केशव समर्पण
मंगलबार, पुष २९, २०७६
715

हेटौंडा-प्रदेशको नाम र राजधानीको टुंगो लागेसँगै बाग्मती प्रदेशको राजधानी हेटौंडामा स्थायी संरचना निर्माणको बाटो खुलेको छ । संरचना निर्माणका लागि गत वर्षदेखि नै बजेट बिनियोजन गरिएपनि स्थायी राजधानी नतोकिएकाले उक्त रकम फ्रिज हुने गरेको थियो ।
स्थायी राजधानी घोषणा भएसँगै हेटौंडामा प्रदेशसभा हल, विभिन्न मन्त्रालयका भवन, कार्यालय र सरकारी निवास निर्माणको काम यसै वर्षदेखि सुरु गर्ने तयारी गरिएको छ । प्रदेशसभा सचिवालयमा विभिन्न प्रयोजनका लागि मात्र यस वर्ष १० करोड रुपैयाँ छुट्याइएको छ ।

प्रदेशसभा भवन, सत्ता र प्रतिपक्ष दलको कार्यालय, सभामुख र उपसभामुखको सचिवालय भवन निर्माण, प्रहरी व्यारेक, पुस्तकालय तथा मिडिया सेन्टर निर्माणका लागि करिब दश कराड नौ लाख ३० हजार रुपैयाँ विनियोजन गरिएको छ । अन्य मन्त्रालयहरुले पनि संरचना निर्माणका लागि आवश्यक बजेट छुट्याएका छन् ।
प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले स्थायी राजधानी र नामाकरण भएसँगै अब स्थायी संरचना निर्माणमा जुट्ने बताएका छन् । “राजधानी टुंगिएसँगै अब अस्थायी मानसिकता हटेको छ, प्रदेशको संरचना निर्माणमा हामी तिब्रता दिन्छौं ।” मुख्यमन्त्री पौडेलले भने ।
प्रदेश सरकारले हेटौंडामा विभिन्न संरचना निर्माणका लागि हेटौंडा उपमहानगरपालिकासँग जग्गासमेत माग गरिसकेको छ । प्रदेशका सबै मन्त्रालय, प्रदेशसभा भवनलगायतका कार्यालयका लागि आवश्यक सम्भावित ठाउँहरुका लागि हेटौंडा–९ लामसुरेमा रहेको हेटौंडा सिमेन्टको जग्गा र हेटौंडा ५ को मत्स्य विकास केन्द्रको जग्गा पहिचान गरिएको छ ।
प्रदेश सरकारले निर्णय गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि हेटौंडा १० टिसिएनको खाली जग्गा र हेटौंडा–११ थानाभ¥याङमा करिब १२ विगाहा जग्गा उपमहानगरसँग माग गरिसकिएको छ । हेटौंडामै अन्तर्राष्ट्रिय सभाहल, अपाङ्गता पुनस्र्थापना केन्द्र स्थापना, सेफ हाउस, प्रदेश यातायात निगम, प्रदेश पूर्वाधार निर्माण कम्पनी, राष्ट्रिय परीक्षा बोर्ड, ईन्जिनियरिङ प्रयोगशाला, वासुदेव स्मृति कमर्सियल भ्यूटावर, एकीकृत चार्जिङ स्टेसन, घरेलु तथा औद्योगिक सामाग्री घर, पर्यटन सूचना केन्द्र निर्माणको लागि जग्गा पहिचान गरी निर्माण प्रक्रिया सुरु गर्न लागिएको छ ।
यस्तै प्रदेश सरकारले एकीकृत बस्ती विकास, कृषि सुपर मार्केट, अटो भिलेज निर्माणको योजना पनि अघि सारिसकेको मुख्यमन्त्री पौडेलले बताए । हाल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जिल्ला समन्वय समितिको भवनमा राखिएको छ । तत्कालीन जिल्ला शिक्षा कार्यालयको भवनमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय, घरेलु तथा साना उद्योग कार्यालयको लागि निर्माण गरिएको सुविधासम्पन्न भवनमा भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय राखिएको छ । यातायात निर्देशनालय, मुख्य न्यायधिवक्ताको कार्यालय पनि सोही भवनमा छ ।
प्रदेशसभा भवन तत्कालीन क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमा राखिएको छ भने सामाजिक विकास मन्त्रालय भने हेटौंडा–१० स्थित क्षेत्रीय स्वास्थ्य निर्देशनालयको भवनमा राखिएको छ । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय जिल्ला वन कार्यालयको भवनमा राखिएको छ ।


सातामा धेरै पढिएको