कारोबार संवाददाता
मंगलबार, फाल्गुन २२, २०७४
4106

गैरआवासीय नेपाली संघ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच नेपालमा सडक सुरक्षासम्बन्धी ज्ञान, सीप र सुरक्षाका विषयमा सहयोग आदानप्रदान गर्ने विषयमा सम्झौता भएको छ ।
गैरआवासीय नेपालीहरूको सडक सुरक्षासम्बन्धी ज्ञानलाई नेपालका सडक सुरक्षा काममा प्रयोग गर्ने, सडक सुरक्षा कार्यमा सहकार्य गर्ने जस्ता बुँदा समेटेर सहमति पत्रमा हस्ताक्षर भएको हो । सहमति पत्रमा संघका तर्फबाट अध्यक्ष भवन भट्टले र मन्त्रालयका तर्फबाट मन्त्रालयका सचिव देवेन्द्र कार्कीले हस्ताक्षर गरेका छन् । सहमतिपत्र अनुसार सडक सुरक्षासम्बन्धी ज्ञान र सीपको आदानप्रदानका साथै सडक सुरक्षा बढाउने उद्देश्य नै एक डेमोस्ट्रेसन परियोजना सञ्चालन गर्ने सोच रहेको गैरआवासीय नेपाली संघले जनाएको छ । गैरआवासीय नेपाली संघले सडक सुरक्षा सम्बन्धमा नै नेपाल इन्जिनियर्स एसोसिएसनसँग सहमति पत्रमा हस्ताक्षर गर्नुका साथै संघले सडक सुरक्षासम्बन्धी एक उपसमिति नै गठन गरी कामअघि बढाएको छ ।