कारोबार संवाददाता
मंगलबार, कार्तिक १९, २०७६
292

इलाम-मेची राजमार्गको माइखोला–इलाम सडक खण्डमा लगानी गरिएको करोडौँ रकम बालुवामा पानी सरह भएको छ । साविक मेची अञ्चलका चार जिल्ला जोड्ने सडक भासिन नछोडेपछि वर्षेनी करोडौँ रकम स्वाहा हुने गरेको हो ।
वषौँ अघिदेखि नै सो सडक खण्डमा बाटो भासिने गरेको थियो । नयाँ–नयाँ प्रविधि र मोटो रकम खर्चिए पनि सडकले गति नलिएपछि स्थानियवासी, चालक र यात्रुलाई नै समस्या पर्ने गरेको छ । डिभिजन सडक कार्यालयले आर्थिक वर्ष २०७१-०७२ सालमा नै भासिएको सडक मर्मतका लागि ६ करोड रुपैयाँमा ठेक्का लगाएको थियो । बल्ल तल्ल सकिएको निर्माण कार्य पनि पुन सडक भत्किएर भासिने क्रम रोकिएको छैन । निर्माण व्यवसायी स्वच्छन्द सफल जेभीले पाँच वर्ष लगाएर नयाँ प्रविधिमा आधारित ‘रक एन्करिङ’ प्रविधिबाट सडक मर्मत गरेको थियो । तर सडकको अहिलेको अवस्था पहिला काम सुरु हुनु पूर्वकै जस्तो भएको छ ।

काम सकिए पनि सवारी सञ्चालनमा समस्या हुन थालेको छ । यसले विरामी बोकेर जाने एम्बुलेन्स र बिरामीलाई धेरै समस्या बनाएको एक चालकले बताए ।
डिभिजन सडक कार्यालयले भासिएको सडक पुनः मर्मतका लागि ठेक्का बन्दोबस्तीको तयारी गरेको छ । राजमार्गको माइखोला र चुरेघाँटी खण्डको भासिएको १२ किलोमिटर सडक खण्ड पुनः निर्माणका लागि पाँच करोड खर्च हुने अनुमान गरिएको छ ।
कार्यालयले गरेको अध्ययन अनुसार दश वर्षमा तीन मिटर सडक भासिएको देखिएको छ । सडक मर्मतपछि भासीएको तीन स्थानमध्ये दुई स्थानमा समस्या नदेखिएको जनाएको छ । माइखोला भञ्ज्याड क्षेत्रमा ठाउँ–ठाउँमा सडक भासिएकाले सवारी चालक तथा यात्रुलाई सडक पार गर्न समस्या रहेको छ ।
यता डिभिजन सडक कार्यालयले भने केहीसम्म सडक सुधार आएको जनाउँदै आएको छ । तर यात्रु, चालक र स्थानीयबासीले भने सडकको अवस्था झनै नाजुक भएको बताउँदै आएका छन् ।
बारम्बार सडक भासिएपछि राजदुवालीमा एङ्करिङ अर्थात रड र सिमेण्टको घोला प्वालबाट भित्र पठाएर जमिनमुनी पक्की बनाउने काम गरिएको थियो । बाटोको तलमाथि भित्ता काट्ने, सतहमा माटो तथा ग्राभेल भर्ने, तारजालीमा ढुङ्गाको ग्याबियन पर्खाल लगाउने, एङ्करिङ गर्ने र कालोपत्रे गर्ने काम सम्पन्न भएपनि सडकको अवस्था झन कुरुप बन्दै गएको छ ।