दीननाथ बराल
बुधवार, मंसिर ११, २०७६
282

पोखरा-गण्डकी प्रदेशले चीनको युनान प्रान्तसँग भगिनी सम्बन्ध गाँस्ने भएको छ । नेपाल भ्रमणमा रहेको चीनको युनान प्रान्तका गभर्नर रूवान च्याङफासहितको टोलीसँग भएको छलफलमा गण्डकी प्रदेशसँग अनुभव तथा सहयोग आदानप्रदान गर्न सम्बन्ध स्थापना गर्नेबारे छलफल भएको हो ।
प्रदेशमा पर्यटन, कृषि, उर्जा र व्यापार प्रवद्र्धन गर्न चीनको युनान प्रान्तसँग भगिनी सम्बन्ध गाँसेर दुवै प्रदेशबीच विकासमा सहकार्य गर्न चाहेको उनले जनाए । मुख्यमन्त्री गुरुङले पर्यटनका हिसावले गण्डकी प्रदेश अन्य प्रदेश भन्दा उत्कृष्ठ रहेको दाबी गरे । उनले भने ‘यो अन्य प्रदेश भन्दा सुन्दर छ, यहाँ लगानीको धेरै सम्भावना छ, छिमेकी मुलुक उत्तरमा चीन र दक्षिणमा भारतसँगको सिमाना जोडिएको र प्रदेशको बिच भागमा रहेकोले यहाँको व्यापारको पनि हव बनाउन सकिन्छ ।’ गण्डकी प्रदेशमा पर्यटन, जलविद्युत, कृषि, उद्योग, व्यापारका लागि धेरै सम्भावना भएकोले यस क्षेत्रमा लगानी गर्न सकिने मुख्यमन्त्री गुरुङको भनाइ थियो ।

हालै चिनियाँ राष्ट्रपति सी चीनपिङको नेपाल भ्रमणले आफूहरु निकै उत्साहित भएको बताउँदै मुख्यमन्त्री गुरुङले चीनका विभिन्न शहर र प्रान्तसँग भगिनी सम्बन्ध गाँस्दै दुवैै देश तथा शहर एवं प्रदेशबीचको सम्बन्ध प्रगाढ पार्न चाहेको बताए । नेपाल भ्रमण वर्ष २०२० र प्रदेशको भ्रमण वर्ष २०२२ मा २०-२० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेकोमा चीन र भारतका बढी पर्यटक आउने आफूहरुले आशा गरेकोले यसमा पर्यटकहरु नेपाल र पोखरा पठाउन मुख्यमन्त्री गुरुङले आग्रह गरे ।
चीनसँगको सहकार्यमा प्रदेशमा शैक्षिक आदान प्रदान गर्न समेत चाहेको उनले बताए । प्रदेश सरकारले गण्डकी विश्व विद्यालय स्थापना गर्न लागेको बताउँदै उनले यसलाई अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्न आफूहरुले सहकार्य गर्न चाहेको मुख्यमन्त्री गुरुङले बताए ।
गण्डकी प्रदेशसँग युनान प्रान्तको भगिनी सम्बन्ध गाँस्ने विषयमा प्रदेश र प्रान्तको विदेश विभाग प्रमुखबीच छलफल गरेर अघि बढ्न सकिने बताए । आफ्नो प्रान्तमा धेरै पर्यटकहरु आउने गरेको प्रशंग उठाउँदै उनले गण्डकी प्रदेश धेरै हिसावले सुन्दर र पर्यटनको सम्भावना भएकोले सहकार्य गर्न तयार रहेको जनाए ।