महेन्द्र सापकोटा
मंगलबार, भदौ ३१, २०७६
371

दैलेख-नौमूले गाउँपालिका–५ नौमूलेमा उत्पादन गरिएको ४.५ मेगावाट क्षमताको पदमखोला जलविद्युत आयोजना असोज मसान्तसम्म केन्द्रीय प्रशारण लाइनमा जोडिने भएको छ । सबै काम सम्पन्न हुने तयारीमा रहेको उक्त आयोजना परीक्षण प्रशारणको अन्तिम तयारीमा रहेको हो ।
कर्णाली प्रदेशमा अहिलेसम्मकै ठूलो जलविद्युत उत्पादनका रुपमा हेरिँदै आएको कम्पनीका पदमखोला जलविद्युत परीक्षणको तयारी रहेको सञ्चालक कम्पनीले जनाएको छ । ४.५ मेगावाटको विद्युत उत्पादन क्षमताको पदम खोलामा डोल्टिपावर जलविद्युत आयोजनाले सबैै काम सकेर परीक्षणको तयारी अन्तिम अवस्थामा रहेको जनाएको छ । यसअघि नौमूलेमै द्वारीखोला हाइड्रोपावर दुई वर्षअघि सञ्चालनमा आएर राष्ट्रिय प्रशारणमा जोडिएको छ ।

नौमूले गाउँपालिका–४ कालिका करिव २ किलोमिटर टाढाबाट पाइपमार्फत् पानी ल्याई ३ सय मिटर उचाइबाट पावर हाउसमा खसालिने निर्माण कम्पनीले जनाएको छ । विद्युत उत्पादन सुरु गरेर केन्द्रीय प्रशारण लाइनमा जोडिने गरी काम गरेको भएपनि प्रविधिक कारणले केही ढिलाई भएको डोल्टिपावर जलविद्युत आयोजनाका अनिल खनालले बताए ।
वर्षाका कारण केही ढिलाई भएको भएपनि असोज मसान्त भित्र विद्युत उत्पादनलाई केन्द्रीय प्रशारण लाइनमा जोडिने खनालले बताए । ‘करिव सबैै काम सकिएको छ, इएमको काम मात्र बाँकी छ’ खनालले भने, ‘यो इएमको काम गर्न विदेशी प्राविधिक ल्याउनुपर्ने भएकाले ढिलो भएपनि चाँडै नै काम पूरा हुन्छ ।’
परीक्षण प्रशारणको अन्तिम चरणमा आयोजना निर्धारित समय अगावै परीक्षण प्रसारणको सुरु गर्न लागिएको सञ्चालक कुमार कार्कीले बताए । आयोजनाले कामलाई प्राथमिकतामा स्थानीयस्तरमा विभिन्न विकास निर्माणका काममा सहयोग गर्दै आएको छ ।
नौमूले गाउँपालिका ३ मा द्वारी खोला हाइड्रोपावर सञ्चालनमा छ भने नौमूले गाउँपालिका ३ कै द्वारीमा अर्को अपर लोहोरेखोला जलविद्युत आयोजना निर्माण प्रक्रियामा रहेको छ ।
झण्डै ८० करोड लागतमा बन्न लागेको ४.५ मेगावाटको कर्णाली प्रदेशकै ठूलो आयोजनाका रुपमा रहेको यो आयोजना र केन्द्रीय लाइनमा जोडिएको नजिकै रहेको द्वारी खोला हाइड्रो पावरको ३.७५ गरी नौमूले गाउँपालिकावाट ७.८० मेगावाट विद्युत केन्द्रीय प्रशारण लाइनमा जोडिन लागेको कार्कीको भनाइ छ ।