दिलबहादुर केसी
आइतवार, भदौ २९, २०७६
719

दोलखा-कालिञ्चोक गाउँपालिका र गौरीशंकर गाउँपालिका जोड्ने गुमुखोला (पिखुती) पक्की पुल ७० प्रतिशत पूरा भएको छ । नयाँ प्रविधिमा आधारित आर्क ब्रिजको आर्क ढलान तयार भइसकेको छ ।
पुलको दुवैतर्फको जिप उठाएर कंक्रिट आर्कसमेत तयार भएको छ । अब बीचमा दुवैतर्फ ६-६ वटा साना पिलर आर्कबाटै उठाउन बाँकी छ । त्यसपछि स्ल्याब हाल्नु पर्छ । स्ल्याबपछि दुवैतर्फ एक-एक सय मिटरको लिंक रोड निर्माण गरेपछि पुल मोटर चल्न योग्य हुन्छ ।

६० मिटर लामो यो आर्क ब्रिज मुग्लिनपछिको नेपालकै दोस्रो पुल हो । पुल योजना सेक्टर २ का योजना प्रमुख अंगलाल रोकायले वर्षात्ले अहिले सडक बिग्रिएकाले ढुवानी नभएर काम नभए तापनि दसैंलगत्तै काम सुरु भएर पुससम्म पुल पूरा हुने जानकारी दिए । पुलको भौतिक प्रगति धेरै राम्रो भए तापनि भुक्तानी थोरै भएको उनले बताए । व्यवसायीसँगको म्याद थपसम्बन्धी समस्याका कारण भुक्तानी हुन नसकेको उनले बताए ।
सडक विभाग र मन्त्रालयले नै पुलको काम पूरा भएपछि मात्र बाँकी एकमुष्ट भुक्तानी गर्ने भन्ने आदेश आएकाले भुक्तानी समस्या भएको उनले बताए । व्यवसायीले जति चाँडो काम पूरा गरे, त्यत्ति चाँडो सबै भुक्तानी हुने उनले बताए । पुल कन्काइ इन्टरनेसनल विल्डर्स प्रालिले जिम्मा पाएको छ ।
निर्माण कम्पनीले भने पैसा अभावकै कारण पुलको काम गर्न नसकेको कम्पनीका स्थानीय प्रतिनिधि हेमराज रिमालले बताए । सरकारले काम गर्ने र नगर्नेलाई एउटै टोकरीमा राखेर व्यवहार गर्दा काम गर्नेका लागि समस्या भएको गुनासो गरे ।
“सरासर काम गर्दा २ महिनामा पुल पूरा हुन्छ,” उनले भने, “७० प्रतिशत काम पूरा हुँदा पनि १५ प्रतिशतभन्दा बढी भुक्तानी पाएको छैन, यहाँ काम समयमा गर्छु भन्दा पनि पैसाको अभावमा काम अघि बढाउन कठिन भएको छ ।” पुलसम्म पुग्ने बञ्चरेदेखिको डेढ किलोमिटर सडक पनि बर्खाले क्षतिग्रस्त छ । त्यसको पुनर्निर्माणका लागि पनि समय लाग्ने छ ।
डिजाइन एण्ड बिल्ड प्रक्रियाबाट पुल निर्माण गरिएको हो । यस्तो प्रक्रियाबाट पुल निर्माण गर्दा निर्माण कम्पनी आफैँले डिजाइन गरेर निर्माण गर्नुपर्छ । कन्काइ इन्टरनेसनल बिल्डर्स प्रालिले करिब ८ करोड लागतमा यो पुल निर्माणाधीन छ ।
पहाडी भूभागमा आर्क ब्रिज उपयुक्त हुने सडक विभागका इन्जिनियरहरू बताउँछन् । यो पुलमा पिल्लर राख्नु नपर्ने भएकाले कठिन स्थान र पिल्लर निर्माण गर्न नसकिने खोंचहरूमा सहजै निर्माण गर्न सकिन्छ । तर तराईमा भने यो पुल उपयुक्त हुँदैन ।
सामान्य मोटरेबल पुलका तुलनामा यो पुल निर्माण गर्दा ३० प्रतिशत सस्तो हुन्छ । स्टिल ट्रष्ट राखेर गर्दा काम सुरु गरेको दुई महिनामै निर्माण सकिन्छ । चीनमा यस्तो पुल एक महिनामै तयार पारिन्छ । पिखुतीको पुल मुग्लिनमा जस्तै आरसीसी कंक्रिट ब्रिज हो । स्थानीय गिटी बालुवाको प्रयोग गर्ने भनेरै आरसीसी कंक्रिट प्रयोग गरिएको पुलको निर्माण कम्पनीका स्थानीय प्रतिनिधि रिमालले बताए ।
यस्तो पुलका आर्कहरु बाहिर नै बनाएर त्यहाँ लगेर जोड्ने गरिन्छ । तर पिखुतीमा उपकरणहरु नहुँदा त्यहीँ निर्माण गरिएको हो । यसै कारण पुल निर्माणमा केही ढिलाई समेत भएको छ । नेपालकै सुरुकै पुल भएकाले उपकरण र मिस्त्रीसमेत सीमित हुँदा पुल निर्माणमा ढिलाइ भएको हो ।
तीन वर्षमा पूरा गर्ने गरी २०७० मा पुलको टेण्डर भएको थियो । पुलको सर्भे, डिजाइन स्वीकृति गर्दा डेढ वर्ष बित्यो । काम सुरु गरेको वर्ष दिन नपुग्दै विनासकारी भूकम्प र भारतीय नाकाबन्दी लागेर एक वर्ष कामै भएन । यसले २०७४ भदौसम्म एक वर्ष म्याद थपिए तापनि २ वर्ष यता म्याद थप हुन नसक्दा व्यवसायीले कामको भुक्तानी पाउन नसकेका हुन् ।