दिपक बोहरा
मंगलबार, पुष २९, २०७६
1890

मेलम्ची-पहाडै पहाड जोड्ने संकल्प सहित सुरु भएको मध्यपहाडी लोकमार्ग पहाडको विकासको संवाहक बन्दै गएको छ । १७७६ किलोमिटर दूरीमा रहेको मध्यपहाडी लोकमार्गको उद्मस्थल पाँचथरको चिवाभञ्जाङ हो । भारतको सिक्किम राज्यसँग सिमाना जोडिएको चिवाभञ्जाङबाट बैतडीको झुलाघाटसम्म फैलिएको राष्ट्रिय गैरवको आयोजनाले पहाडी क्षेत्रलाई एक पहाडबाट अर्को पहाडसँग जोडेर समृद्ध बनाउने सपना लिएको छ । मध्यपहाडी लोकमार्ग राष्ट्रिय गौरवको आयोजनासमेत हो ।
मध्यपहाडी लोकमार्गले सिधा यातायातमार्फत पहाडदेखि पहाडसम्म जोड्ने छ ।यसअघि पहाडबाट अर्को पहाडी जिल्ला पुग्नका लागि तराईको सडक प्रयोग गर्नुपर्ने बाध्यता थियो भने अब त्यो बाध्यता हट्दैछ ।पूर्वी खण्डको मध्यपहाडी लोकमार्गबाट संघीय राजधानी काठमाडौं पुग्न सकिने गरी सडकको ट्र्याक खुलेसँगै अब पहाडबाट सिधै राजधानी पुग्न सकिने भएको हो।पाँचथरसँगै प्रदेश १ का विभिन्न जिल्लामा मध्यपहाडी लोकमार्गको काम धमाधम भइरहेको छ । कतै स्तरोन्नतिको काम भइरहेको छ भने कतै कालोपत्रे गर्ने काम भइरहेको मध्यपहाडी लोकमार्गको फिदिम कार्यालयका आयोजना प्रमुख अभिमान मुल्मीले जानकारी दिए । पूर्वी खण्डको पाँचथर र भोजपुरमा योजनाअनुरूप काम भइरहे पनि तेह्रथुममा ठेकेदारले काममा ढिलाइ गरिदिँदा उक्त खण्डमा केही सुस्त गतिमा काम भइरहेको जानकारी मुल्मीले दिए ।

मध्यपहाडीलोकमार्गले पूर्वका पाँचथर,तेह्रथुम,धनकुटा,भोजपुर, खोटाङ, ओखलढुंगा, उदयपुर र सिन्धुली जोड्ने मुल्मीले जानकारी दिए ।मध्यपहाडी लोकमार्गअन्तर्गत पाँचथरको गणेश चोक–जोरसाल ४० किलोमिटर खण्ड पक्की सडकमा पर्छ । यो मेची राजमार्गमै पर्छ । गणेश चोकदेखि चिवाभञ्जाङ ६१ किलोमिटर रहेको छ । जसमध्ये ९ किलोमिटर गणेश चोक–दोरुम्बा खण्ड पिच भइसकेको छ । अब केही समयपछि डीपीआर गरी कलोपत्रे गरिने मुल्मीले बताए । तेह्रथुमतर्फ जोरसालदेखि माझीटार ११ किलोमिटर खण्ड यसअघिनै पिच भइसकेको छ भने तमोरदेखि सङ्क्रान्ती ४५ किलोमिटर कालोपत्रेको तयारी सुरु भइसकेको छ ।तेह्रथुमको म्याङलुङदेखि वसन्तपुरबजारसम्मको २६ किलोमिटर कालोपत्रको तयारी सुरु भएको छ ।बसन्तपुरदेखि धनकुटाको हिलेसम्म २२ किलोमिटर छ र यो खण्ड कोसी राजमार्गमा पर्छ । हिलेदेखि भोजपुरको लेगुवासम्म २६ किलोमिटरमा कालोपत्रेको तयारी सुरु भएको मुल्मीले जानकारी दिए। लेगुवादेखि भोजपुर ६६ किलोमिटर सडक कालोपत्रे भइरहेको छ । भोजपुरदेखि चखेवा ४२ किलोमिटरमा कालोपत्रेको तयारी सुरु भएको छ । चखेवादेखि दिक्तेल ८८ किलोमिटर कालोपत्रेका तयारी सुरु गरीएको छ । खोटाङको दिक्तेलदेखि हलेसीसम्मको ३५ किलोमिटर खण्ड पनि धमाधम निर्माण भइरहेको मुल्मीले जानकारी दिए ।हलेसीदेखि हिलेपानी ४० किलोमिटर, हिलेपानी घुर्मीको ७६ किलोमिटरमा काम भइरहेको छ । घुर्मी–खुर्कोट ६० किलोमिटर खण्ड पहिले नै पिच भइ सकेको मुल्मीले बताए ।
यसअघि काठमाडौंबाट नै हेरिँदै आएको मध्यपहाडी लोकमार्ग आयोजनाको कार्यालय अहिले पाँचथरको फिदिममा भोजपुरसम्म्म हेर्ने गरी अर्को कार्यालय स्थापना भएको छ । कार्यालय स्थापना भएसँगै लोकमार्गको कामले गति लिने आयोजना प्रमुख मुल्मीले बताए ।लोकमार्गले पहाडको जीविकोपाजर्नमा र आर्थिक कारोबारमा वृद्धि हुने अपेक्षा गरिएको छ । पाँचथरलगायत पहाडी जिल्लाहरूको कृषि उपज उत्पादनहरू बजार सम्म पु¥याउन लोकमार्गले सहज भुमिका खेल्नेछ ।
पहाड–पहाड जोड्ने यो लोकमार्गले पहाडी जिल्लाको आर्थिक जनजीवनमा सुधार आउने विश्वास लिइएको छ । लोकमार्गको निमार्ण सुरु भएदेखिनै पाँचथरको च्याङ्थापु,ओयाम, थर्पुलगायत क्षेत्रमा बजारीकरण सुरु भएको छ । यता, तेह्रथुमको चुवानडाँडा,सङ्क्रान्ती बजार, बसन्तपुरलगायत क्षेत्रमा पनि बजारीकरण हुन थालेको छ । पाँचथर र तेह्रथुममात्र नभएर लोकमार्गले छुने प्रदेश नंं. १ का विभिन्न जिल्लाका बिभिन्न साना ग्रामीण बजारहरू सहरीकरण हुँदै गएको बताइएको छ । सरकाले यसअघिनै मध्यपहाडी लोकमार्गले छोएका १० सहरहरूलाई नमुना सहरको रूपमा विकास गर्ने लक्ष्य लिएर सोहीअनुरूप पाँचथरको फिदिम र तेह्रथुमको वसन्तपुरका कार्यक्रम सुरु गरिसकेको छ ।