कारोबार संवाददाता
बुधवार, आश्विन १५, २०७६
443

म्याग्दी- धवलागिरि गाउँपालिका–२ लुलाङमा चार वर्षपछि बिजुली बलेको छ । चार वर्षदेखि बन्द अवस्थामा रहेको दरखोला दोस्रो लघुजलविद्युत् परियोजना पुनर्निर्माणपछि लुलाङमा बिजुली बलेको हो ।
वि.सं २०७२ साउनमा जुगेपानीको पहिरोले नहर बगाएपछि र विद्युत्गृह पुरेपछि २५ किलोवाट क्षमताको परियोजना बन्द भएको थियो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र काठमाडौं र गाउँपालिकाको सहयोगमा पुनर्निर्माण भएको हो । परियोजनाको क्षमता बढाएर ४२ मेगावाट बनाइएको छ ।

२०७५ चैत महिनादेखि सुरु भएको पुनर्निर्माण सकिएपछि भदौ अन्तिम सातादेखि बिजुली बलेको धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले जानकारी दिए । “बाँध, नहर, विद्युत्गृह नयाँ ठाउँमा बनाइएको छ,” उपाध्यक्ष छन्त्यालले भने, “पुराना काठका जोखिमयुक्त पोल फेरिएको छ । मुख्य र वितरण लाइनको तार पुरानै हो ।” परियोजना पुनर्निर्माणका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले गत आर्थिक वर्षमा ८६ लाख, गाउँपालिकाले ५० लाख रुपैयाँ विनियोजन गरेका थिए । कुल लागतको १० प्रतिशत उपभोक्ताको श्रमदान छ । उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर पुर्जाले लघुजलविद्युत् परियोजना पुनर्निर्माण भएपछि लुलाङ, खोरीया, मरेनी र लमसुङका ३४० घरधुरी लाभान्वित भएको जानकारी दिए । नहर खन्न, निर्माण सामग्री ढुवानी र भवन बनाउन श्रमदान गरेका हुन् ।
खबाङको दोभानमा बाँध बनाइएको छ । ७२५ मिटर लामो पाइपलाइनमार्फत ल्याइएको पानीलाई ६२ मिटर अग्लो हेडबाट विद्युत्गृहमा खसालेर बिजुली उत्पादन गरिएको छ । ८६ मिटर फलामे र ६६३ मिटर प्लाष्टिक पाइप जडान भएको छ । भौगोलिक विकटता र यातायातको असुविधाका कारण हेलिकप्टरबाट टर्बाइन ढुवानी गरिएको थियो । घरायसी काम, विद्यार्थीको पठनपाठन र विद्युत्बाट चल्ने उपकरणमा आधारित साना उद्योग सञ्चालन गर्न सहज भएको छ । लुलाङमा नेपाली कागज, आरन, पाउरोटीजस्ता उद्योग छन् । मोबाइल चार्ज गर्न, टिभी हेर्न, रेडियो सुन्न सहज भएको वडाध्यक्ष गमप्रसाद विकले बताए ।