कारोबार संवाददाता
शुक्रवार, फाल्गुन १८, २०७४
1732

पाँचथरको सदरमुकाम फिदिम अब पहिलेको जस्तो देख्न पाइँदैन । उबेलाको रातोमाटो हिलोले गदगद रहेको फिदिम अब सुन्दर फिदिम बनिसकेको छ । पहिले सानो बजार रहेको फिदिम अब विस्तारै सहरीकरण हुँदैछ । मेची राजमार्गको लार्लीखर्कबाट तलतिर हेर्दा देखिने दृष्यले सबैको मन लोभ्याउने गर्दछ । गढीडाँडा र सुम्हात्लुङ मन्दिरको काखमा रहेको फिदिम वरिपरि हरियाली पहाड, अग्ला पहाडको बीचमा समथर भूमि । समथर भूमिमा बनाइएका सुन्दर घर । झट्ट देख्दा उपत्यकाजस्तै लाग्छ फिदिम । जिल्लाको एकमात्र नगरपालिका फिदिम नगरपालिकाको नामले फिदिमलाई सम्बोधन गर्न थालिएको छ । फिदिम देशकै नमुना सहरको रूपमा चिनिन्छ । नयाँ सहर बनाउने योजनाका साथ फिदिम बजारको विकास गर्न थालिएको छ ।
भन्ने गरिन्छ फिदिमको रातोमाटो लुगामा लाग्यो भने कलकत्ताको धोवीले पनि चिन्छ रे । रुखो रातोमाटो रहेको फिदिममा सिरु र बुकिफूलमात्र उम्रन्थ्यो यहाँको माटोमा । खेती गर्नका लागि बारी खनजोत गर्दा सारै ठूला डल्ला उठ्थे । सारै बलिया डल्ला भएकाले मार्तलले डल्ला फोर्ने गरेको स्थानीय बताउँछन् । फिदिममा ढुंगा नपाइने । चिम्टाइलो माटोका बलिया डल्ला उठ्ने भएकाले माटोको डल्लाबाट घर बनाउनु फिदिमवासीका लागि नौलो थिएन ।
फिदिमको इतिहास खासै लामो छैन । वि.सं २०३७ सालसम्म फिदिममा सामान्य घरमात्र थिए । चिम्टाइलो रातो माटोमा बालीनाली उब्जाउ पनि नहुने भएपछि किसानका लागि पनि आकर्षक गन्तव्य बन्न सकेन । रातो माटोले पोतेका झुप्रा घरमात्र थिए । व्यापारिक गतिविधि खासै थिएन । ढाक्रेहरूले इलामदेखि ढाकारमा बोकेर ल्याएको सामानले फिदिमको दैनिकी चल्थ्यो । फिदिममा स्वास्थ्य, शिक्षा र रोजगारको कुनै सम्भावना देखिँदैनथ्यो ।
वि.सं २०३७ सालमा मेची राजमार्गको विस्तार भएसँगै फिदिममा समृद्धिको ढोका खुलेको हो । सडक विस्तारसँगै फिदिममा व्यापारिक गतिविधि सुरु हुन थाल्यो । “सडक आइपुगेपछि विस्तारै व्यापारिक गतिविधि हुन थाले,” पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष मित्रप्रसाद काफ्लेले भने, “घडेरीको रूपमा जग्गाको कारोबार हुन थालेपछि फिदिम बस्तीबाट बजारको रूपमा विकसित भएको हो ।”
मेची राजमार्ग आएसँगै व्यापारीहरूको रोजाइ फिदिम बन्न थाल्यो । फिदिममा व्यपारीहरूको संख्या विस्तारै बढ्दै गयो । जिल्लाका विभिन्न गाउँबाट प्रशासनिक कामका लागि सदरमुकाम आउने मान्छेले फिदिमबाटै कारोबार गर्न थाले । अन्य गाउँका हुनेखानेले फिदिममा घरघडेरी जोड्न थाले । पक्की घर बन्ने क्रम तीव्र रूपमा बढ्यो । प्रतिस्पर्धात्मक रूपमा घरहरू बन्न थाले । फिदिम गुल्जार बन्दै गयो । २०५१ सालसम्म फिदिमको तीव्र रूपमा विकास भयो । निजी विद्यालय धमाधम खुले । स्वास्थ्य र शिक्षाको हिसाबले फिदिम निकै अघि बढ्यो । २०४२ सालदेखि फिदिमको तीव्रतर विकास भयो । फिदिममै क्याम्पस र उच्च मावि खुलेपछि विद्यार्थीका लागि रोजाइको गन्तव्य बन्यो । यो क्रम २०५२ सालसम्म चलेको काफ्ले बताउँछन् । यो अवधिमा पाँचथर, ताप्लेजुङ, र तेह्रथुमको आठराई क्षेत्रका मानिसका लागि फिदिम उक्तम व्यापारिक गन्तव्य बन्यो ।

द्वन्द्वसँगै विकास प्रभावित
माओवादी द्वन्द्व सुरु भएपछि फिदिम बजारको विकास ठप्प बन्यो । “२०५२ सालदेखि फिदिम बजार र गाउँको सम्बन्ध पुरै टुट्यो,” फिदिमका एक व्यापारीले भने, “व्यापार ठप्प भयो, धेरै व्यापारी विस्थापित भए, फिदिम सुनसान बन्दै गयो ।” माओवादी द्वन्द्वमा गाउँबाट बाजार आउन माओवादीको बन्देज । बजारबाट गाउँ जान प्रशासनको कडाइ । मानिस दुुई बन्दुकको चेपुवामा परेपछि फिदिममा गतिविधि सुनसान बन्दै गयो । मान्छेहरूले फिदिमको भविष्य अन्धकार देख्न थाले । निर्माणका काम ठप्प भए ।
शान्ती प्रक्रियापछि फिदिम बजारलाई लक्ष्य बनाएर ग्रामीण सडकका रेखा कोरिए । फिदिम हुँदै ताप्लेजुङसम्म मेची राजमार्ग कालोपत्रे भएपछि फिदिममा आन्तरिक र बाह्य पर्यटकको आगमन बढ्यो । मेची राजमार्गलाई लक्ष्य बनाएर ग्रामीण सडकको विकास गरेपछि फिदिम झनै गुल्जार बनेको हो । जनजातिहरूको बाहुल्य रहेको पाँचथरमा देश संघीय ढाँचामा जाँदा फिदिमलाई प्रदेशको राजधानी बनाउन बहस पनि भयो । यस्तो बहसले फिदिम बजारलाई थप ओजिलो बनायो । फिदिम बजारमा व्यापारीहरूको संख्या ह्वातै बढ्यो । अहिले चार हजारभन्दा धेरै व्यापारीहरूले फिदिमबाट व्यापार व्यवसाय गर्दै आएको उद्योग वाणिज्य संघको तथ्यांकमा उल्लेख छ ।
२०६२ सालदेखि फिदिम विस्तारै तंग्रन थाल्यो । मान्छेहरूको जमघट हुन थाल्यो । विस्थापित भएका बैंक पुनःस्थापना भए । निजी बैंकहरू थपिए । बजारको विकास तीव्र रूपमा हुन थाल्यो । दर्जनौ शैक्षिक संस्था खुले । सञ्चारको विकास भयो । मेची राजमार्ग कालोपत्रे भएपछि अन्य जिल्लासँग यातायातको पहुँच सहज बन्यो । स्वास्थ्य संस्थाको संख्यामा वृद्धि भयो । २०६२ सालदेखि १० वर्षसम्म फिदिमको चौतर्फी विकास भएको जानकारहरू बताउँछन् । यसै बीचमा फिदिम बजारमै सात सयभन्दा बढी साना उद्योग सञ्चालनमा आए । पर्यटन लक्षित गरी दर्जनभन्दा बढी सुविधासम्पन्न होटल खोलिए ।

एग्रो टुरिजमको सम्भावना
फिदिम पहाडी जिल्लामा अवस्थित बजार हो । भौगोलक विकटताका कारण फिदिममा ठूलाठूला उद्योग, कलकारखाना र व्यवसाय सञ्चालन कठिन भए पनि जलविद्युत् आयोजना र चिया उद्योगको विकास गर्ने पर्याप्त सम्भावना छन् । अर्गानिक चिया उत्पादन गरेर कञ्चनजंघा टिस्टेटले विश्वमै चर्चा कमाएको छ । दर्जनौं काष्ठ उद्योग सञ्चालनमा छन् । कृषि, पर्यटन र जलविद्युत्लाई उद्योगकै रूपमा विकास गरेर लैजाने प्रचुर सम्भावना छन् । कृषिलाई प्रविधिमैत्री बनाएर व्यवसायीकरण गर्न जरुरी छ । फिदिममा एग्रो टुरिजमको व्यापक सम्भावना देखिन्छ ।
फिदिम नगरभित्रै धार्मिक र ऐतिहासिक स्थान रहेका छन् । फिदिम नगरदेखि नै पहाडका हरिया वनजंगल र हिउँदको समयमा हिउँले ढाकेका सेताम्मे पहाड साँच्चिकै मनमोहक देखिन्छन् । पर्यटकीय हिसाबले महत्वपूर्ण मानिएका दर्जनौं स्थान छन् । तर, त्यस्ता स्थानको विकासमा पूर्वाधार निर्माणको खाँचो छ ।
बाह्रै महिना एकनासले बग्ने खोलाबाट असीमित जलविद्युत् निकाल्न सकिने सम्भावना छन् । जलविद्युत् आयोजना सञ्चालन गर्ने प्रयत्न भइरहेका छन् । पाँचथरमा मात्र निकट भविष्यमै एक सय मेगावाट विद्युत् उत्पादन गर्न लागिएको छ । फिदिमको आर्थिक समृद्धिमा कृषि, पर्यटन, जडिबुटी र जलविद्युत्लाई प्राथमिकतामा राखेर काम गर्नुु जरुरी देखिन्छ ।

-दिपक बोहोरा