सागर परियार
आइतवार, कार्तिक ३, २०७६
304

 
साताव्यापी अन्तर्राष्ट्रिय विषद् जोखिम न्यूनिकरण दिवस


जुम्ला-चन्दननाथ नगरपालिका १ निवासी जगतबहादुर रावतको घरमा गएको भदौ महिना १७ गते भिषण आगलगी भयो । १२ कोठे घरमा सल्किएको आगो नियन्त्रण गर्न नगरपालिकाको दमकल गुहारियो । तर चालक नभएको र मोटर बिग्रिएको भन्दै दमकल आउन सकेनन् । जसका रावतको घरसँगै छिमेकीका ३ वटा घर पनि जलेर नष्ट भए ।
जिल्ला प्रशासन कार्यालयको विपद् व्यवस्थापनको सक्रियतामा तत्काल आगो नियन्त्रण गरी परिवारको उद्दार गरियो । तर पनि करिब ७० लाख रुपैयाँ भन्दा बढीको क्षति भयो । पीडित परिवारलाई प्रति परिवार १५ हजार रुपैयाँ राहत पनि प्रदान गरेको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन् ।
तिला गाउँपालिकाको पाटनमा चट्याङबाट २ सय ६९ वटा भेडा मर्दा करिब १ करोड बराबरको क्षति भयो । दसै. नजिक आएक बेला रोजीरोटी खोसिएका किसानहरु चिन्तामा थिए । तर तिला गाउँपालिकाले पीडित किसानलाई तत्काल एक-एक लाख रुपैयाँ राहत दिने र अन्य निकायसँग समन्वय गरेर भेडापालन व्यवसायमा फर्काउने निर्णय गर्दा किसानले खुसीको सास फेरे । तातोपानी गाउँपालिका ३ का राम रावलको घर वर्षातका कारण भत्किएपछि तत्काल आवश्यक राहात दिइयो ।

आठै स्थानीयतहमा विपद शाखा
जुम्लाका एक नगरपालिकासहित सात गाउँपालिकामा विपद् व्यवस्थापन पक्षलाई प्रथामिकता दिँदै, आवश्यक बजेटदेखि सम्पर्क व्यक्ति समेत तोकेका छन् । गाउँपालिकाको अध्यक्षको संयोजकत्वमा रहेको पालिकास्तरीय विपद व्यवस्थापन समितिले पालिकाभित्र हुने विपदका घटनाको सूचना प्रणाली चुस्त बनाउने काम गरेको छ । चन्दननाथ नगरपालिकामा लक्ष्मीचन्द्र न्यौपानेलाई सम्पर्क व्यक्ति तोकिएकोे छ ।
राहत उद्दारका सामाग्री सहित तैनाथ टिमको शाखा छुट्टै छ । यता गठिचौर गाउँपालिकामा पनि अमरराज गिरीलाई सम्पर्क व्यक्ति तोकिएको प्रमुख प्रशासकीय अधिकृत केशवराज शर्माले बताए । पातारासी, तातोपानी, तिला, हिमा सिंजा र कनकासुन्दरीमा विपद शाखा नै स्थापना गरिएको जिसस प्रमख लालबहादुर सार्कीले बताए ।
चन्दननाथ विपद शाखा प्रमुख लक्ष्मीचन्द न्यौपानेका अनुसार चालु आर्थिक वर्षको हालसम्म करिव ३० जनालाई राहत प्रदान गरिएको छ । जुम्लाका सबै पालिकाले आवश्यकता अनुसार राहत र उद्दारको कामलाई निरन्तरता दिएका छन् ।

विपद व्यवस्थापनमा एक करोड
जुम्लाका आठै स्थानीय तह गरी विपद व्यवस्थापनमा चालु आर्थिक् वर्षमा एक करोड विनियोजन गरेको छ । गाउँघरमा हुन सक्ने विपदमा तत्तकाल राहत उपलब्ध गराउन र उद्दार गर्न बजेट छुटाइएको छ । चन्दननाथ नगरपालिकाले १५ लाख, पातारासी गाउँपालिकाले विपद् प्रतिकार्य योजनाका लागि १० लाख, गुठिचौर गाउँपालिकाले १५ लाख छुट्याएको गुठिचौर प्रमुख प्रशासकीय अधिकृत केशवराज शर्माले बताए ।

विपद व्यवस्थापनमा गैससको सहकार्य
जुम्लामा आठै स्थानीय तह विपद् पूर्व तयारीमा जुटेका छन् । प्रकोपबाट हुन सक्ने सक्ने जनधनको क्षति कम गर्न तथा सबै सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानले बताए । भौतिक संरचना निर्माणदेखि प्राकृतिक स्रोतको उदुपयोगमा पनि मितव्ययीता अपनाउने उल्लेख गरे । विपद पूर्व तयारीका लागि बजेटका साथै, क्षमता अभिवृद्धिका बारेमा जोड दिइएको छ ।
चार वटा स्थानीय तहलाई विपद व्यवस्थापनका करिब १८ लाख बढीको विपद व्यवस्थापन सामग्री प्रदान गरेको छ ।
जुनसुकै प्राकृतिक प्रकोपपछि विपदको समयमा आइपर्ने संभावित जोखिम व्यवस्थापन गर्न स्थानीय तहको मागकै आधारमा सामग्री सहयोग किर्डाक नेपालले जनाएको छ ।