भीम गौतम
आइतवार, कार्तिक १७, २०७६
679

रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशुली–१ जलविद्युत् आयोजनामा हालसम्मकै सबैभन्दा बढी वैदेशिक लगानी भित्रिएको छ । तीन कोरियन कम्पनी, अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) र नेपाली साझेदारसमेतको लगानी रहने आयोजना नेपाल वाटर एण्ड इनर्जी डेलभपेन्ट कम्पनीले निर्माण गर्नेछ । आयोजनाका लागि ४५३.२ मिलियन डलर अर्थात करिब ५० अर्ब लगानी भित्रिएको हो । आयोजनाका लागि आईएफसी, एसियाली विकास बैक, एसियाली पूर्वाधार लगानी बैक, कोरियाली निर्यात–आयात बैंक लगायतका नौ बैक तथा वित्तिय संस्था तथा कम्पनीबीच शुक्रबार ऋण लगानी सम्झौता समेत भएको छ । नर्वेजियन कम्पनीले निर्माण गरेको पहिलो वैदेशिक लगानीको आयोजना ६० मेगावाट खिम्तीदेखि अमेरिकी लगानीको ४५ मेगावाटको भोटेकोशी र चीनीयाँ लगानीकोे ५० को अपर मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनासम्मका वैदेशिक लगानी आएपनि हालसम्मकै सबैभन्दा बढी वैदेशिक लगानी आएको आयोजना भने माथिल्लो त्रिशुली–१ नै हो ।
७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटी रहेको आयोजनामा आईएफसीले १६ करोड १३ लाख, एडीबीले ६ करोड, एशियाली पूर्वाधार लगानी बैकको ३ करोड ९६ लाख, कोरियाली आयात निर्यात बैकको १० करोड र कोरियाली डेलभमेन्ट बैकको ३ करोड ८ लाख डलर लगानी गर्न लागेका छन् । त्यसैगरी सीडीसी ग्रुप पिएलसीले २ करोड १९ लाख, नेदरल्याण्ड डेलभमेन्ट फाइनान्स कम्पनीले १ करोड ४५ लाख, फ्रेन्च डेलभमेन्ट फाइनान्सियल इष्टिच्यूटसनले १ करोड १० लाख, तथा अन्तर्राष्ट्रिय विकासका लागि ओपेक फण्डले १ करोड ३२ लाख डलर लगानी गर्न लागेका छन् । आयोजनामा स्वपुँजीतर्फ कोरियाली सरकारी कम्पनी कोरिया साउथ इष्ट पावर लिमिटेडेको ५२ प्रतिशतका साथै आईएफसीको १२ प्रतिशत तथा कोरियाली कम्पनी डालिम इष्डट्रिजको १६ प्रतिशत र क्यायो कन्स्ट्रक्सनको १० प्रतिशत सेयर रहने छ । त्यसैगरी नेपाली प्रवद्र्धक विकेश प्रधानांगको १० प्रतिशत सेयर रहेनछ । आयोजनाले १० प्रतिशत स्थानीयबासीलाई समेत सेयर लगानीको अवसर दिने बताएको छ ।

६ महिनाभित्र निर्माण सुरु गरेर सन् २०२४ मा निर्माण सन्पन गर्ने लक्ष्य राखिएको आयोजनाबाट ३८.७५ प्रतिशत हिउँदमा सहित १ अर्ब ५३ करोड ३१ लाख युनिट विद्युत् उत्पादन हुने कम्पनीका महाप्रबन्धक गिरिराज अधिकारीले जानकारी दिए ।
ऋण लगानी सम्झौता कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालका लागि माथिल्लो त्रिशुली–१ आयोजना गेम चेन्जरको रुपमा रहेको बताए । आयोजना निजी कम्पनीहरुले कसरी नेपाललाई जलविद्युत्को क्षेत्र विस्तार गर्न र धेरै आवश्यक रहेको प्रत्यक्ष बैदेशिक लगानी आकर्षित गर्न सहयोग पुर्याउन सक्छन भन्ने उदाहरणको रुपमा समेत बनेको उनको भनाई थियो । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको डुइङ बिजनेस इडेक्समा सुधार देखिनुले वैदेशिक लगानीका लागि नेपाल आकर्षक देश बन्दै गएको देखिएको बताए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत बो सक यी ले नेपालले ठूला परियोजनाहरुलाई संभव बनाउन सक्ने पुँजी र बिशेषज्ञता भएका निजी कम्पनीको सहयोग प्राप्त गर्न सक्दछन भन्ने उदाहरण देखिएको बताए । आइएफसिका दक्षिण एशिया निर्देशक मेन्गिस्तु आलेमायुले नेपालको जलबिद्युत संभाव्यताको बिकासमा यो परियोजनाले महत्वपूर्ण कोसेढुंगाको प्रतिनिधित्व गर्ने बताउँदै निजी क्षेत्रको अर्थपूर्ण लगानी र विशेषगरि बिदेशी लगानीकर्ताको लगानी ऊर्जा विकासका लागि उपयोगी हुने बताए ।
शुक्रबार नै आईएफसीले आयोजना गरेको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत बो सक यीले सन् २०१२ मा कोरियन कम्पनीले आयोजनाको अनुमतिपत्र लिएपछि ७ प्रधानमन्त्री र ९ ऊर्जा मन्त्री फेरिएको बताउँदै निरन्तरताको प्रयासपछि वित्तिय व्यवस्थापनसम्म आईपुगिएको बताएका छन् । उनले आयोजना आकर्षक भएकोले प्रतिफल राम्रो पाउने बताए । आइएफसिका दक्षिण एशिया निर्देशक मेन्गिस्तु आलेमायुले आयोजनाबाट स्थानीयबासीले ठूलो लाभ लिन सक्ने गरी निर्देशिकाहरु तयार गरेको बताए ।