कारोबार संवाददाता
शुक्रवार, कार्तिक २९, २०७६
293

गोरखा क्षेत्र नं. २ का प्रदेश सांसदहरु हरिशरण आचार्य र प्रकाशचन्द्र दवाडीले आफ्नो निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गतको बजेट बाँडफाँड गरेका छन् । क्षेत्र नम्बर २ को प्रदेश ‘क’ बाट निर्वाचित सांसद आचार्यले दुई करोड रुपैयाँ २४ योजनाका लागि विनियोजन गरेका छन् भने क्षेत्र नम्बर २ को प्रदेश ‘ख’ बाट निर्वाचित सांसद प्रकाशचन्द्र दवाडीले २५ योजना छनौट गरेका छन् ।
सांसद आचार्यले छनौट गरेका योजना अन्तर्गत पालुङटार २ को पाउरोटी भण्डार सामाचौर चापाभञ्ज्याङ कार्कीगाऊँ अमले सडकका लागि २५ लाख, सुवानेखोला, कुरैचौर, बज्रेखोला टारीखेत बुधेगैरा सडकका लागि १५ लाख, वडा नम्बर ५ को बौद्ध हिमाल युवा क्लव अधुरो भवन निर्माणका लागि १० लाख, वडा नम्बर ८ को झाँक्रा समाज घर निर्माणका लागि ७ लाख, भवानी बहुमुखी क्याम्पसको अधुरो भवन निर्माणका लागि ९ लाख र पालुङटार २ को चापाभञ्ज्याङ सामुदायिक भवन निर्माणका लागि १० लाख रुपैयाँ छुट्याइएको छ ।

सांसद दवाडीले राङरुङ, तालखोला धन्सिरा सडकका लागि र थालाजुङ, नयाँबजार काउले, बट्टे हुँदै साँदीखोला जोड्ने सडकका लागि २५-२५ लाख रुपैयाँ विनियोजन गरेका छन् । त्यस्तै सिरानचोक ५ को सामुदायिक बहुउद्देश्यीय भवनका लागि २० लाख, अजिरकोट ४ बालुवामा खेलमैदानका लागि १० लाख, झ्याल्ला भूमेमन्दिरबाट ढाँडबेसी जोड्ने पुल निर्माणका लागि १० लाख, बारमुले युवाक्लव चित्रेको सामुदायिक भवन निर्माण गर्न १० लाख, हुवामे ठोमो बौद्ध समाज घर निर्माणका लागि १० लाख बिनियोजन गरिएको छ ।
दुवैै सांसदले छनौट गरेका योजना कार्यान्वयनको जिम्मा गण्डकी प्रदेश मातहतको जिल्लास्थित जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयले पाएको छ ।