रासस
आइतवार, माघ ५, २०७६
336

हेटौंडा- राप्रपाका अध्यक्ष कमल थापाले अमेरिकन सरकारसँग तत्कालीन नेपाल सरकारले राष्ट्रिय सहमतिका आधारमा एमसिसी सम्झौता गरिएको बताएका छन् ।
राप्रपा निकट ट्रेड युनियन महासङ्घ नेपालद्वारा शनिबार हेटौँडामा आयोजित वाग्मती प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले भने, “त्यो सम्झौता सामरिक हतियारको ओसारपसार र सैन्य गुटमा विभाजित हुनका लागि गरिएको छैन ।”

अध्यक्ष थापाले नेपालको पूर्वाधार विकासका लागि मात्र एमसिसी सम्झौता भएकाले सत्तारूढ दलका आन्तरिक विवादका कारण त्यसलाई अवरुद्ध गर्न नहुने उल्लेख गर्दै उक्त सम्झौता रद्द हुँदा हेटौँडा–भीमफेदीको सडक स्तरोन्नति, प्रदेश नं १ अन्तर्गत पर्ने चार आली फिदिम सडक निर्माणलगायत हेटौँडाको रातोमाटे हुँदै बुटवलसम्मको हाइटेन्शन विद्युत् लाइन निर्माणमा समेत ठूलो अवरोध पुग्ने बताए ।
सत्तारूढ दलले आन्तरिक विवाद मिलाएर प्रतिनिधिसभाको सभामुख पदको निर्वाचन यथाशीघ्र गर्नुपर्ने र संसद्लाई लामो समयसम्म अवरुद्ध गर्नु नहुने बताउँदै उनले प्रजातन्त्रको सुदृढीकरणका लागि मुलुकमा वैदिक धर्मसंस्कृतिको संवद्र्धन गर्न आवश्यक रहेको औँल्याए ।
पूर्वउपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष थापाले राष्ट्रमा प्रजातान्त्रिक तथा राष्ट्रवादी सोच र चिन्तन भएका पार्टीहरुसँग राप्रपाको एकीकरण हुन सक्छ भन्दै आगामी जेठ महिनामा हुने पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनोटका लागि प्रत्येक जिल्लाबाट सक्रिय सदस्यताको माध्यमबाट निर्वाचित भएर आउनुपर्ने धारणा व्यक्त गरे ।
सो अवसरमा राप्रपाका केन्द्रीय सदस्यत्रय मधु अधिकारी, विन्दु पहाडी, मीना स्वर्णकार र ट्रेड युनियन महासङ्घ नेपालका अध्यक्ष हिक्मत सिंह भण्डारीले राप्रपाले विदेशमा रहेका युवाहरुलाई निकट भविष्यमा स्वदेशमै रोजगारीमूलक अवसर जुटाउन ट्रेड युनियन महासङ्घले आत्मसात् गर्ने विश्वास व्यक्त गर्दै समाजलाई राजनीतिक स्थायित्व प्रदान गर्न सत्तारूढ नेकपा र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सबै दलसँग सहकार्य गरेर सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।

‘एमसीसीबारे छिट्टै निर्णय हुन्छ’
गलेश्वर- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे पार्टीले छिट्टै आवश्यक निर्णय लिने बताएका छन् । प्रेस सङ्गठन म्याग्दीले शनिबार बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले नेपालको विद्युत् प्रशारणलाइन र सडक स्तरोन्नतिका लागि अमेरिकाले घोषणा गरेको सहयोग प्रस्ताव एमसीसीलाई संसद्बाट पारित गराउने विषयमा सत्तारुढ दल नेकपाभित्रै विवाद उत्पन्न भइरहेको सन्दर्भमा राष्ट्रियहितलाई केन्द्रमा राखेर निर्णय गरिने बताएका हुन् ।
“पार्टीको सचिवालय बैठकले राष्ट्रिय स्वाधीनता र विकासलाई ध्यान दिएर यथार्थपूर्वक ढङ्गबाट एमसीसी प्रस्तावबारे आवश्यक निकास निकाल्ने छ,” प्रवक्ता श्रेष्ठले भने, “अब लामो समयसम्म एमसीसी प्रस्तावलाई के गर्ने भनेर बस्ने अवस्था रहँदैन, पार्टीको सचिवालय बैठकलाई निर्णय गर्ने निर्देशन भएको छ, अब बस्ने बैठकले यसबारे निष्कर्षमा पु¥याउँछ ।”
सभामुख चयनबारे देखिएको अन्र्यौलताले छिट्टै निकास पाउने पनि उनले जानकारी दिए । उनले वर्तमान सरकारले मुलुकमा हुँदैआएका र भएका बेतिथि तथा गलत कार्यको छानबिन गरी बास्तविकता बाहिर ल्याउने कार्य गरेको बताए । राष्ट्रियसभा निर्वाचन प्रचारप्रसारका क्रममा नेता श्रेष्ठसहित उम्मेदवार भगवती न्यौपाने समेत म्याग्दी आएका हुन् ।