कारोबार संवाददाता
मंगलबार, फाल्गुन २२, २०७४
3350

सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय चितवनले झण्डै १ अर्ब १६ करोड ८६ लाख बराबरका सडक पूर्वाधारका ६ योजना स्वीकृतका लागि विभागमा पेस गरेको छ । विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गरेर लागत अनुमान गरी ६ योजनालाई टेन्डरमार्फत कार्यान्वयनमा लैजान विभागमा पेस गरिएको हो । ५ करोडमाथिका योजना कार्यान्वयन गराउँदा विभागबाट स्वीकृत गराउनुपर्ने प्रावधान छ ।
सहरी विकास मन्त्रालयले तराईका २० जिल्लाका २० नगरपालिकालाई छानेर ४ वर्षमा खर्च गर्ने गरी प्रत्येकलार्ई २ अर्ब बराबरको बजेट विनियोजन गरेको थियो । डिभिजन कार्यालयले लागत अनुमान गरेर योजना स्वीकृतका लागि विभागमा पेस गर्ने कामलाई तीव्र बनाएको छ । चितवनमा रहेको डिभिजन कार्यालयमार्फत भरतपुर महानगरपालिका र परासीस्थित रामग्राम नगरपालिकामा सघन सहरी विकास कार्यक्रमका योजना कार्यान्वयन गराउँदै छ । भरतपुर महानगरपालिकाले डिभिजन कार्यालयलाई प्रस्ताव गरेका ३६ योजनामध्ये ६ योजनाको मात्रै लागत अनुमान तयार भएको छ । अन्य योजनाको ‘डीपीआर’ बन्ने क्रममा छ । “प्राथमिकता छुट्याएर डीपीआर तयार पार्ने काम भइरहेको छ,” डिभिजन कार्यालयका प्रमुख झपटबहादुर थापाले भने, “सडक पूर्वाधारतर्फका १७ योजनामध्ये ६ योजना छिटै टेन्डरमा जानेछन् ।” उनका अनुसार पहिलो चरणमा करिब ३४ किमि कालोपत्रे सडक बन्ने छ । “महानगरभित्र बनाइने रिङरोडलाई सघाउने गरी दुई खण्डमा सडक पूर्वाधार बन्नेछन्,” उनले भने, “भित्री सडक पनि बन्नेछन् ।”
अन्य १८ वटा आयमूलक योजनामध्ये एउटाको मात्रै डीपीआर बनाउने काम अन्तिम चरणमा पुगेको छ । “महानगरले पठाएका सडक पूर्वाधारका अन्य योजनाको डीपीआर बनाउने काम भइरहेको छ,” डिभिजन कार्यालयका इन्जिनियर अनन्तकुमार देवले भने, “४ योजनाको डीपीआरबारे छलफल भइसकेको छ, केही संशोधन गरी लागत अनुमान बन्नेछ, अन्य केहीको सर्भे भइरहेको छ ।” उनका अनुसार रिङरोडमा पर्ने दुई सडक खण्डको प्रस्तावित दूरीअनुसारको सडक बन्ने स्थिति देखिएको छैन ।
“गोन्द्राङतर्फ जंगली सिमाना भएकाले ईआईए गरेर मात्रै योजना कार्यान्वयन गर्नुपर्दा ढिलो हुने देखेरै आंशिक खण्ड बनाउने सोचमा छौं,” उनले भने, “पुलचोकदेखि रामघाटतर्फ पनि तटबन्धन गरेर सडक बनाउने प्रस्ताव महानगरको थियो, बढी लागत पर्ने भएकाले तटबन्धन नगर्ने काममात्रै गर्न थालिएको छ ।”
डिभिजन कार्यालयले स्वीकृतिका लागि विभागमा पेस गरेका योजनाअन्तर्गत गोन्द्राङको जंगल सीमा हुँदै २२ नम्बर वडा पुग्ने करिब २० किमि सडकमध्ये ६.५७ किमि सडकका लागि करिब २५ करोड ३४ लाख, पुलचोकबाट वडा नम्बर ३ को कार्यालय हुँदै रामघाटसम्म जाने करिब ४ किमि सडकमध्ये १.९१ किमिका लागि करिब १२ करोड ७ लाख रुपैयाँ बराबरको लागत अनुमान गरी पेस भएको छ । यी दुवै सडक खण्ड रिङरोडअन्तर्गतको मुख्य खण्ड हुन् । यस्तै गीतानगर–चनौली सडकअन्तर्गतको कैलाशनगरदेखि चनौली बजार जाने ३.४७ किमि दूरीको सडक निर्माण गर्न करिब ११ करोड १९ लाख रुपैयाँ, प्रचण्डमार्गअन्तर्गतको महेन्द्रचोकदेखि तेलौलीसम्मको ६.४४ किमि सडकका लागि करिब २० करोड २४ लाख बराबर खर्च लाग्ने अनुमान गरिएको छ ।
यस्तै पुल्लरबाट पारिजात चोक हुँदै गंगानगर स्कुलसम्मको २.९२ किमिका लागि ८ करोड ४३ लाख, पारिजातचोकबाट पूर्व जंगल हुँदै उजेलीनगरतर्फको ३.४३ किमिका लागि ११ करोड ६६ लाख, मधुपुरी हुँदै वडा नम्बर २५ कार्यालय जोड्ने ९.५४ किमि सडकका लागि २७ करोड ९० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
“यस आवमा सबै योजना कार्यान्वयन हुनसक्ने अवस्था छैन,” डिभिजन प्रमुख थापाले भने, “टेन्डर र सम्झौताको काम हुनेछन्, अर्को वर्षदेखि कार्यान्वयनमा जानेछन् ।” महानगरले सघन सहरी विकास कार्यक्रममार्फत बसपार्क स्तरोन्नति, पोखरी तथा पार्क निर्माण, भ्युटावर निर्माण, चोक सुधारलगायतका योजनामा बजेट विनियोजन गर्न प्रस्ताव गरेको थियो ।

बसपार्क स्तरोन्नति गर्न १० करोड
केन्द्रीय बस टर्मिनल भरतपुरको स्तरोन्नति गर्न करिब १० करोड लाग्ने प्रारम्भिक अध्ययनले देखाएको छ । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय चितवनले विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने क्रममा बसपार्क स्तरोन्नतिमा करिब १० करोड खर्च लाग्न सक्ने संकेत गरेको छ ।
“डीपीआर बनेको छ, महानगरसँग डीपीआरबारे पनि सरोकारवाला पक्ष राखेरै परामर्श लिएका छौं,” डिभिजन प्रमुख झपटबहादुर थापाले भने, “करिब १० करोड लाग्ने अनुमान छ, मर्मत तथा सुधार गर्नुपर्ने धेरै काम पहिचान भएका छन् । उनका अनुसार बसपार्कभित्रको बाटो मर्मत, बसपार्कभित्रको छाना मर्मत, झ्याल ढोका मर्मत, नयाँ सेफ्टी ट्यांकी निर्माण, शौचालय मर्मत तथा सुधारलगायतका काम गर्नुपर्ने देखिएको छ । उनका अनुसार बसपार्कभित्रको वर्कशपमाथि तला थप्नुपर्ने समेत माग आएको जानकारी दिए ।

-विप्लव काफ्ले