दीपेन्द्र थापा
बुधवार, आश्विन १५, २०७६
460

मुलुकमा चालू आर्थिक वर्षभित्र ३ सय पुल निर्माण हुने भएका छन् । निर्माणाधीन १ हजार २ सय ९३ पुलमध्ये आर्थिक वर्ष २०७६-७७ मा ३ सय पुलको निर्माण सम्पन्न भएर सञ्चालनमा आउने लक्ष्यरहेकोसडक विभाग अन्तर्गतको पुल महाशाखाले जनाएको छ ।
करिब ३५ अर्ब रुपैयाँको लगानीमा १२ सय ९३ पुल निर्माण गर्न लागिएको पुल महाशाखाका प्रमुख दीपक भट्टराईले बताए । “विगत लामो समयदेखि प्राविधिक रूपमा चुनौती भएर रोकिएका पुलहरू निर्माणको क्रममा रहेका छन्,”महाशाखा प्रमुख भट्टराईले भने,“२०६७-६८देखि निर्णय प्रक्रियामै रोकिएका पुलहरूलाई हाल निर्माण मापदण्ड कार्यान्वयन गराएर निर्माणको चरणमा रहेका छन् ।”

महाशाखाले २सय १२ स्थानीय सडकमा डिजाइन, ड्रइङ गरेर निर्माण प्रक्रियामा रहेको र थप गरिएका पुल भएको महाशाखाको भनाइ छ । ३३ पुल भने रणनीतिक सडकमा निर्माण हुने पुल रहेका छन् भने अरु पुल विगतबाट नै निर्माणपूरा हुने क्रममा रहेका छन् ।
पुल निर्माणका लागि लागतभन्दा थोरै बजेट विनियोजन हुँदा समयमानै पुल निर्माण सम्पन्न हुन नसकेको महाशाखाको भनाइ छ । सरकारले आर्थिक वर्षको सुरुमा कम बजेट विनियोजन गर्ने र वर्षको अन्त्यतिर बजेट थप गर्ने परिपाटीका कारण निर्माणमा समस्या छ । यसले गर्दा पनि परियोजना समयमा पूरा नहुने गरेको महाशाखाको भनाइ छ ।
विगत ५ वर्षको प्रवृत्ति हेर्दा आर्थिक वर्षको सुरुमा १० अर्ब रुपैयाँ विनियोजन भएको छ भने आर्थिक वर्षको अन्त्यमा बजेट थप हुँदै गएर ३१ अर्बसम्म पुगेको महाशाखाले जनाएको छ । करिब ३० करोड रुपैयाँ नयाँ पुल बनाउन लागेको हो भने ३ सय १२ थपिएको नयाँ पुलमध्ये प्रतिपुल १३ लाख ८० हजार लागत रहेको छ । ४ अर्ब ५७ करोड रुपैयाँ स्थानीय सडक,निर्माणाधीन स्थानीय सडकको लागि लागत अनुमान गरिएको छ ।रणनीतिक पुलको लागि ३ अर्ब रुपैयाँ बजेटको अनुमान छ । गत वर्ष मुलुकभर २सय ४३ पुल निर्माण भएका थिए ।