कारोबार संवाददाता
मंगलबार, फाल्गुन २२, २०७४
586

सिद्धार्थनगर नगरपालिका रुपन्देहीले स्थानीय कानुन निर्माण प्रक्रियालाई अगाडि बढाएको छ । भैरहवामा सोमबार दोस्रो नगरसभा आयोजना गरी स्थानीय कानुनसम्बन्धी १० वटा विधेयक सभासमक्ष प्रस्तुत गरेको छ ।
नगरपालिकाले यसअघि विभिन्न कानुन निर्माणका लागि विधेयक समितिअन्तर्गत मस्यौदा लेखन उपसमिति गठन गरेको थियो । मस्यौदा लेखन उपसमितिद्वारा तयार गरिएको विधेयक छलफलका लागि नगर सभासमक्ष प्रस्तुत गरिएको हो । सभामा विधेयक समितिका संयोजक तथा वडा नम्बर ९ का वडाअध्यक्ष शेषकान्त भण्डारीले स्थानीय कानुनसम्बन्धी १० वटा विधेयक छलफलका लागि प्रस्तुत गरेका थिए । उनले शिक्षा, सहकारी ऐन, केही कानुनी तर्जुमा र व्यवस्थापन गर्न बनेको ऐन, प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन, कृषि व्यवसाय प्रवद्र्धन ऐन, सार्वजनिक निजी साझेदारी ऐन, सिद्धार्थनगर नगरपालिकाका पदाधिकारीहरूको आचारसंहिता, निर्माण व्यवसाय ऐन र एफएम रेडियो (व्यवस्थापन तथा सञ्चालन) कार्यविधिमाथि छलफल गरियोस् भनी सभासमक्ष प्रस्तुत गरेका थिए ।

मस्यौदा उपसमितिका संयोजक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यमबहादुर कुँवरले सभासमक्ष विधेयकमाथिको प्रावधान बारे प्रष्ट्याएका थिए । सभामा नगरसभा सदस्यहरूले आफूहरूले विधेयक अध्ययन नगरेकाले एकैदिन सबै विधेयक माथि छलफल गर्न नहुने भन्दै समय माग गरेका थिए । सदस्यहरूको मागपछि नगरप्रमुख हरिप्रसाद अधिकारीले केही कानुनी तर्जुमा र व्यवस्थापन गर्न बनेको ऐन र प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन छलफलका लागि प्रस्ताव गरेका थिए । तर समय अभावका कारण सभामा केही कानुनी तर्जुमा र व्यवस्थापन गर्न बनेको ऐन बारेमात्रै छलफल गरिएको थियो । कुनै पनि ऐन पारित नभएपछि नगर प्रमुख अधिकारीले सभा सदस्यहरुलाई अध्ययन समय भन्दै यही फागुन २८ गते बिहान ११ बजे बैठक बस्ने गरी सभा स्थगित गरेका छन् ।
२८ गतेको बैठकमा विधेयक पारित भएमा विज्ञहरूको रायसुझाव लिएर नगरपालिकाको बोर्ड बैठकमा पारितका लागि प्रस्ताव लगिने छ । बोर्ड बैठकबाट पारित भएपछि स्थानीय कानुन राजपत्रमा प्रकाशन गरिने छ ।