कारोबार संवाददाता
आइतवार, माघ १२, २०७६
409

जुम्ला-कर्णाली राजमार्ग दैनिक २ घण्टा बढी बन्द हुदै आएको छ । राजमार्गको दैलेख खण्डको कालेखोला मोड बिस्तारको काम चलिरहेकोले दैनिक २ घण्टा राजमार्ग बन्द हुँदै आएको हो । मोड सानो भएको भन्दै सूर्य कन्टक्सनले प्रदेश सरकारको ठेक्कामा बिना सूचना दिउँसै राजमार्ग बन्द गरेर काम गरिरहेको छ ।
दुई वटा डोजरले काम गर्दा दुवैतफ सडक दैनिक २ घण्टा बढी बन्द हुने गरेको छ । नेपाल भ्रमण वर्ष चलेकै बेला बिना सूचना राजमार्ग बन्द गरेर काम गर्दा चालकदेखि यात्रु आत्रोसित भएका छन् ।

बाटो बन्द हुँदा हरेक दिन एक सय भन्दा बढी यात्रुबाहक तथा मालबहाक सवारीहरु जाम लाग्ने गरेका छन् । एक लेनको साँघुरो सडक भएकै कारण नियमित आवतजावतमा समस्या भोगिरहेका कर्णालीबासीले यतिबेला गाडी जामले झनै सास्ती पाएका छन् ।
डोजर चालक टिकाराम पुन मगरले भने, “कालेखोलाको करिब २ मिटर लम्बाइ, र ५० मिटर उचाइ भएको भिर खसाल्नु पर्ने जिम्मा छ ।”
माघ ८ गतेबाट सुरु गरिएको काम भिर खसाल्न मात्रै करिब तीन हप्ता लाग्ने अनुमान गरिएको छ । कुनै वैकल्पिक उपाय नखोजी, सूचना बिनै राजमार्ग बन्द गर्नु नियम विपरित भएको भन्दै आलोचना भइरहेको छ ।
भ्रमण सुरु भएसँगै कर्णाली राजमार्ग हुँदै पर्यटक आउने क्रम बढीरहेको छ । रारा घुम्न आएका दिपक विष्ट र भानु लिम्बुले एक मात्र मार्ग यसरी घण्टांै बन्द गर्नु भ्रमण वर्षका लागि राम्रो नभएको बताए । “एकै दिनमा रारा पुग्ने योजना थियो । अब दुई लाग्ने भयो बीचमै कहा बास बस्ने हो टुंगो छैन ।” उनीहरुले भने ।
कर्णाली राजमार्ग कर्णालीबासीको आर्थिक विकासको मुख्य मेरुदण्ड हो । अहिले राजमार्ग सञ्चालन भएको १३ वर्ष बित्यो । यो बीचमा धेरै राजनीतिक परिवर्तन भएपनि कर्णाली राजमार्गको दुरावस्थाले काँचुली फेरेन् । अहिले २०२० भित्र कर्णालीमा एक लाख बाह्य पर्यटक मात्र भित्राउने लक्ष्य राखिएको छ । खाने बस्ने, घुम्ने लगायत अन्य पूर्वाधार त परै जावस यात्रा सुरु गर्दानै सडकले पहिलो गांँसमै ढुगा लागेको जस्तो महसुश गराउने गरेको धेरैको गुनासो छ ।
“खाल्डा खुल्डी पुर्ने, भत्केको पुनर्निर्माण गर्ने बेलामा प्रतिदिन २ घण्टा राजमार्ग बन्द गर्नु लक्ष्य एकातिर काम अर्कोतिर भयो ।” नागरिक समाजका अध्यक्ष राजबहादुर महत भन्छन्, “प्रदेश सरकारले यो विषयमा ध्यान पुराएर काम अगाडी बढानु पर्ने हो ।”
कालेखोलामा दैनिक २ घण्टा बन्द, सुर्खेतदेखि जुम्ला सम्मको २ सय ३२ किलोमिटर ८० प्रतिशत सडक हिलाम्य र धुलाम्य, खाल्डाखुल्डीले सेवा भन्दा सास्ती बढी भएको जुम्लाका स्थानीय नारायण चौलागाईँले बताए ।