थुमको पहुँचमार्ग, पुलको पुनःनिर्माण, क्याम्पको मर्मत सुधार लगायतका काम गर्नुपर्ने हुन्छ ।