लक्ष्मी सापकोटा
शुक्रवार, मंसिर ६, २०७६
300

पर्वत-पूर्वाधार क्षेत्र साझेदारी कार्यक्रमअन्तर्गत पर्वत जिल्लामा सडक निर्माणलाई पहिलो प्राथमिकतामा राखेर रकम विनियोजन गरिएको छ ।
प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य संयोजक रहने गरी विनियोजन हुने ६ करोड रकममध्ये आधाभन्दा बढी रकम सडक स्तरोन्नतिका लागि विनियोजन गरिएको हो । साझेदारी कार्यक्रमअन्तर्गत ६ करोड रकमका योजना विनियोजन भएका हुन् । सांसद पदम गिरि निर्देशक समितिको संयोजक रहने गरी संघीय सरकारबाट प्राप्त रकमको बाँडफाँट भएको हो ।

प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचित सांसद पदम गिरिको संयोजकत्वमा विनियोजन भएको रकममध्ये सडकको स्तरोन्नतिका लागि ३ करोड २० लाख रकम विनियोजन भएको छ । यो रकमबाट पर्वत जिल्लाका १० वटा ग्रामीण सडकको स्तरोन्नतिमा खर्च गरिने सांसद गिरिले जानकारी दिए । सडकतर्फ पातिचौरदेखि बाजुङ हुँदै क्याङ सडक, वारिबेनीदेखि माझफाँट हुँदै लेकफाँट नागी सडक, होश्राङ्दीदेखि भोक्सिङ हुँदै बाच्छा जोड्ने सडक र विहादी गाउँपालिकामा पर्ने उरामपोखराको गेप्ताङ चिउरीखाल्टा सडकका लागि ५० लाखका दरमा बजेट विनियोजन गरिएको छ ।
यसैगरी मिलनचोक लेकफाँट शालिजा सडक, हातेमालो चोक धरमपानी–पैंयुकोट सडकका लागि २० लाखका दरमा बजेट विनियोजन भएको छ । पाङ–धैरेनी मावि–पार्वती गुफा–हिमालय मावि सडक स्तरोन्नति, गगटे–गोतमे थर रापु सडक स्तरोन्नति, लाम्पाटा–सिदाली–चनौटी–कार्किनेटा सडकका लागि १०–१० लाख रकम विनियोजन भएको छ । “अधिकांश गतवर्षका क्रमागत योजना र केही नयाँ योजनामा बजेट विनियोजन भएको छ,” प्रतिनिधिसभा सदस्य गिरिले भने, “सडक पूर्वाधार नै पहिलो प्राथमिकतामा भएकाले धेरै बजेट विनियोजन भएको हो ।”
शिक्षा क्षेत्रको पूर्वाधारअन्तर्गत ६ वटा विद्यालयका लागि रकम छुट्याएका छन् । कुल ८० लाख ५० हजार रकममध्ये पर्वत बहुमुखी क्याम्पस पूर्वाधार निर्माणका लागि २० लाख, राम मावि पर्खाल निर्माण १० लाख, देविस्थान प्रावि तारबार निर्माण १० लाख, काफल चौर मावि सभाहल निर्माण १६ लाख २५ हजार, महेन्द्र ज्योति मावि पूर्वाधार निर्माण १४ लाख, पूणेश्वर मावि पूर्वाधार निर्माण १५ लाख रकम विनियोजन भएको छ ।
कुल १ करोड १२ लाख रकम भने सामुदायिक सभा गृहहरू निर्माणका लागि विनियोजन गरिएको छ । हिमशिखर क्लब सभागृह निर्माणका लागि १० लाख, सहिद स्मृति सभाहल निर्माण पैयू ५० लाख, तालिम हल निर्माण (त्रिवेणी बहुउद्देश्यीय सहकारी) १२ लाख, चिसापानी दुग्ध सहकारी पूर्वाधार निर्माण, शिवालय सामुदायिक बहुउद्देश्यीय भवन निर्माण, गायत्री राधामाधव आश्रम, एकला क्लब पूर्वाधार निर्माणका लागि १०-१० लाख रकम विनियोजन भएको छ ।
खेलकुद पूर्वाधारका लागि मोदीकाली कभर्ड हल २० लाख र कर्भड हल डिमुवाका लागि १० लाख रकम विनियोजन गरिएको छ । पर्यटन, संस्कृतिका लागि ३५ लाख रकम विनियोजन भएको छ जसअन्तर्गत बाटुलेचौर कालिका भगवती मन्दिर मर्मत १० लाख, गुप्तेश्वर शिव पार्वती तथा पूर्वाधार निर्माण १० लाख, बर्राचौर पातल पिस पार्क १५ लाख रकम विनियोजन भएको छ । जिल्लास्थित एकमात्र जिल्ला अस्पतालको ल्याब सेवालाई प्रभावकारी बनाउन १५ लाख रकम विनियोजन भएको छ ।