कारोबार संवाददाता
सोमवार, माघ १३, २०७६
1654

सरकारले काठमाडौंको कोटेश्वर–जडिबुटी सडक खण्डको जाम हटाउन सडक विस्तार गर्ने भएको छ । तत्कालका लागि सवारी साधनको जाम हटाउन जडिबुटी चोकमा दायाँ बायाँ दुवै भागमा सडक बिस्तार गर्ने सरकारको तयारी छ । दीर्घकालीन रुपमा सुरुङ मार्ग, फ्लाई ओभर वा दुवै निर्माण गर्ने योजनामा सरकार लागेको छ ।
त्रिभुवन विमानस्थलको केही जग्गा प्रयोग गरी सडक विस्तार गर्न लागिएको हो यसका लागि उडान र सडक सुरक्षामा अवरोध नहुनेगरी निर्माण गर्न लागिएको छ । सडक बिस्तारका लागि भौतिक पूर्वाधार मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण, सडक विभाग सहति सरोकारवाला निकाय सहमत भएका छन् । मन्त्रालयको सहमति पछि प्राविधिक सहितको टोलीले स्थलगत अध्ययन अवलोकन, नापजाँच गरी सडक विस्तारको स्वीकृतका लागि पर्यटन मन्त्रालयमा पत्र पठाएको छ । उपत्यकाको बढ्दो ट्राफिक चाप कोटेश्वर क्षेत्रमा बढी रहेकाले सरकारले ट्राफिक चापलाई सहजीकरण गर्न दीर्घकालीन र अल्पकालीन योजना अगाडी सारेको हो ।

विस्तार गर्न लागिएको सडकमा पर्ने ६ आना १ पैसामा बनेको घर अधिग्रहण गर्न सरकारले स्वीकृति दिइसकेको छ । सडक विस्तारसँग यो सडक खण्डबाट बाहिरीने सवारी साधनलाई यात्रामा सहजीकरण हुने छ ।
सरकारले आगामी आर्थिक वर्षभित्रै डेडिकेटेड सडक विस्तार गर्ने गरी काम सुरु गरेको सडक विभागमा उपमहानिर्देशक तथा प्रवक्ता शिवहरि सापकोटाले बताए । उनले भने, “उत्तरी भागमा साढे ३ मिटर फुटपाथ सहितको १ लेन सडक र दक्षिणमा २ लेन सहितको सडक विस्तार गर्ने योजनासहित काम अगाडि बढाएको छौं, हामीले दक्षिणमा २ लेनको नै माग गरेका छौँ ।” सडक विस्तारसँगै तीनकुनेबाट कोटेश्वर हुँदै पेप्सीकोला जाने र भक्तपुरबाट कोटेश्वर हुँदै सातदोबाटो जाने सवारीसाधनले जाममा बस्नु पर्ने छैन भने सडक विस्तारसँगै सवारी आगमन सहज हुने छ ।
दीर्घकालीन योजनामा भने सरकारले तीनकुनेबाट विमानस्थलको धावनमार्गको तलबाट सुरुङ मार्ग निमार्ण गर्न वा तीनकुनेबाट कोटेश्वर सडक भन्दा अगाडिसम्म प्mलाईओभर बनाउनका लागि आवश्यक अध्ययन भइसकेको छ ।